बिसे नगर्चीबारे इतिहास सार्वजनिक - Pahilo Online

बिसे नगर्चीबारे इतिहास सार्वजनिक

writer

छविराज ढकाल

पथरी शनिश्चरे / पृथ्वीनारायण शाह र उनका वुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा गहिरो खाेज, अनुसन्धान गरि ‘गुमनाम एक इतिहास बिसे नगर्ची ‘ नामक पुस्तक प्रकाशन भएको छ ।

माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले याे पुस्तक लेखेका हुन् । बिसेकाे जन्म स्थल गाेरखा पुगेर उनलाई र उनको सन्तान, छाेरालाई दिएको सनदपत्र, लालमाेहर , बिसेका सन्तान सहित भेटेर गहिराे अध्ययन सहित याे पुस्तक लेखेको लेखक तिम्सिनाले बताउनुभयो । नेपालका पुराना इतिहासकारसँगकाे साेधखाेज गरि किताब लेखिएको छ ।

विभिन्न समयमा इतिहासकारहरुले लेखेका ऐतिहासिक दस्तावेजमा पनि बिसे नगर्चीले नुवाकोट २ पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सहि समयमा सहि सल्लाह दिएर युद्ध जितेको इतिहास पाईन्छ । एउटा सहि सल्लाहकार भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । यहि उदाहरण नेपालकाे इतिहासमा पाईन्छ । यस्तो उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो बिसे नगर्ची । अहिले लाेकतन्त्रका शासकका नातेदार, बग्रेल्ती सल्लाहकार राखेका छन् ।

दीपेन्द्रराज तिम्सिना

राखिएका सल्लाहकार विज्ञताकाे आधारमा नभई आफन्तकाे आधारमा । स्वकीय सचिव,सल्लाहकारहरूले न सल्लाह दिन्छन् , न सल्लाह लिन्छन् ।अनेक दबाब र प्रभावमा निर्णय गराउने प्रवृत्ति डरलाग्दो गरी बढेको छ । सामान्य अबस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अस्त्र झैँ बनेको थियोे ।

नुवाकोट आक्रमणमा हार व्यहाेरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । तर त्यसबेला राज्य काेषमा पैसा थिएन । युद्ध जित्न याेद्दा कुशल भएर मात्र हुदैन, हतियार पनि गुणस्तरीय चाहिन्छ । एकाविहानैदेखि उठेर दरबारमा चिन्तित बनेर टाेलाई रहेका पृथ्वीनारायण शाहलाई आमा काैशल्यावतीले देखेर एकदिन बिहान साेधिछन् -“छाेरा तिमीलाई के भयो ?भनेर । ” त्यसबेला राजा पृथ्वीनारायणले नुवाकोट हार वेहाेरेकाे र थप आक्रमण गर्न हतियार नभएको कुरा आमालाई सुनाएछन् । याे कुरा सुनेर आमाले दरबारमा नगरा बजाउने बिसे नगर्चीलाई भेटेर सल्लाह लिन भनिछन् । साेहि अनुसार भाेलिपल्ट बिहानै राजा बिसेकाे घर गए’छन् ।

कस्तो थियो सामरिक महत्त्वकाे सल्लाह ?

राजा एक्कासी घरमा आएको देखेर बिसेले महाराज के कामले मेरो घरमा पालिबक्स्याे भन्दै साेधेछन् । राजाले ” तिमीलाई थाहा छदैँछ नुवाकोट हार व्यहोर्नु परेको, अब लडाइँ लड्नुछ । हात हतियार चाहिएको छ । राज्य काेषमा पैसा छैन । कसरी हतियार किन्ने भनेर तिमीसँग सल्लाह लिन आएको ।तिमी त हाम्रो बुवाकाे पालादेखि सल्लाह दिँदै आएको सुनेकाेछु ।उचित सल्लाह देउ” भनेछन् । “म जस्तोले के सल्लाह दिन सक्छु र !” भनेछन् । सल्लाह भनेको मान्छे सानो ठूलो पढेकाे नपढेकाे भन्ने हुदैन – राजाले भनेछन् । बिसेले कति दाम चाहिएको महाराज भनेर राजालाई साेधेछन् । १२ हजार दाम भए त पुग्दाे हाे -राजाले भने । गाेरखा राज्यमा कति छन् महाराज बिसेले राजालाई साेधेछन् । पुग नपुग १२ हजार घर हाेलान् —राजाले भनेछन् । याे कुरा राजाको सुनेर बिसे घरको काेठामा पसेछन् ।

