पथरीशनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर कमिटीले ३०औं जनयुद्ध दिवसको अवसरमा भव्य रूपमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नगर कमिटी अध्यक्ष गोविन्द कटुवालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा संविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर सुस्लिङ उपस्थित रहेका थिए । कार्यक्रममा ३०औं जनयुद्ध दिवस जिन्दावाद लेखिएको अक्षरमाथि दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।
कार्यक्रममा सयौंको संख्यामा माओवादी कार्यकर्ता तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि लालबहादुर सुस्लिङले कार्यक्रममा सम्बोधन गर्दै जनयुद्धको गौरवशाली इतिहासलाई स्मरण गर्दै क्रान्तिकारी आन्दोलनलाई निरन्तरता दिन आवश्यक रहेको बताएका थिए । उनले जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै देशमा स्थायी शान्ति, समानता र समृद्धि कायम गर्न सबै माओवादी कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
यसैगरी, प्रदेश सल्लाहकार सदस्य बेदनिधि खनालले जनयुद्धको योगदानबारे चर्चा गर्दै सहिदहरूको बलिदानलाई कदर गर्दै अघि बढ्नुपर्ने बताए । प्रदेश कमिटी सदस्य नरेश घतानीले परिवर्तनको दिशामा अघि बढ्न जनताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै पार्टी संगठनलाई अझ सशक्त बनाउनु पर्ने बताए ।
नगर कमिटी सचिव राजकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरू, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जनयुद्ध, माओवादी पार्टी तथा वीर सहिदहरुप्रति सम्मान व्यक्त गर्दै विभिन्न क्रान्तिकारी नारा समेत लगाइएको थियो ।
सोही अवसरमा वक्ताहरूले जनयुद्धका उपलब्धिहरूलाई जोगाउन र परिवर्तनलाई संस्थागत गर्न सबै माओवादी कार्यकर्ताहरू दृढ सङ्कल्पित हुनुपर्नेमा जोड दिएका थिए ।