देशका जानेमाने लेखक खगेन्द्र संग्रौला मेरो अनलाइन टिभी अन्तर्वार्तामा ओलीको राष्ट्रवादलाई मौसमी भन्दै मनोगत भँडास पोख्तै हुनुहुन्थ्यो । तर, संग्रौलाले भारतले विगतमा नेपालमा लगाएको नाकाबन्दी हाल आएर उसैले गलत सावित भएको ठहर गरेको पनि उल्लेख गर्नुभयो । यसको अर्थ ओलीको त्यही मौसमी राष्ट्रवादले भारतलाई आफ्नो कमजोरी देख्न र सच्याउने अवसरको अवस्थासम्म पु¥याउन बाध्य पारेको कुरा संग्रौलाले भन्न नचाहँदा नचाहँदै पनि भन्नुप¥यो । किनकि ढाँटेको कुरो कहीँ न कहीँ खुस्किहाल्छ । तपाईंलाई थाहा होला संग्रौलाज्यू, त्यति बेला भारतले नाकाबन्दीमार्फत् नेपाललाई पराधीनताको दलदलमा फसाउन खोजेकै थियो । भारतले संविधान विषयमा आफ्नू सोझो र ठाडो आदेश र निर्देशमा नेपाल र नेपालीलाई चलाउन खोजेकै थियो । संविधान बन्नै नदिने, बने पनि लागू गर्न नदिने र यसका लागि अनेक आन्तरिक र बाह्य चलखेल भारतले गरेको यहाँ जत्तिको विज्ञ व्यक्तिलाई राम्ररी थाहा छ ।
भारतले त्यसबेला जापान, युरोपियन युनियन, अमेरिका र बेलायत आदि अनेक शक्तिशाली राष्ट्रहरुलाई पनि हारगुहार गरेर साथ सहयोग गर्न र नेपाललाई प्रत्यक्ष वा परोक्ष भारी दवाव दिएकै हो । भएभरका विश्वका शक्रिराष्ट्रहरु नेपाल विरुद्ध एकताबद्ध हुँदा पनि ओलीले आम जनताको साथ सहयोगमा अडान राख्नु भएकै हो । नेपालीले विदेशी थिचोमिचोका विरुद्ध लड्नु पर्दैन अड्दा हुन्छ भनेर ओलीले भनेझैँ भारत त्यतिबेला नेपालविरुद्ध उभिन र उठ्नै सकेन बरु तपाईंले भनेझैँ भारत नेपाल विरुद्ध गलत काम गरिएछ भन्ने सोचमा आइपुगेको यथार्थ हो । भारतले गल्ती महसुस गरेको चाहिँ उसमा ब्रम्हज्ञान पलाएर भएको हो भनेझैँ गर्नुभएछ संग्रौलाले । यस खालको हद दर्जाको कपट यति उचाइको लेखकलाई पटक्क सुहाएन ।
हुँदाहुँदा त्यस बेला संविधान विरुद्ध पहाडी समुदायका विरुद्ध मधेसमा कृत्रिम तथा भद्दा कथित जातीय र साम्प्रदायिक आन्दोलन तराइमेधसको भुइँतहदेखि नै झोसियो । केसम्म भ्रम छरियो भने संविधानले हामी तराइमधेसी जनतालाई हामी आज आफ्नै आँगनमा परदेशी भयौँ भनियो र भनाइयो । यसको यस्तो गीत भाइरल बन्यो …अपने अँगनियाँ मे हो गइल परदेशिया । यस पुनीत काममा खगेन्द्र संग्रौला मधेसमा धुनी जगाउन पहिले कहिल्यै नगरेको काठमाडौँ मधेस दोहोरीलत्ता आउजाउ गरिरहनुभयो । उहाँले त नेपाल आमालाई बेश्या भन्ने सिके राउतको रिहाइको मागपत्र लिएर पनि हिँडिरहनु भयो । नेपाल र नेपालीलाई अनेक किसिमले विखण्डन र विग्रह गराउन उद्यत सिके राउतलाई युरोपियन युनियनले लुकीछिपी अनेक आड भरोस गरिरहेको देखिन्छ । तर, तिनै सिके राउतको राष्ट्रवाद चाहिँ संग्रौलाको राष्ट्रवाद हो भन्ने कुरा स्पष्ट हुन्छ । किनभने पृथिवीनारायण, महेन्द्र, बीपी कोइराला, कीर्तिनिधि बिस्ट र के.पी शर्मा ओली कसैका पनि जे जति भए पनि राष्ट्रवादी अडान, अठोट र सुकृत्यलाई सराप्ने संग्रौला आज पर्यन्त राउत राष्ट्रवादका पक्षपाती हुनुहँुदो रहेछ ।
उहाँहरुले तराइ मधेस हुँदै समग्र नेपालमा चरम विखण्डनकारी विद्वेषकारी गतिविधिको धुनी अहिले आएर मत्थर भएकामा संग्रौला बेचैन हुनुहुँदो रहेछ भन्ने कुरा यस अन्तर्वार्ताबाट अवगत भयो । जातै पिच्छे संघ प्रदेश बनाउन आकुल र व्यग्र संग्रौला आफ्नो मनकांक्षा पुरा नहुँदा झन् धेरै पीडित हुनुहुँदो रहेछ भन्ने कुरा टीभीवार्ताबाट बुझियो । संग्रौलाको ओलीप्रतिको कटुआलोचना सनातनी देखिन्छ । मैले जानेसम्म संग्रौला उहल्यैदेखि ओली विरुद्ध लेखका नाममा विषवचन गरिरहुनु भएको देखिन्छ । एक समय दमक झापामा भएको एक कार्यक्रममा संग्रौलालाई यस लेखकले के कस्तो र कति कारणले ओलीप्रतिको तपाईंको कटाक्ष र कटुवाक्य हो भनेर सोधेको थियो । अर्थात् मैले तपाईंहरुका बीच कुन–कुन र के–के कारणले कति पुस्ता अघिपछिदेखि पारिवारिक आदि कारणबाट दुष्मनी भएको हो भनेर बेलिबिस्तारपूर्वक जान्नखोजेको थिएँ । तर, त्यस बेला संग्रौला कुटिल हाँसो मात्र हाँसिरहनु भयो । स्पष्ट केही जवाफ दिनुभएन ।
फेरि संग्रौला चाहिँ ओली विरुद्ध एकोहोरो जाइलागेको देखिन्छ । तर, ओली संग्रौलाका बारेमा कत्ति पनि कठोर देखिनु भएको पाइन्न । बरु ओलीले जनयुद्धका बेला चार पाँच दिनदेखि घरबाट बेपत्ता संग्रौलाको पारिवारिक अशान्त भएका बेला संग्रौलाको परिवारमा उल्टो खुसी ल्याउन सहयो गर्नुभएछ । नर्सिङ सेवारत संग्रौलकी पत्नीले ओली निवासमा हाँपझाँप गर्दै पति हराएको र सेनाको निगरानीमा रहेको बताएपछि ओलीले सम्बन्धित तह र निकायमा फोन गर्नुभएछ र भन्नुभएछ– कृपया संग्रौलाको के कस्तो गतिविधि हो त्यो उनको निजी कुरा हो, जे–जे गरे पनि संग्रौला मेरा प्रिय सखा हुन्, मेरा बारेमा लेखिरहने मान्छे हुन् । उनको धुकधुकी चाहिँ रहोस् । किनभने तिनले मलाई साह्रै मायाँ गर्छन् । मलाई अचानो बनाएर बारबार मेरा विरुद्ध लेखिदिने र बोलिदिने मानिस उनी मात्रै हुन् भन्नुभएछ । अनि केही समयपछि संग्रौला छुटेर ओली निवास बालकोट आएर आफूलाई गुन गर्ने ओली समक्ष कृतज्ञता ज्ञापन गर्नुभएछ । ओलीले फेरि संग्रौलालाई अब भोलिदेख नै मेरा विरुद्ध लेख्न चाहिँ नछाड्नु होला संग्रौलाजी भन्नु भएको यस लेखकलाई जानकारी छ ।
यस्तो हुन्छ । टोक्नेको धर्म टोकी र टोकसी रहनु हो भने पालन र संरक्षण कर्ताको धर्म जस्तोसुकै अवस्थामा पनि सुरक्षा र बचाउ नै गर्ने हो । एक जना भृगु नामका ऋषिले पनि नदीमा बग्दै गरेको बिच्छीलाई आफ्नो हातमा बारबार टोकेर रगताम्य बनाए पनि ऋषिले बिच्छीलाई जोगाउने नै प्रयत्न गरिरहनुभयो । यस्तो दृश्य देखेका उनका प्रिय शिष्यले गुरुवर यस्तो किन गर्नु हुन्छ भन्दा बचाउने र जोगाउने मेरो धर्म हो यही ऋषि र मानवको धर्म हो बाबु भनेर सम्झाउनु भएको थियो । प्रथम दर्जाका मानिस कुनैपनि कमीकमजोरी नै नहुने उपाय गर्छन्, जस कसैलाई यस्तो सल्लाह सुझाव र आवश्यक सहयोग गर्छन् दिन्छन् र गल्ती कमजोरी नै नहुने उपायको खोजमा रहन्छन् । दोस्रो दर्जाका मानव कथं गल्ती कमजोरी भइहालेछ भने त्यसलाई समयमै रोक्न, छेक्न र हुन नदिन प्रयत्नशील हुन्छन् अनि तेस्राथरि मानिस कसरी कुन निहुँ, बहाना, किचोला गरेर र झिकेर समस्यालाई बल्झाउन, अल्झाएर रमिता मात्र हेर्ने ध्याउन्नामा हुन्छन् । संग्रौला कुन कोटिमा पर्नुहुन्छ मैले नै भनिरहनु परेन ।
अर्को संग्रौलाले बाम, बामपन्थ शब्दको उही उन्नाइसौँ शताब्दीको बेलायती संसद्का बायाँ खण्डमा बस्ने सुधारवादी राजनीतिक अर्थ प्रदान गर्ने शब्दका रुपमा लिएको देखियो । उहाँले अहिलेका प्रमुख कम्युनिष्टहरुलाई बाम भन्नु युक्रिसंगत रहेको उल्लेख गर्दै बामको अर्थ सुधारवादी मात्र हो भन्ने लगाउनु भएको छ । तर, समयक्रममा भाषामा आउने परिवर्तन, शब्दको स्वरुप, ध्वनि र अर्थ आदिमा हुन्छ भन्ने कुरा विज्ञ लेखकलाई यस अकिञ्चन लेखकले भन्नै पर्दैन । उहिल्यै तेलको अर्थ तिलको तेल भन्ने अर्थ मात्र हुन्थ्यो, अहिले भुसको पनि तेल हुन्छ । उहिले कुशलको अर्थ कुश ल्याउन सिपालु भन्ने हुन्थ्यो । अहिले कुशलको अर्थ सबै कुरामा कुशल वा क्षमतावान् भन्ने अर्थ हुन्छ । उहिले प्रवीणको अर्थ वीणा बजाउन सिपालु हुन्थ्यो अहिले सबै कुरामा निपुण भन्ने हुन्छ । त्यसैले बामको सामान्य अर्थ लेफ्ट लेफ्टिस्ट वा सुधारवादी भने पनि कम्युनिष्ट शब्दको समानार्थीका रुपमा यस शब्दको व्यापकतम प्रचलन र प्रयोगले अर्थमा प्राविधिक वा पारिभाषिक अर्थ समाविष्ट भइसकेको अवस्गथालाई बुझेर मात्र बोल्दा विज्ञको स्तर कायम होला ।
विज्ञका नामबाट जनमानस भ्रमित हुने खालका कुनै पनि काम गर्नु नजाती हो तर नेपालमा साम्प्रदायिक सद्भाव बिथोल्ने नियत स्वरुप कतिपय विज्ञहरुले पनि पर्याप्त हावा लगाइरहे । तथापि समय क्रममा भुइँ तहमा साम्प्रदायिक सद्भाव विरोधी कृत्रिम चरम तथा अतिवादी गतिविधिहरु सेलाउन थालेको अहिलेको स्थिति छ । नेपाल र नेपालीका बीचमा भूगोल, जात, धर्म, संस्कृति, भाषा आदिका आधारमा गर्न खोजिएको प्रायोजित कथित भ्रमहरु धुजाधुजा भएर च्यातिने अवस्थामा पुगेको देखिन्छ । यसबीचमा नेपाली एकता, स्वाधीनता, अखण्ड अस्तित्व, जातीय सहिष्णुता र सद्भाव विरोधी बौद्धिक गतिविधि भइरहे । यसमा खगेन्द्र संग्रौला निरन्तर लागिरहनु भयो । अहिले पनि त्यो तुस उहाँमा मनग्गे रहेको अन्तर्वार्ताबाट अवगत भयो ।
