विराटनगर । विराटनगर १ नम्बर प्रदेशको अस्थायी राजधानी । स्थायी राजधानीको प्रमुख दाबी विराटनगरले पनि गरिरहेकै छ । तर, १ महिना अगाडिदेखि विराटनगरमा भएका श्रृंखलाबद्ध हत्या र अपराधका घटनाले यहाँको जनजीवन त्रस्त बनिरहेको छ ।
विराटनगरमा १ महिनाको अन्तरालमा ६ वटा अपराधिक घटना भएका छन् । के–के भए अपराधका कर्महरु यो हेर्नुहोस् ।
घटना नम्बर १
गत साउन १६ गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पढदै गरेका बिद्यार्थीको रहस्यमय मृत्यु भयो । बाराको कोल्भी नगरपालिका ८ घर भै विराटनगर स्थित नोबेल मेडिकल कलेजमा एमबिबिसको अन्तिम वर्षमा अध्यनरत २५ बर्षीय सौरभ उप्रेतीको मृत्युको रहस्य अझै बाहिर आउन सकेको छैन ।
सौरभको मृत्यु भएको १ महिना पुगिसक्दा पनि अझै हत्या हो वा आत्महत्या हो भन्ने प्रहरीले सार्वजनिक गरेको छैन । अन्तिम वर्षको परिक्षा दिइरहेका उप्रेती सुतेकै कोठामा खाटमुनि मृत फेला परेका थिए । सौरभ राति अबेरसम्म साथीहरुसँगै पढेर सुतेका थिए । उनको घाँटीमा र शरिरमा चोट देखिएको थियो ।
मोरङ प्रहरीले सौरभको मृत्युको रहस्य पत्ता लगाउन उच्चस्तरिय टोलीबाट सुक्ष्म अनुसन्धान भइरहेको बताएको छ । प्रहरीका अनुसार शव परिक्षणपछि सौरभको भिषेरा र कोठमा फेला परेका ल्पापटप र तार र अन्य सामग्रीहरु जाँच गर्न बिधि बिज्ञान प्रयोगशालमा पठाइएको छ । विस्तृत रिर्पोट आइसकेपछि मात्र सौरभको मृत्यूको रहस्य पत्ता लाग्ने प्रहरीको दाबी छ । तर, महिनादिन पुगिसक्दा पनि सौरभको मृत्युको कारण पत्ता नलाग्दा घटना अझै रहस्यमय बनिरहेको छ ।
घटना नम्बर २
विराटनगरमा गत साउन १८ गते एक युवतीको शव नग्न अवस्थामा फेला परेको थियो । उक्त घटना अझै रहस्यमय मात्रै होइन युवतीको पहिचान नै हुन सकेको छैन ।
विराटनगर महानगरपालिका १४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ वर्षीय युवतीको शव भेटिएको थियो । तराईमुलको जस्तो देखिने ती युवतीको शवको हालसम्म सनाखत हुन नसकेको मोरङ प्रहरीले जनाएको छ ।
शव नाङ्गो अवस्थामा भेटिएकोले बलात्कार गरी सो ठाउँमा फालिएको हुनसक्ने आशंका गरिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना नम्बर ३
गत २७ गते साउनमा विराटनगर महानगरपालिकाभित्र भएको बम विष्फोटको घटना अझै रहस्यमय नै छ । कसले र किन बम विष्फोट गराएको भन्ने विषयमा अझै आधिकारिक पुष्टि हुन सकेको छैन ।
बम पड्काउने कोही पनि पक्राउ गर्न प्रहरीले अझै सकेको छैन । बम विष्फोटमा संलग्न भएको आशंकामा केही मानिस पक्राउ गरिएको भएपनि उनीहरु निर्दाेश देखिएका थिए । महानगरको सीसी टिभिमा कुनैपनि रेकर्ड फेला परेन । महानगरको सीसी टिभी फ्ुटेजबाट दोषीसम्म पुग्ने प्रहरीको अपेक्षा थियो ।
कार्यालयभित्र भएको घटना अनुसन्धानको प्रहरीले महानगरको सीसीटिभिको रेकर्ड राखिने कम्प्युटरको हार्डडिक्स लिएर गएको थियो । तर, हार्डडिक्समा कुनैपनि फुटेज नदेखेपछि प्रहरी आफै छक्क परेको छ । महानगरमा ८ वटा सीसी क्यामेरा जडान गरी प्रमुख भीम पराजुलीले कार्यकक्षबाट त्यसको निरीक्षण गर्ने गरेका थिए । पराजुलीका अनुसार महानगरको सीसीटिभी अपडेट थियो र रेकर्ड पनि नियमित थियो ।
महानगरले सीसी टिभि जडान गरेको भएपनि रेकर्डिङ मोडमा नराखिएकाले बम विष्फोटको दिन महानगरको गतिविधि रेकर्ड नभएको प्रहरीले जनाएको छ । सीसीटीभीको रेकर्ड नभेट्दा अनुसन्धान लम्बिएको प्रहरीको भनाइ छ । बम पड्काउनकै लागि सिसीटिभी रेकर्ड बन्द गरिएको हो कि भन्ने पनि आशंका गरिएको छ । प्रहरी र महानगर प्रमुखको सीसी फुटेज बारेको फरक–फरक भनाइले घटनालाई थप रहस्यमयी बनाएको छ ।
