सुन्दरता विछ्याएर पर्यटकहरुलाई लोभ्याउने सिमसारयुक्त पर्यटनको आकर्षक क्षेत्रका रुपमा गनिनेस्थल हो उत्तरपूर्वी मोरङको पथरीशनिश्चरे । त्यसमध्येमा पनि एउटा फरक ऐतिहासिक पृष्ठभूमि बोकेको छ यहाँको पत्रकारिताले ।
अहिलेको समय भनेको सूचना, सञ्चार र प्रविधिको हो । सूचना तथा सञ्चारले विश्वलाई खुम्च्याइसकेको छ । सूचनाको प्राप्ती र आवश्यकताको तिर्खामा जनमानस छ । समाजको सूचनामा सत्य, तथ्य र विश्वसनीयता हाम्रा आमसञ्चार माध्यमहरुले दिनसक्नुु पर्दछ भन्ने गज्जवको सामुहिक र सामाजिक मान्यता पनि छ ।
पूर्वी मोरङको सहर पथरीशनिश्चरेमा सञ्चारप्रति क्रेज बढ्दो छ । यहाँबाट प्रकाशित हुने साप्ताहिक पत्रिका, अनलाइन सञ्चार माध्यमहरूले आफ्नो व्यावसायिकताअनुसार लक्षित वर्गलाई खुराक प्रदान गर्दै आएका छन् ।
पथरीशनिश्चरेमा अढाई दशक अगाडिदेखिको पत्रकारिताको इतिहास छ । यस क्षेत्रमा छापा र विद्युतीय सञ्चारमाध्यम दर्जनको हाराहारीमा छन् । ती सञ्चारमाध्यमले बालकदेखि वृद्धसम्म सबै उमेरका तथा विद्यार्थी, शिक्षक, प्राध्यापक, कृषक, मजदुर, उद्योगी, व्यापारी, व्यवसायीजस्ता सबै पेसाव्यवसाय, वर्ग र तह तप्काका लागि आवश्यक खुराक प्रदान गर्दै आएका छन् भनें सञ्चारप्रति आम मानिसको चासो पनि दिनानुदिन बढ्दै गएको पाइन्छ ।
यहाँ सञ्चालन भइरहेका पत्रपत्रिका र अनलाइनहरूले स्थानीय ठाउँको सञ्चार विकासमा अतुलनीय योगदान पु¥याइरहेका छन् ।
दुई दशकअघि एक दुईओटा स्थानीय सञ्चारमाध्यमकै भरमा पूर्वी मोरङमा समाचार पढ्ने बुझ्ने काम भए पनि पछिल्लो समय सूचना र सञ्चारप्रतिको आकर्षणमा बढोत्तरी भएको छ ।
पछिल्लो समय नेपाली आमसञ्चार, सञ्चारकर्मी र आम मिडिया जगतलाई चौथो अंग भन्ने गरिएपनि, गाउँक्षेत्रमा यतिधेरै सञ्चार माध्यम र सञ्चारकर्मी रहे पनि सङ्घ, प्रदेश र जिल्लाले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने र सञ्चार संस्थालाई दर्बिलो बनाउन कुनै ठोस नीति लिएको देखिँदैन ।
पत्रकारिता पेशाको धर्म समाजलाई सूचना लिनु र दिनुु त हो । तर समाजमा सधै सकरात्मक कुरामात्र हुँदैनन् । नकरात्मक कर्ममा त्यस समाजकै मान्छे संलग्न हुन्छन् । त्यसमा पनि गाउँबाट पत्रकारिता गर्नु र स्थापित हुनु आफैमा एक चुनौतीको सवाल छ ।
उनीहरुको कर्म जस्तो छ त्यस्तै बताउने काम पत्रकारको हो । त्यो ऐनाको काम गर्दा, आफ्नो अनुहार विग्रेको देख्ने समाजको त्यो पात्रले त्यही अनुहार देखाउने ऐना फोर्न तयार हुुन्छ । त्यसमा पनि राज्यले भन्दा चौथो अंग भन्छ, महोदय पुकारेर बोलाउँछ, अझ मैले देखेको उसको स्वार्थको प्रचारमा डुलाउँछ, घुमाउँछ तर समस्या आफै पैदा गरेको अवस्थामा आलोचनात्मक चेत बताउने अंग होला नी चौथो अंग भनेको, पछि फर्केर त्यही अंगको सल्यक्रिया गर्न राज्यका अरु अंगहरु अघि सर्दछन् । यसमा गाउँबाट पत्रकारिता गर्ने र थोरै पत्रकार भएका ठाउँहरुका उनीहरुलाई ति अंगहरुले आतंकित पारेका घटनाहरु समेत देखिन्छन् ।
पत्रकारिता पेसामा विभिन्न किसिमका चुनौति थपिँदै गएपछि पथरीशनिश्चरेसहित पूर्वी मोरङका पत्रकारहरू नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी र थरजाति विशेषका सङ्घसङ्गठनमा समेत आबद्ध भई सङ्गठित हुनेक्रम बढ्दो छ ।
