पुष माघको जाडो नभनी, चैत बैसाखे खडेरी पनि नभनी, असार साउने झरी पनि नभनी, दशैं तिहार समेत नभनी खरेटो आफ्नो कर्तब्यमा तल्लिन थियो।उसले प्रत्येक सडक गल्ली र घर घर चहार्नु पथ्र्यो । त्यसैगरी बागमति विष्णुमतिदेखि टुकुचासम्म उसले नै भ्याउनु पथ्र्यो ।
सायद बूढो भएरै होला उस्का दाँत पनि झर्न थालेका थिए । त्यसैले होला उसलाई ठूटे खरेटो पनि भन्ने गर्थे । यसरी रातो दिन नंग्रीदा फोहर त उसले निकै भेला पाथ्र्यो ।
एक दिन बिहानै को बेला थियो । खरेटो पशुपतिमा ड्यूटी गरिरहेको थियो । दुई जना मान्छे आएर उसलाई सोध्न थाले ।
तिमी किन यति बिहानै देखि यहाँ छौं ?
हजुर यति बिहानै आएन भने त कसरी यो शहर सफा राख्ने ?
हजुरहरु को हुनु हुन्छ मलाई यसरी प्रश्न गर्ने ? राणा काल पञ्चायत काल बहुदल हुँदै अहिलेको गणतन्त्र काल सम्म काम गरिरहेकोछु तर यस्तो प्रश्न कसैले सोधेन त हजुर !
दुई मध्ये एकले भन्यो, ‘उहाँ हुनुहुन्छ यमराज म चैं चित्रगुप्त ! हामी तिमीलाई लिन आएका थियौं तर तिम्रो कर्तव्य पलायनता देखेर हामी द्विविधामा पर्यौं !’
खरेटोले प्रणाम गर्छ र भन्छ ः ‘के गर्नु हजुर ! यत्रो वर्ष देखि सफाई गरिरहेको छु तर मनुष्यले फोहोर फ्याँक्न छोड्दैन ! यहाँ पशुपतिमा पूजा गर्छ यतै फोहोर ! भुजा गर्छ त्यतै फोहोर ! भन्सारमा धाउँछ फोहरै फोहर ! कर अफिस जान्छ त्यतै फोहोर ! सिंह दरवार जान्छ त्यतै फोहोर ! दलहरुमा जान्छ त्यतै फोहोर ! यो मान्छेको जात देखि म त वाक्क दिक्क भएर हजुरहरुको तिर छिट्टै जानपा हुन्थ्यो ! अलिकति शान्ति त मिल्थ्यो ! भन्ने लाग्या थ्यो ! हजुरहरु आफैं आउनुभएछ लिन ! साह्रै खुसी लाग्यो ! बरु जाउँ छिटो प्रभू !’
खरेटो अब तम्सेर चित्रगुप्त र यमराजको अघि लाग्न खोज्छ ।
‘पख ! पख !’ भन्दै यमराजले चित्रगुप्तलाई खरेटोको कुण्डली पल्टाउन भन्छन् ।
यस्को आयु त चौसठ्ठी सालको सम्बिधानसभा निर्वाचन मै सक्किएको हो प्रभू !
अनि किन यमलोकमा नझिकाको यसलाई ?
फोहोर सफा हुनै बाँकी थियो नि त प्रभू !
बिचराले अझै सफा गर्न सकेको रहेनछ फोहोर ! यसको आयु अरू २० वर्ष थप गर !
किन होला प्रभू ?
‘अहिलेसम्म यसले मान्छेको भौतिक फोहोर मात्र सफा गरेछ, अब यसले मान्छेको मानषिक फोहोर सफा गर्नुपर्छ त्यसैले यसलाई बीस वर्षको आयु दान गरिदेऊ !’
चित्रगुप्तले हस् प्रभू ! भन्दै खरेटोको आयु खातामा थप गरे । खरेटो मानषिक फोहोर सफा गर्न तल्लिन भयो ।