‘वडालाई केरा पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना छ’ वडाध्यक्ष तामाङ - Pahilo Online

‘वडालाई केरा पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना छ’ वडाध्यक्ष तामाङ

writer

मोहन भट्टराई

मेघनाथ तामाङ, वडाध्यक्ष मिक्लाजुङ वडा नम्बर ५, मोरङ

मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५, का वडाध्यक्ष मेघनाथ तामाङसँग वडाभित्र भएका प्रमुख विकास योजना, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, प्राकृतिक स्रोतको संरक्षण तथा वर्तमान समस्या र समाधानका उपायबारे कुराकाकी गरिएको छ । प्रस्तुत छ वडाध्यक्ष तामाङसँग गरिएको कुराकानीको संपादित अंशः

हालसम्म वडामा भएका प्रमुख विकास योजनाहरू के–के हुन् ?
विकासका योजनाहरुमा खानेपानी, सडक, कुलो पैनी, पुल पनि बनिरहेको छ अहिले । जसमा गुप्तीखोलीटार खानेपानीमा ट्याङ्की निर्माण गर्ने काम भएको छ । त्यसको पाइपहरु सबै पुरानो थियो, त्यसलाई फेर्ने काम भएको छ । अर्को धानखेती खानेपानीमा पनि हामीले ट्याङ्की निर्माण गरी पुराना पाइपहरु फेर्ने काम भएको छ ।

अर्को गुप्तीखोलीटारलाई भ्याउने एउटा सिंहदेवी सिंचाइ भन्ने छ त्यसलाई हामी निर्वाचित भएर आउनेवित्तिकै सुचारु गरेका थियौं । त्यो अहिलेसम्म निरन्तर छ ।

सडकहरु चाहीं हाम्रोतिर अलि घुम्ती, मोडहरु बढी हुने भएकाले वर्षात्मा धेरै क्षती हुने गरेको छ । ती सडकहरुलाई अहिले आरसीसी ढलान गरेर बलियो बनाउने कामहरु भएका छन् । करिव अहिलेसम्म हामीले त्यस्ता सडकका घुम्तीहरु ७ सय मिटर चाहीं ढलान गरिसक्यौं । अर्को महत्वपूर्ण भनेको करिव मिक्लाजुङको सबै वडाहरु र खासगरी पालिका कार्यालय जाने सडकमा पर्ने सोल्टी खोलामा अहिले ३ करोड ७५ लाख बजेटमा निर्माण भइरहेको छ ।

कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन गर्न वडा कार्यालयले के–कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?
हाम्रोमा पशुपालनतिर त्यति राम्रो नहुने रहेछ । त्यसैले हामीले चाहीं अहिले कृषी औजारहरु र फलफुलका विरुवा वितरण गरिरहेका छौं । विशेषगरी केरा र सुपाडीका विरुवाहरु वितरण गरेका छौं । यसपटक पनि नरिवल र सुपारीका विरुवा वितरण गर्ने योजना छ ।
कृषीमा हाम्रो ५ नम्बर वडा अलि ओझेल परिरहेको छ । हाम्रो वडा चाहीं केरा पकेट भनेर बुझिन्छ । यस वडामा अलि बढी केरा खेती गर्ने कृषक हुनुहुन्छ । यसलाई पनि मिडियाका साथीहरुले प्रचार गरेर सहयोग गर्न म आग्रह गर्दछु ।

वडाभित्रका विद्यालयहरूको स्थिति कस्तो छ ? नयाँ सुधारका योजना के छन् ?
यहाँका विद्यालयहरु पहिले चाहीं त्यति राम्रो थिएन । हामी आएपछि केही सुधार भएका छन् । हाम्रो ५ नम्बर वडामा जम्मा तीन वटा सामुदायिक विद्यालय छन् । त्यसमा एउटा चाहीं ८ कक्षासम्म छ, अरु ५ कक्षासम्म पढाई हुन्छ । तिनीहरुमा पनि हामीले केही सहयोग गरेर कक्षा ६ र ७ पनि चलाइरहेका छौं । यस आर्थिक वर्षको बजेटबाट ती सबै विद्यालयका प्रत्येक कक्षाकोठामा सीसी टीभी जडान गरिदिएका छौं । त्यहाँ के कस्तो पढाइ हुन्छ, कस्तो क्रियाकलाप हुन्छ भनेर वडाबाटै निगरानी गरिरहेका छौं । कतिपय विद्यालयका जीर्ण भएका भवनहरु नयाँ बनाएका छौं भनें केहीलाई रंगरोगन समेत गरिएको छ । प्रत्येक विद्यालयमा प्रवेशद्वार गेट र घेराबारा सम्पन्न भएको छ ।

सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई भइरहेको हुनाले गत आर्थिक वर्षमाको बजेटबाट हामीले वडाका सबै विद्यालयहरुलाई कम्प्युटर प्रदान गरेका थियौं । त्यसमध्ये एउटा विद्यालयमा चाहीं कम्प्युटर विषय पनि पढाउने गरेका छौं ।