काेठाभित्र पसेर बिसेले एक पैंसा, पाँच पैसा, गरेर जम्मा गरेर एक माेहर बनाई राजाको हातमा चढाई साेहि अनुसार प्रत्येक घरधुरीबाट १/१ रुपैयाँ उठाउन सल्लाह दिएकोले साेहि अनुसार पैंसा उठाई काँसी गएर हतियार किनेर ल्याई नेपाल एकीकरण सफल भएको जनश्रूति रहेको इतिहासकारहरुले विभिन्न दस्तावेजमा लेखेका छन् । राज्य एकिकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो, उहाँको परिवार कहाँ कसरी बसिरहेका छन्? याे खाेज अनुसन्धानकाे बिषय हाे ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन । सल्लाह दिने मान्छे ठूलो, उपल्लो जातको सम्पन्न हुनुपर्छ भन्ने हुँदैन । बिसे नगर्ची दरवारमा नगरा बजाउने, कटुवाल फलाक्ने, दरवारकाे बालिघरे हुनुहुन्थ्यो । तर यस्तो सामरिक सल्लाह दिने बिसे लाई अहिलेसम्म राज्यले सम्मान गरेको छैन । –विभिन्न युद्धमा बिसेकाे सहभागीता— पृथ्वीनारायण शाहको पालामा भएको विभिन्न युद्धमा बिसेकाे सहभागिता रहेको विभिन्न इतिहासकार तथा खाेजकर्ताले खाेजेकाे दस्तावेजबाट थाहा हुन्छ ।

नुवाकोट युद्धमा उहाँ सहभागी हुनुभयो । तेस्रो पटकको नुवाकोट हमलामा सिपाही भएर युद्धमा सामिल हुनुभएकाे थियाे । पछि नुवाकोट विजय भई सकेपछि यी बिसे नगर्ची बुढा महाराजसंगै अन्तरिम राजधानी नुवाकोटमै रहने गर्दथे |

नुवाकोटको युद्धमा तिरधारे माेर्चाबाट पृथ्वीनारायण सँगै सहभागी भएको कुरा गाेरखामा बिसेकाे सालिकसँगै राखिएको शिलालेखमा उल्लेख छ । त्यसबेला उहाँ तीनधारे माेर्चाबाट नालदम, अजिरकाेट र सिरानचाेककाे लडाइँमा सहभागी भएको साेहि सिलामा उल्लेख छ । त्यसैगरी, बिसे स्याङ्जाको लडाइँमा पनि सहभागी भएको थिए ।

स्याङ्जाको वहाबकाेटमा बिसे नगर्ची चाेक नै रहेको छ । याे चाेककाे नाम रहनुमा बिसेकाे लडाइमा सहभागिता रहेको थाहा हुने परियार सेवा समाजले उल्लेख गरेको शिलामा लेखिएको छ । परियार समाज, केन्द्रीय समिति तथा सम्पूर्ण परिवार बन्धुहरूले बिसेको शालिकमा राखिएको शिलालेखमा बिसेको जन्म विसं १७४६ र मृत्यु विसं १८२८ मा उल्लेख छ । यसअनुसार उनी ८२ वर्ष बाँचेका देखिन्छ । बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका ऐतिहासिक प्रमाणहरू प्राप्त छन् ।

उनी पृथ्वीनारायण शाहसँग उनकै मोर्चामा रहेर नुवाकोटको युद्धमा सहभागी भएका थिए । नुवाकोट विजय भएपछि उनले नगरा बजाएका थिए । यसैगरी गोरखाको सिरानचोकको युद्धमा पनि उनी सहभागी थिए, जहाँ गोरखालीले लमजुङेहरूलाई हराएका थिए । नुवाकोटको युद्धमा बिसे नगर्चीपृथ्वीनारायण शाहको राज्यविस्तार अभियानअन्तर्गत नुवाकोटमा भएको युद्धमा बिसे नगर्ची सहभागी थिए ।

बिसेलाई विम्वमा प्रयोग गरि २०६२/२०६३ जनआन्दोलनमा कवि श्रवण मुकारुङले ‘ बिसे नगर्चीकाे बयान’ शिर्षककाे कविता ले निकै चर्चा पाएको थियोे । पुस्तककाे प्रकाशक लिला निराैला तिम्सिना रहनु भएको छ भने दमक श्रष्टा छापाखानाले छापेको याे पुस्तक १५६ पेजको रहेको छ ।

विभिन्न नेपालका इतिहासकारहरुसँग साेधखाेज गरी ४९ वटा शिर्षकमा लेखिएको तिम्सिनाले लेखेको याे १२ औं खाेजमुलक कृति हाे । यस अघि तिम्सिनाले टेलिफोन डायरी २०६८ , माेरङकाे सामुदायिक वन एक चिनारी २०६९, माेरङकाे क्षेत्र नं २ एक चिनारी २०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दाेस्राे संस्करण २०७८, धिमाल जातिकाे इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८, माेरङका जनप्रतिनिधि संङगालाे २०७९, माइखाेलादेखि पुनर्वाससम्म २०८० र तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८० लगायतका दर्जन पुस्तकहरु लेखिसक्नु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes