विराटनगर । विराटनगर माहानगरपालिका अगाडि सिटी सफारिमा टनाटन फोहोर लगेर फालिएपछि शनिबार नगरपालिका आसपासका मानिस चकित बने । दजैनौं युवाहरूको समूहले फोहोरले ग्रस्त विराटनगर भएको भन्दै माहानगरले फोहोर उठाइसकेको भनिएको स्थानबाट बोराका बोरा फोहोर संकलन गरेर त्यहाँ लगेका थिए ।
उक्त फोहोर युवाहरूले नगरपालिकाको गेटमा लगेर राखे र केहीबेर धर्ना दिए । अन्तिममा नगरपालिकाकै परिसर भित्र फोहोरको बोरा राखेर युवा फर्किए ।
तीन हप्तादेखि परिवर्तनका लागि हातेमालो नामक संस्थाले विराटनगर महानगर सरसफाइका लागि महाअभियान नामक कार्यक्रम गर्दै आएका छन् । विराटनगरमा फोहोर सरसफाइमा यसअघि दारी ग्याङले पनि अभियान चलाएको थियो ।
तर, अभियान संचालनका बेलामा माहानगर प्रमुखसहित सहभागी भएपनि नियमित फोहोर संकलनमा भने नगरपालिकाले चासो नदिएको ती युवाको भनाइ छ । नगरपालिकालाई व्यंग्य गर्दै युवाहरूले २५ बोरा भन्दा बढी फोहोर नै लगेर नगरपालिका कार्यालय अगाडि फालिदिएका थिए ।
विराटनगरको मुख्य बजार क्षेत्र मानिने शनिमन्दिरदेखि महानगरपालिकाको कार्यालय अगाडिसम्म युवाको समूहले सरसफाइ गरेको थियो । सरसफाइमा संकलन भएको फोहोर महानगरपालिका अगाडि थुपारेर युवाले १ घण्टा धर्ना पनि दिए । धर्नामा पाँच दर्जन बढी युवा सहभागी थिए । युवाहरूले धर्ना दिने क्रममा ‘महानगर त सुत्यो सुत्यो फोहोर व्यवस्थापन कस्ले गर्ने ?’, ‘घरमात्रै होइन बाहिर पनि सफा राखौं’, ‘आफू बस्ने घर सफा आफैं हिंड्ने बाटो चाहिं किन फोहोर ?’ लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
फोहोर व्यवस्थापनमा नगरपालिकाकाले उचित कदम नचालेसम्म विभिन्न कार्यक्रम गर्ने सो संस्थाका अभियान्ता सुशिल रिजालले जानकारी दिनुभयो । हातेमालो संस्थाले आउँदो वैशाखमा ७ हजार युवाहरू उतारेर वृहत विराटनगर सरसफाइ गर्ने जनाएको छ । उक्त अवसरमा हजारौं डस्बिन बाँडिने अभियान्ता विनोद परियारले जानकारी दिनुभयो ।