विराटनगर । आयोजक रिजालको मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वटरफाइनल प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा घरेलु मैदानमा विदेशी पाहुना टिम भुटानको थिम्पु फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । मोरङको जितमा भुवन बस्नेत र निशान लिम्बूले गोल गरे ।
मोरङका तर्फबाट ६० औं मिनेटमा बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । गोलरक्षक नग्वाङ टासीले क्लियर गर्न खोज्दा रिबाउण्ड भएको बललाई बस्नेतले पोष्टको दिशा दिएपछि भुटान दवावमा प¥यो ।
अतिरिक्त समयमा निशान लिम्बूले गोल गर्दा मोरङ २–० गोल अन्तरले विजयी बन्यो । अफ्रिकन खेलाडी पियुसको क्रस पासमा वान भर्सेस वानको स्थितीमा लिम्बूले बललाई जाली चुमाउँदा विपक्षी गोल रक्षकले नियाल्न सम्म पनि भ्याएनन् । ६७ औं मिनेटमा टिसान्दा दोर्जीको प्रहारलाई गोलरक्षक सूर्य अधिकारीले विफल पारिदिंदा भुटानले खेलमा फर्कने अवसर गुमायो ।
पहिलो हाफ सम्म खेललाई नियन्त्रणमा लिएको मोरङले गोल गर्ने धेरै अवसरलाई भने सदुपयोग गर्न सकेन । उसका आधा दर्जन प्रहारले पोष्टको दिशा लिन सकेनन् । खेल अवधिभर गोल गर्नका लागि पाएका केही अवसरलाई भुटानले पनि खेर फाल्यो । फिनिसिङ पक्ष कमजोर हुनु भुटानका लागि विदेशी मैदान अफापशिद्ध भयो ।
भुटानका प्रशिक्षक जङ्चुक दोर्जीले खेलाडीले सोचे अनुरुप प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । जितपछि मोरङका प्रशिक्षक पारश चौधरीले खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा परिणाम सोचे अनुरुप नै भएको बताए ।
मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) प्रतियोगिताको उद्धघाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले गरेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच मोरङका निशान लिम्बू घोषित भए । आइतबारको खेलमा संकटा फुटबल क्लब र भारतको मोहम्मेदन स्पोर्टिङ क्लबबीच प्रतिष्प्रर्धा हुनेछ ।
दर्शकको ओइरो
नाइट गेम गराउने आयोजकको निर्णयले पूर्वाञ्चलमा खेलकुदको नयाँपन हेर्न सबै उत्सुक भएको पाइयो । प्रहरी स्रोतका अनुसार ७ हजार ५ सय भन्दा बढी दर्शक साँझ सहिद मैदानमा उपस्थित भएका थिए । दर्शकको उपस्थितिले आयोजक हौसिएका थिए । राती गराइएको खेल हेर्न अधिकांश परिवारसहित विराटनगरबासी उपस्थित भएका थिए ।