पथरी । माेरङ्गकाे पथरी शनिश्चरे वडा नं. १ मा रहेको पञ्चायत नमूना माध्यमिक विद्यालयले आयोजनामा ह्याप्पी फुड फेस्टिबल २०८० आयोजना गरेको छ ।
आज शुक्रबार कक्षा १२ मा पढ्ने विद्यार्थीहरूको सहभागितामा विद्यालय हातामा फुड फेस्टिबलको आयोजना गरिएको हो। फुड फेस्टिबलसंगै विज्ञान र फाइन आर्टस संकायका विद्यार्थीले मिनि प्रदर्शनी समेत गरेका छन् । फुड फेस्टिबलमा विभिन्न १३ वटा स्टल रहेको शिक्षक षडानन्द अधिकारी (सरोज) ले बताउनुभयो । फुड फेस्टिबलमा खीर , सेलरोटी , पुलाउ सब्जी , भक्का, चना फ्राई ,आलु परौठा , सुख्खा रोटी, लस्सी, जुश, तिलको लड्डु, चिप्स, पकौडा, बदाम , पपकर्न, अम्लेट, माछा फ्राई, चिकेन रोष्ट र ग्रेबी लगायतका विभिन्न खाद्य सामग्रीका १० वटा स्टलहरु राखिएको थिए भने ३ वटा स्टलहरुमा ललितकलाका विद्यार्थीहरुले बनाएका विभिन्न चित्रहरूको पनि प्रदर्शनी गरिएको थियो।
विद्यार्थीले बनाएका विभिन्न परिकारहरूमा विहानै देखि भिड रहेको अधिकारीले बताउनुभयो । विद्यार्थीको आफ्नै लगानी रहेको फुड फेस्टिबलबाट लगानीको दोब्बरसम्म आम्दानी गरेकाले काम गर्दा स्वदेशमा नै राम्रो कमाइ गर्न सकिने सन्देश विद्यार्थी माझ पुगेको अधिकारीले बताउनुभयो ।
विद्यालयको वार्षिक शैक्षिक कार्यक्रम अनुसार हरेक महिनाको अन्तिम शुक्रबारलाई बुक फ्रि डे (किताब रहित दिन) का रुपमा मनाउदै आएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले बताउनुभयो । सोही कार्यक्रम अनुसार हरेक महिना विभिन्न अतिरिक्त क्रियाकलाप गदै आएकामा मंसिर महिनालाई फुड फेस्टिबलका रुपमा मनाएको बुढाथोकीले बताउनुभयो । सांदेको गुन्द्रुकको अचार, भुटेको मकै, पोलेको मकै, आलु परौठा, भक्का र टमाटरको अचार देखि मासु फुलाउसम्मका खानाका परिकार फेस्टिबलमा समावेश थियो ।
फेस्टिबलमा विभिन्न परिकार सहित चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो । सो प्रदर्शनीमा राखिएको सात घोडाको चित्रले अधिकांशको मन तान्यो । सो चित्रको मुल्य २५ हजार राखिएको थियो । यसरी हेर्दा चित्रकलामा पनि भविष्य रहेछ भन्ने सन्देश दिएको छ । सो चित्र, फाइन आर्ट्स संकाय कक्षा १२ मा अध्ययनरत छात्र रुपक राईले तयार गरेका हुन् ।
सो अवसरमा आफ्नै विद्यालयमा यस्तो कार्यक्रमको आयोजना हुदाँ आफूहरूलाई निकै खुसी र उत्साह थपिएको विद्यार्थीहरुले प्रतिक्रिया दिएका थिए। उक्त अवसरमा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राई, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा संचारकर्मीहरुको उपस्थिति थियो।