विराटनगर । होमियोपेथिक चिकित्सकहरूले सरकारले आफूहरुलाई विभेद गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । विराटनगरमा बुधबार आयोजित अल नेपाल होमियोपेथिक एसोसिएसनको १ नम्बर प्रदेशको प्रथम सम्मेलनमा सहभागीले होमियोपेथिक चिकित्सक काउन्सिल निर्माणको माग गरेका छन् ।
सम्मेलन उद्घाटन गर्दै १ नं. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले भने नेपाली अर्थतन्त्र सुहाउँदो उपचार पद्दती होमियोपेथिक उपचार पद्दती नै भएको बताउनुभयो । उहाँले आफूले होमियोपेथिक उपचार पद्दतीको विकासमा सहयोग पु¥याउने पनि बताउनुभयो ।
आधुनिक उपचार पद्दति अत्यन्तै महँगो भएको कारण गरिव तथा निम्न आर्थिक अवस्था भएकाहरुले उपचार नपाएरै मर्नुपर्ने अवस्था भएको मन्त्री आङ्बोको भनाइ थियो । प्रदेश सरकारले अहिले सुरुवाती कानुन निर्माणको क्रममा रहेको जानकारी दिँदै उहाँले प्रदेशको कानुनमा होमियोपेथिक मुद्दालाई सम्बोधन गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा अल नेपाल होमियोप्याथिक एसोसिएसनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद मिश्रले राज्यले विभेद गरेका कारण आफूहरु अपमानित हुनुपरेको बताउनुभयो । होमियोप्याथिक एसोसिएसनका नेता डा.केपी सुवेदीले सरकारी तबरबाट असहयोग भएको बताउनुभयो । उहाँले होमियोप्याथिक औषधिको व्यवस्थापनका लागि सरकारले छुट्टै औषधि व्यवस्था विभाग खडा गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
१ नम्बर प्रदेशमा १ सय ३० जना होमियो डाक्टरहरु रहेको बताइएको छ । एसोसिएसनको १ प्रदेशस्तरीय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै बुधबार नै सम्पन्न हुनेछ ।