नेपालको राष्ट्रिय झण्डा च्यात्ता, नेपाली सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता विरोधी बौद्धिक तथा व्यवहारजन्य क्रियापलाप हुँदा मौन र मुक रहने संग्रौला नेपाली एकता र अग्रगामी कृत्य र कृयाकलापलाई पटक्कै मन पराइरहनु भएको छैन । वहाँ अहिले हुन लागेको बाम एकतालाई कसरी धाँजा, फाटो र तिनका बीच तिक्तता ल्याउन र बढाउन सकिन्छ ? त्यसैमा दत्तचित्त भएर अहोरात्र लागिरहनु भएको अनुभव हुन्छ । संग्रौलामा विचार, सिद्धान्त, विकास र अग्रगमनमा कुनै सुस्पष्ट दृष्टिकोण भने देखिँदैन । उहाँ कहिले एनजिओवादी भएर मुलुकको कायपलट हुने कुरामा सुनिश्चित हुँदै जूनकिरीको संगीत उपन्यास लेख्नुहुन्छ । माक्र्सवादी तथा प्रगतिशील लेखक त थियो अहिले के भन्नुहुन्छ थाहा छैन । जे भएपनि माक्र्सवाद बुझेको लेखक हो, उहाँ । तर, उहाँमा द्वन्द्वात्मक दृष्टि, सृष्टि र समीक्षा चेत भएको जस्तो लाग्दैन । त्यसमा पनि ओली भनेपछि आँखा चिम्लेर गाली गर्दा उहाँको चित्त प्रशन्न हुन्छ कि क्याहो । बरु स्वतन्त्र लेखकहरु सौरभलगायतहरु ओली व्यक्तित्वको सराहना गर्नुहुन्छ तर त्यहीँ संग्रौला ओलीलाई प्रायः आहारिसजन्य जस्तो लाग्ने गरी सदा धारे हात लगाइरहनु हुन्छ ।
ओली नै बरु कहिले काहीँ भन्नुहुन्छ बिनबित्थामा अरुको रिसले दाह्रा किट्ता आफ्नै जिभ्रो टोकिने अवस्थालाई राम्ररी ध्यान दिनुपर्छ । संग्रौला अहिले पनि खस जातीय अहंकार ग्रस्त भनेर सस्तो लोकप्रियताका लागि साम्प्रदायिक विद्वेष भड्काउने दुर्नियतले लेखी बोली रहनुभएको छ तर त्यहीँ प्रा.डा. जगमान गुरुङ जस्ता साम्प्रदायिक भड्काउ राजनीति गर्न मज्जाले सुहाउने तर यस्ता तुच्छ तहका नाक, नश्ल, जात र भातको राजनीति किमार्थ नगर्नेहरुसित संग्रौलाको वास्तविक चिनजान छ कि छैन होला । मिसन टु रअ शीर्षकको आर.के.यादवको कृतिमा जात, भात, नाक र नश्ल उछालेर देशको विखण्डन गर्ने नकाम पढ्दा थाहा हुन्छ । अहिले विश्वमा यही नाराका आधारमा पश्चिमा शक्तिहरु नेपाल जस्ता देशलाई अनेक तरिकाले विखण्डित तुल्याउन धेरै लगानी र लगान गरिरहेका छन् । यस्ता बेलामा एउटा विज्ञ र विद्वान्हरु मनोगत आरोप र प्रत्यारोपमा चरम विभाजनकारी तथा हतोत्साहित विचार छरेर समय खर्चिने कुरा कदापि सुहाउँदैन । नेपालीहरुलाई सबथोक चाहिने तर देश चाहिँ नचाहिने भन्ने पत्रकार ध्रुव अधिकारीको भनाइ सापट लिँदै सौरभ एक टीभी कार्यक्रममा अन्तर्वार्ता दिँदै हुनुहुन्थयो । नभन्दै संग्रौलाका लेखमा देशको चिन्ता प्रायः पाइन्न ।
आफ्नो असंगति नामको पुस्तकाकार कृतिमा सौरभले राष्ट्रिय अस्तित्व, अस्मिता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा कुनै आग्रह पूर्वाग्रह रहित दृष्टिकोण राख्नु भएको छ । कहाँ सौरभ जस्ता लेखक कहाँ अरुहरु । नेपाली नेताहरुका सबैका साना वा ठूला कुनै पनि सकारलाई निःशर्त स्वीकार गर्ने सौरभजस्ता विद्वान्को अहिले धेरै खाँचो छ । तर, संग्रौलाले अहिलेसम्म देश, जनता र जनजीविका सबालमा सापेक्ष स्वतन्त्र तथा विवेकसम्मत विचार व्यक्त गर्नु भन्दा कटु र तित्त लिखित तथा मौमिक विचार प्रवाह गर्नमै समय लगाएको अनुभव हुन्छ ।