नेपालमा परापूर्व कालदेखिको ऐतिहासिक पृष्ठभूमि हेर्दै जाने हो भनें अन्य जातिहरुलाई उछिनेर आर्य खस जातिहरुले आफ्नो राज्य सत्ता निर्माण गर्ने क्रम अगाडि बढाए । उनीहरुसंगै परापूर्व कालदेखि रहँदै आएको र सामाजिक उत्पीडन भोग्दै आएको दलित समुदायले पनि ईतिहास निर्माणको क्रममा सहभागि बन्दै र महत्वपूर्ण भूमिका निर्वाह गर्दै गयो । तर, दुर्भाग्यवस दलितहरु एउटा मनुवादी वर्णाश्रम व्यवस्थाको कारणले श्रम विभाजनको सबभन्दा तल पार्यो । जुन व्राम्हणवादी क्रुर शासनको एउटा दानवीय उदाहरण हो ।
जसको कारण शारिरीक श्रम गर्ने र शारिरीक श्रमलाई हेप्ने प्रकृयाको कारण दलितहरुमाथि उत्पीडन, छुवाछुत लगायतका अमानवीय एवं जघन्य अन्यायको प्रथा कायम गरियो ।
ईतिहास निर्माणको क्रममा दतिलहरुले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, त्यसको कहिल्यै पनि राम्रोसंग कदर भएन । त्यसको स्पष्ट उदाहरण भनेको पृथ्वी नारायण शाहले एकीकृत शामन्ती राज्यसत्ता निर्माण गर्ने क्रममा गोरखाबाट जुन अभियान सुरु गरेका थिए, त्यसमा पृथ्वी नारायण साहका मुख्य वैचारिक सहयोगीका रुपमा विश्व नगर्ची देखा परे । उनको ईतिहासमा पनि नाम अंकित छ । तर बडो विडम्बनाको कुरा जसले ईतिहास निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्यो र पृथ्वी नारायण शाह र त्यसबेलाका साशक वर्गलाई राज्य निर्माणमा सहयोगीको भुमिका निर्वाह गर्यो उसको नाम समेत ठीक ढंगले स्थापित गरिएन ।
एउटा दुःख लाग्दो र हेपायती ढंगले हल्का र उपेक्षित ढंगले विश्व नगर्चीलाई एकार लगाएर हेपिएको ढंगले विशे नगर्चीको रुपमा स्थापित गरियो । त्यस पछिका शासक वर्गहरुले कहिले पनि दलित समुदायले राज्य निर्माण गर्ने क्रममा गरेको उपलब्धीलाई उचित मूल्याङ्कन गरेन, उल्टै हेपायती र अबमूल्यन गरेर दलित समुदायले गरेको उपलब्धीको ईतिहासलाई मेटाइदिने काम गर्यो ।
त्यसपछि देशमा ठूला–ठूला परिवर्तनहरु हुँदै गए । ती परिवर्तनहरुमा दलितहरुको पनि महत्वपूर्ण भूमिका रह्यो, तर पछिल्ला कालखण्डमा दलितहरुको भूमिका स्पष्ट उल्लेख भएको पाइदैन । यो अन्याय सच्याउन आजका युवाहरु खासगरी दलित युवाहरु जो सचेत छन् उनीहरु सामन्ती व्राम्हणवादी विचार र रवैयाको अन्त्य गर्न लाग्नै पर्छ ।
पछिल्लो कालखण्डमा आउँदा तत्कालिन अवस्थामा नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट जुन ऐतिहासिक जनयुद्ध थालनी भयो, जसले पृथ्वीनारायण शाहको नेतृत्वमा अर्थात् विश्व नगर्चीलगायतको नेतृत्वमा बनेको राज्यसत्तालाई फेरी परिवर्तन गरेर, उल्ट्याएर शोशित पिडित जनताको नेतृत्वमा नयाँ राज्यसत्ता स्थापना गर्ने अभियान सुरु भयो । त्यसमा फेरी एक पटक दलितहरुको उल्लेखनीय भूमिका देखा पर्यो ।
जनयुद्धको थालनी संगै प्रथम दलित बन्ने अवसर कमरेड दिलबहादुर रम्तेललाई गोरखा जिल्लाबाट प्राप्त भयो भनें त्यसपछि हजारौं सहिदहरु जस्तै पूर्वको लाल ताराको रुपमा सहिद रमेशकुमार गदाल संखुवासभाबाट र अरु ज्ञात अज्ञात हजारौं दलितहरुले जनयुद्धको क्रममा ईतिहासको पानामा आफ्नो नाम लेखाउनु भयो । त्यसैले दलितहरुको भूमिका ईतिहास निर्माण गर्ने क्रममा नयाँ ढंगले स्थापित गरियो ।
यसरी राज्यसत्ता परिवर्तनमा दलितहरुको अहम् भूमिका रहँदै आएता पनि अझै व्राम्हणवादी कु–संस्कारले ग्रसित विचार बोकेका पुरातनवादी सोंचका कारण दलित समुदायलाई एउटा दासको रुपमा हेर्ने कु–प्रथा अझै विद्यमान छ । अहिलेको राज्यसत्ताले दलितहरुको बारेमा केही खुकुलो सोच ल्याएता पनि पूर्णरुपमा समानता भनें विल्कुलै भएको पाइदैन ।
दलितहरुलाई विशेषाधिकारका कुरा गरिएता पनि त्यसको उपलब्धी भनें व्यवहारमा पाइएको छैन । यसरी दलितहरुलाई राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व भयो भनें मात्रै दलितको मुक्ति सम्भव छ । अब सम्पूर्ण दलित समुदायका अग्रजहरुले सम्पूर्ण दलित समुदायहरुको प्रतिनिधित्व गर्दै आफ्नो पूर्ण मुक्ति नभएसम्म सामाजिक उत्पीडनको विरुद्ध विद्रोह गर्ने अधिकारको अभियान जारी राख्नु अनिवार्य छ ।
पथरीशनिश्चरे–४ मोरङ सम्पर्कः ९८१४३०४११४