विराटनगरबाहिर उत्तरपूर्वी मोरङका सुन्दरहरैंचा, बेलबारी, केराबारी, कानेपोखरी, लेटाङ, पथरीशनिश्चरे, उर्लाबारी, मिक्लाजुङ, रतुवामाईमा गरी क्रियाशील पत्रकारको सङ्ख्या एकसय पचासको हाराहारीमा छ । तीमध्ये पाँच दर्जन जतिले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका छन् भने महासङ्घ जिल्ला, प्रदेश र सङ्घका विभिन्न पदमा दुई दर्जन पत्रकार संलग्न छन् । महिला पत्रकारको सङ्ख्या अत्यन्तै न्यून छ ।
सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल र विभिन्न सञ्चारजन्य संस्थाले समेत ग्रामीण क्षेत्रको पत्रकारिता र पत्रकारको लागि स्पष्ट नीति तयार नगर्दा विभिन्न समस्या र चुनौती खेप्दै यहाँका सञ्चार संस्था सञ्चालनमा छन् । केन्द्रले नबुझेको, प्रदेशले नहेरेको, जिल्लाले नदेखेको ग्रामीण पत्रकारितामा बग्रेल्ती समस्या रहेका छन् । अर्कोतिर मूलधारका सञ्चार माध्यमहरु जस्लाई भनिएको छ वा मोफसल भन्दा भिन्न सञ्चार गृहले ग्रामीण पत्रकारितालाई सिधै अवमूल्यन गरिरहेका हुन्छन् । उनीहरु संस्थागत रुपमै एउटा स्ट्रिङगर राख्न गाउँको बर्खिलापमा छन् ।
यसले ग्रामीण पत्रकारितालाई टेवा दिंदैन । बरु ग्रामीण पत्रकारको पसिना र मर्म चुस्दछ । यसका कैयौं खराबीहरु हामीले भोगेका छौं । एउटा गाउँको कुना कन्दरामा घुमेर समाचार ल्याएको पत्रकारको कर्मले अर्को कोठाबाट गुुगल चहार्ने मूलधारको मिडियाकर्मीले उसको कर्म लुटेको तीतोपना हामीले चाखेका छौं । साना लगानीका सञ्चार माध्यमहरु आज विज्ञापनको अभाव, कागज र प्लेट खरीदमा समस्या तथा ठूला लगानीका कर्पोरेट मिडियाहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा विस्तारै धरासायी बन्दै गईरहेका छन् ।
हामीले भोगीरहेको समस्यालाई यसरी प्रस्तुत गर्न सकिन्छ ः
–पेसागत सुरक्षा र सूचनाको समस्या ।
–समयानुकुल तालिम, प्रशिक्षण र प्रविधिको अभाव ।
–समानुपातिक विज्ञापन र बजारको समस्या ।
–प्रेस पास लिन र नवीकरणमा झन्झटिलो समस्या ।
–दक्ष जनशक्ति र कार्यालय व्यवसथापनमा समस्या ।
–आवश्यक पुँजी लगानीको अभाव ।
–व्यावसायिक र संस्थागत पत्रकारिताको अभाव ।
–सरकारी सेवासुविधा सम्बन्धी समस्या ।
–सहुलियत स्रोत साधन र भौतिक पूर्वाधारको अभाव ।
–सूचना प्राप्ति प्रविधि र महँगीको समस्या ।
–स्पष्ट र ठोस नीति नियमको खाँचो ।
–सूचना, विज्ञापन, विदेश भ्रमण, पुरस्कारमा भेदभाव ।
–खोज पत्रकारिता गर्ने क्षमतावान् पत्रकारको कमी ।
–आचारसंहिता, परिष्कृत नियम एवम् कानुनको परिपालनामा समस्या ।
निष्कर्ष
पथरीशनिश्चरेका पत्रकारहरू स्वरोजगारमुखी पत्रकारिता गरिरहेका छन् । ऊबेलाको सुविधा र यो बेलाको महँगीको मार खेप्दै पनि यहाँका पत्रकार पेसामा क्रियाशील छन् । ग्रामीण पत्रकारिताको महत्व, सम्भावना, चुनौती र अनुकूल प्रतिकूल अवस्थालाई विचार गरी यस क्षेत्रको सञ्चार विकासमा ध्यान दिनु आज सरोकारित सबै पक्षको दायित्व बनेको छ । सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय तह, नेपाल पत्रकार महासङ्घ र नागरिक समाजको संयुक्त पहलबाट यी समस्याको समाधान गर्न सकिन्छ । त्यसका लागि पत्रकारिताको धर्म, मर्म र व्यावसायिकता, आचारसंहिताको पालना, सीप ज्ञान र क्षमताको विकास, सरकारी नीतिगत प्रावधानहरूलाई सरल र सहज बनाउँदै सबैले सकारात्मक दृष्टिकोण राखेर रचनात्मक सहयोग गर्नुपर्ने आवश्यक छ ।
आज जनमानसमा पत्रकार, पत्रकारिता भनेको नकरात्मक कुरा लेख्ने, बोल्ने पात्र हुन् र आमसञ्चार माध्यमहरु समाज सचेतनाको नाममा गलत कुरामात्र औंल्याउने र देखाउने थलो हुन् भन्ने परिसकेको छ । अव त्यस्तो चूनौतिको पार लाग्ने गरि पत्रकारिता गर्नुपर्ने देखिन्छ ।