स्वास्थ्य सेवामा देखिएको समस्या समाधान गर्न के–कस्ता कदम चाल्नुभएको छ ?
स्वास्थ्य क्षेत्रमा चाहीं हामीले स्वास्थ्य स्वयम् सेविकाहरुलाई सशक्तरुपले टोलटोलमा परिचालित गरेका छौं । त्यस्तै स्वास्थ्य केन्द्रमा विभिन्न आवश्यक सामग्रीहरुको व्यवस्था गरेका छौं । यो सँगै मैले मेरो सुविधाबाट विशेषगरी सुरक्षित प्रसुतिका लागि नेपालभरी जुनसुकै अस्पतालसम्म जानका लागि एम्बुलेन्स निःशुल्क गरेको छु । प्रसुति गराइसकेपछि घरसम्म आउनका लागि समेत लाग्ने एम्बुलेन्स खर्च मेरै सुविधाको रकमले व्यवस्था गरेको छु । अनी अपाङ्गता भएका व्यक्तिहरुलाई पनि उपचारका लागि अस्पताल लान र ल्याउन निःशुल्क गरिदिएको छु ।

त्यस्तै, प्रसुति भएका महिलाहरुको घाउको ड्रेसिङ गर्नुप¥यो भनें उहाँहरुले फोन गर्ने वित्तिकै हामी घरमै गएर सेवा दिइरहेका छौं ।

युवा रोजगारीका अवसरहरू सिर्जना गर्न वडाले के–कस्ता पहल गरिरहेको छ ?
हालसम्म हामीले ५० जना युवालाई ड्राइभिङ तालिम दिइसकेका छौं । त्यसमध्ये ३२ जनाले लाइसेन्स निकालेर अधिकांश युवाहरु रोजगारीमा लाग्नुभएको छ । यो आर्थिक वर्षको बजेटबाट चाहीं युवाहरुलाई इलेक्ट्रिसियन तालिम सिकाउने भनेर सम्झौता भइसकेको छ ।

वन तथा प्राकृतिक स्रोतको संरक्षणका लागि के–कस्ता नीति अवलम्बन गरिएको छ ?
हाम्रो वडामा चाहीं जम्मा ६ वटा सामुदायिक वन छ । त्यसमध्ये ३ वटा मात्रै चलायमान रहेछ । अहिले ६ वटै सामुदायिक वनलाई चलायमान बनाइयो । बेलाबेला सामुदायिक वन उपभोक्ता महासंघ, सव–डिभिजन वन कार्यालय र जनप्रतिनिधिहरु बसेर वन समूहका समस्याका बारेमा छलफलहरु गर्ने गरेका छौं । धेरै चर्चाको रुपमा रहेको सामुदायिक वन समूहहरुले स्थानीय सरकारलाई १० प्रतिशत करको विषय । यसमा हामीले सबै सामुदायिक वनहरुलाई अनिवार्य गरेका छौं । त्यसैगरी, अन्य पालिकाका जनताले हाम्रो क्षेत्रमा पर्ने वन पैदावर उपभोग गरिरहेको हुनाले उहाँहरुले हाम्रो पालिकामा ६० प्रतिशत र बाँकी ४० प्रतिशत चाहीं उहाँहरु बसोबास गरिरहेको पालिकालाई बुझाउने भनेर सहमति गरेका छौं ।

वडामा बाढी, पहिरो वा अन्य प्राकृतिक प्रकोपबाट जोगिन के–कस्ता तयारी गरिएको छ ?
यसका लागि बजेट अभावले गर्दा त्यस्तो धेरै चाहीं गरेका छैनौं । मिक्लाजुङमा एउटा सनाको क्याम्प छ, उहाँहरुसँग हामीले समन्वय गर्छौं । त्यस्तो केही परेमा उहाँहरुसँग समन्वय गरेर तत्काल उपस्थित हुनेगरी उहाँहरुसँग नभएको केही सामग्रीहरु खरिद गरेर दिएका छौं ।

हाल वडा नम्बर ५ मा प्रमुख समस्या के–के छन् ? समाधानका लागि के प्रयास भइरहेको छ ?
समस्या चाहीं थुप्रै छन् । हाम्रो जीवनमा काम जति गर्दै गएपनि कामको खाँचो पनि कहिल्यै नहुँदो रहेछ, पैसा जति समाएपनि कहिल्यै नपुग्ने रहेछ । त्यसमध्ये अहिले प्रमुख समस्या भनेको खानेपानीको पनि समस्या नै छ । पानी त छ, हामीले सिस्टमले चलाउन सकिरहेका छैनौं । खोलाहरुमा पुलको समस्या छ । विरामीलाई उपचार गराउन सुविधासम्पन्न अस्पताल छैन । उच्च शिक्षा र प्राविधिक शिक्षा हासिल गर्नका लागि वडामै एउटा माध्यमिक तथा प्राविधिक विद्यालय छैन । वडाका सबै टोलमा सडकको अभाव छ ।

मेघनाथ तामाङ, वडाध्यक्षमिक्लाजुङ वडा नम्बर ५, मोरङ
मेघनाथ तामाङ, वडाध्यक्ष मिक्लाजुङ वडा नम्बर ५, मोरङ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes