इटहरी, २२ फागुन । अपहरण कार्यमा संलग्न रहेको आशंकामा सुनसरीबाट ५ जना पक्राउ परेपनि अपहरित युवतीको अवस्था अझै अज्ञात रहेको छ ।
सुनसरीको हरिनगर गाउँपालिका १ घर भएकी १९ वर्षीया मण्डल थरकी युवतीलाई जबरजस्ती मोटरसाइकलमा हालेर वेपत्ता पारेको उजुरीका आधारमा ५ जनालाई पक्राउ गरेको छ ।
युवतीलाई स्थानीय जाकिर साफी र हजरत साफीले जबरजस्ती मोटरसाइकलमा हालेर वेपत्ता पारेको उजुरी प्रहरीमा परिवारले दिएको थियो । सोही उजुरीको आधारमा प्रहरीले अपहरणमा संलग्न हरिनगर गाउँपालिका २ बस्ने २५ वर्षीय नजिम साफी, २९ वर्षीय शमसाद अन्सारी, ४५ वर्षीय अकबर साफी, २९ वर्षीय आलम साफी र इटहरी ९ बस्ने विशाल राईलाई पक्राउ गरी अनुशन्धान अगाडि बढाएको छ ।
प्रहरीका अनुसार युवती अपहरणमा परेको सूचनापछि उनका परिवारले अपहरणकारी भनिएका हजरतका दाजु आलम साफीलाई सोधखोज गरेका थिए । तर, आलमले युवती फिर्ता गर्न रकम दिनुपर्ने बताएका थिए । केटी पक्षलाई रकमका लागि ताकेता गर्दै तत्काल २५ हजार बुझाउन भनेपछि केटी पक्षले इटहरी ९ का विशाल राईको नाममा सो रकम आईएमइ गरी पठाएको थियो ।
तर, आलमले ५ लाख रुपैयाँ फिरौती बुझाउनुपर्ने माग गरेपछि पीडित परिवार प्रहरीमा पुगेको थियो । अपहरणकारी समूहले पीडित परिवारसँग पटक–पटक रकमको मोलमोलाई गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।
पक्राउ परेकाहरु उपर अपहरण तथा शरिर बन्धक मुद्दा दर्ता गरि म्याद थप गरिएको छ । प्रहरीले युवतीको अवस्थाको बारेमा केही बताएको छैन । सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले वेपत्ता युवतीको अवस्था बारे अनुसन्धान र खोजी भइरहेको बताउनुभयो ।