विराटनगर, १४ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा माओवादी नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रले गृह मन्त्रालयसहित बादलको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।
माओवादी अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री ओलीलाई पार्टीबाट मन्त्री बन्नेहरुको नामावली बुझाएका छन् । सो नामावलीमा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने जानकारी प्रचण्डले ओलीलाई गराएको माओवादी उच्च स्रोतले बताएको छ ।
यसअघि गृहमन्त्रीमा वर्षमान पुन अनन्तले दावी गरेका थिए । सरकारको नेतृत्वमा पाएपछि अन्य मन्त्रालयमा जान तयार भएका बादलले अन्तिममा गृह मन्त्रालय दावी गरेपछि माओवादीमा मन्त्री चयन गर्न सकस परेको थियो । अन्तिममा पार्टीको तेस्रो बरियताका नेता वादललाई नै गृह मन्त्रालय दिने निर्णय अध्यक्ष प्रचण्डले गरेका हुन् ।
बादल प्रचण्ड नेतृत्वको पहिलो सरकारमा रक्षामन्त्री थिए । उनी रक्षामन्त्री भएकै बेला उनकै सिफारिसमा तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवाललाई सरकारले कार्वाही गरेको थियो । सोही प्रकरणका कारण माओवादीले सरकार छाड्नु परेको थियो ।
बादलले गृहमन्त्रालय पाउने भएपछि वर्षमान पुनलाई अर्को शक्तिशाली मन्त्रालय दिने तयारी भएको माओवादीले जनाएको छ । मन्त्रालय भने टुंगो लागेको छैन ।
स्रोतका अनुसार माओवादीबाट बादल र वर्षमानसहित गिरिराजमणी पोखरेल, मातृका यादव, जनार्दन शर्मा मन्त्री बन्ने भएका छन् । उनीहरुलाई आज साँझ ४ बजे सपथ खुवाउने गरी आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको छ ।