कानेपोखरी । मोरङ कानेपोखरी–६ स्थित भुल्के सुन्तली सामुदायिक वन उपभोक्ता समूहको दोस्रो साधारणसभा आज (मंगलबार) सम्पन्न भएको छ । वन समूहको कार्यालय परिसरमा साधारणसभा भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा समूहका अध्यक्ष भिमराज लिम्बुले आ.व. २०८१÷०८२ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा खाली खाल्सा ७ हेक्टर वन क्षेत्रमा विरुवा रोपण गरिने, वन्य जन्तुलाई पिउने पानी व्यवस्थापनका लागि पोखरी निर्माण गरिने, बस्ती र वन जोडिएको स्थानमा वन अतिक्रमण रोक्न बाटो र नाला निर्माण गरिने योजना रहेको अध्यक्ष लिम्बुको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, भुल्के पानीमा पिकनिक स्पट व्यवस्थापन, वन क्षेत्रमा रहेका पानीका मुहान संरक्षण, बाँसे गुफालाई संरक्षण गरी पर्यटकीय हवका रुपमा विकास गर्ने, कृषी वन प्रणाली अन्तरगत अदुवा, बेसार खेती गर्ने, अन्य समूहले गरेका राम्रा कामको सिकाइका लागि अध्ययन अवलोकन भ्रमण गर्ने, वन सुरक्षामा खटिने पदाधिकारी र कर्मचारीको वीमाको व्यवस्था गरिने योजना रहेको अध्यक्ष लिम्बुले जानकारी दिए ।
वन्य जन्तुका लागि र आन्तरिक श्रोत निर्माण गर्न वन क्षेत्रमा फलफुलका विरुवा रोपण गरिने, भुल्के सुन्तली सिमसारको डिपिआर अनुसार बाँकी रहेको निर्माण कार्यलाई अगाडि बढाउने योजना रहेको समेत अध्यक्ष लिम्बुले बताए ।
सो अवसरमा कोषाध्यक्ष टंकमाया श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा संयोजक भगिराज लिम्बु र अनुगमन संयोजक ईश्वरकुमार राईले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नामको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष खड्गबहादुर बस्नेत, वडा नम्बर ७ का अध्यक्ष मोहन अधिकारी, सव–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख अलाउद्धिन अन्सारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यालय सचिव शेरबहादुर दर्नालले सञ्चालन गरेको कार्यक्रममा वन समूहका उपाध्यक्ष पूर्णबहादुर बोहोराले स्वागत मन्तव्य गरेका थिए ।