पथरी। नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित ‘प्रथम अन्तर स्कुल टिम बुद्धिचाल प्रतियोगिता–२०८१’मा एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कुलले उच्च प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको छ ।
शनिबार सम्पन्न अन्तिम तीन राउन्डपछि कुल ९ खेलबाट १७ अंक हासिल गर्दै एभरेष्टले नगर च्याम्पियनको उपाधि हात पारेको हो । १४ अंकका साथ मोरङ मेरिगोल्ड अंग्रेजी हाई स्कुल दोस्रो स्थानमा रहँदा १३ अंक प्राप्त गर्दै बाल जागरण विद्या मन्दिरले तेस्रो स्थान सुरक्षित गर्यो ।
विजयी टिम एभरेष्टबाट सेम्रिल राई, आयुस लिम्बू, र सिद्धान्त कन्दङ्वाले उत्कृष्ट बुद्धिचातुर्य प्रस्तुत गरे । दोस्रो स्थान हासिल गर्ने मोरङ मेरिगोल्डका कृष्टि राई, श्रीजन श्रेष्ठ, र अनुराग उप्रेतीले सशक्त चुनौती प्रस्तुत गरे भने तेस्रो स्थान प्राप्त गर्ने बाल जागरणका आभाष कार्की, सयुध कार्की, र स्नेह राईले समेत प्रभावशाली प्रदर्शन गरेका थिए ।
विजेता टिमहरूलाई पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, नेपाल बुद्धिचाल संघ प्रदेश समिति सदस्य रामकुमार मादेन, सिंहबाहिनी माविका प्रधानाध्यापक उमेश खड्का, भूपू सैनिक अंग्रेजी स्कुलका प्रिन्सिपल उपेन्द्र कडेल, दुर्गा माविका प्रधानाध्यापक निलम बस्नेत, फ्रेण्डशिप चेस क्लबका अध्यक्ष अमिर राई, तथा एभरेष्ट बोर्डिङ स्कुलका दिनेश कन्दङ्वालगायतले ट्रफी, मेडल, प्रमाणपत्र तथा अन्य पुरस्कार प्रदान गरेका थिए ।
नगर प्रमुख मोहन तुम्बापोले खेलाडीहरूलाई बधाई दिँदै नगरपालिकाले खेलकुद प्रवद्र्धनमा आफ्नो निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “बुद्धिचाल केवल खेलमात्रै होइन, यो तार्किक क्षमताको परिष्कार गर्ने साधन हो । यस्ता प्रतियोगिताहरूले हाम्रो नगरका प्रतिभाशाली खेलाडीहरूलाई उजागर गर्छन् । हामी नगरपालिकाको तर्फबाट यस्ता प्रतिस्पर्धाहरूलाई थप वृहत बनाउने योजनामा छौं ।“
स्वीस लिग प्रणालीमा खेलाइएको प्रतियोगितामा नगरका १० विद्यालयका टिमहरू सहभागी थिए । प्रत्येक विद्यालयबाट कम्तीमा एक जना महिला खेलाडी अनिवार्य सहभागिता गराइएको थियो । व्यक्तिगत रूपमा एभरेष्टका आयुस लिम्बू (८ अंक) र सिद्धान्त कन्दङ्वा (८.५ अंक) तथा महिलातर्फ मोरङ मेरिगोल्डकी कृष्टि राई (९ अंक) उत्कृष्ट खेलाडी घोषित भए ।