दिनदहाडै अति व्यस्त कार्यालयमा बाम विष्फोट हुनु र महानगरको सीसीटीभीमा त्यसको रेकर्ड नहुनुले महानगरकै कर्मचारीको मिलेमतोमा घटना भएको त हैन भन्ने आशंका पैदा भएको छ । महानगरको माथिल्लो तलामा रहेको प्रमुखको कार्यकक्ष अगाडिको सेवाग्राही बस्ने स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो । विस्फोटबाट त्यहाँका फर्निचर, झ्यालका सिसा र आगनमा पार्किङ गरिएको प्रमुख चढ्ने गाडीको सिसामा क्षति भएको थियो ।
घटना नम्बर ४
विराटनगरमा भएको अर्को अपराधिक घटना भदौ १ गतेको हो । सँगै जिउने सँगै मर्ने कसम खाएका प्रेमीबाटै विराटनगरकी एक युवतिको हत्या भयो ।
विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टाईले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको भदौ १ गते शुक्रबार विहानै हत्या गरेका हुन् । प्रहरीका अनुसार दुबैजना विराटनगरबाट प्रेमिका शिखाको को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न गएका थिए । घुम्न गएको मौकाम एकान्त पारी ग्रामथान गाउँपालिका–३ सिद्राहा पु¥याएर दिनेशले शिकाको हत्या गरेका थिए ।
हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्ने प्रयासमा रहेका दिनेशलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान भइरहेको छ । दुईजना केही समयदेखि प्रेममा रहेको कुरा खुलेको प्रहरीले जनाएको छ ।
युवतीले धोका दिएर अष्ट्रेलिया जान लागेपछि उनको हत्या गरेको दिनेशले प्रहरीसामु बयान दिएका छन् । शिखाले आपूmलाई धोका दिएर अष्टे«ेलिया जान लागेको र सम्झाउँदा पनि नमानेकोले घुम्ने बहानाम लगेर हत्या गरेको दिनेशले स्वीकार गरेका छन् ।
घटना नम्बर ५
अज्ञात समूहबाट भएको सेक्युरेटी गार्डको विभत्स हत्या अर्को रहस्यमय बनेको छ । भदौ ३ गते भएको उक्त हत्यामा संलग्नलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन ।
विराटनगर–४ पिपल चौकका ५० वर्षीय टंक भट्टराई चाँदनी चौकमा रहेको न्यू बिक्की हार्डवेयरमा सुरक्षा गार्डको रुपमा काम गर्दथे । विराटनगरमा रहेको विराट अस्पताल नजिकैको न्यू बिक्की हार्डवेयरको सुरक्षा गर्दा भट्टराईको हत्या भएपछि त्यस क्षेत्र त्रसित बनेको थियो ।
निरवकुमार अग्रवालले सञ्चालन गरेको हार्डवेयरमा कार्यरत रहेका भट्टराईको शव विभत्स अवस्थामा फेला परेको थियो । भट्टराईको हत्या भएपनि हार्डवेयर सञ्चालकले परिवारलाई जानकारी नदिएको पीडित परिवारजनको गुनासो छ ।
मोरङ प्रहरीले यस घटनामा अनुसन्धान गर्दै आएको बताएको छ । प्रहरीको अनुसार यस प्रकरणमा अनुसन्धानको लागि हार्डवयरमा कार्यरत कर्मचारीहरुसँग पनि सोधपुछ गरेको छ । तर, हालसम्म यस प्रकरणमा प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
घटना नम्बर ६
विराटनगरमा अर्को अपराधिक घटना भदौ ५ गते भएको छ । श्रीमानले गरेको दाउ प्रहारबाट विराटनगरमा श्रीमती र छोरीसहित अन्य एक गम्भीर घाइते भएका हुन् । विराटनगर ११ पिचडाकी ४० वर्षीय श्रीमति पुनम सहनी, उनकी छोरी २० बर्षीय मनिता सहनी र पुनमका भाई २७ बर्षीय सन्दिप सहनी घाइते भएका छन् ।
केहि समयअघि भागी विवाह गरेका सिराहा गोलबाजार निवासी ४५ वर्षिय श्रीमान दिलीप सहनीले भदौ ५ गते बिहान उनिहरुमाथि दाउ प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् । विराटनगर पिचडास्थित घरमै बसिरहेको अवस्थामा तीनैजना माथि दाउ प्रहार भएको थियो । घाईते पुनमकी आमा सहनीले पुनम र दिलीपको विदेशबस्दा फेसबुकबाट परिचय भएको र भागी विवाह गरेको जानकारी दिनुभयो । सिरहाको गोलबजारबाट आएका दीलिपले श्रीमति, सालो र छोरीमाथि आक्रमण गरेका थिए । घाइते तीनैजनाको कोशी अञ्चल अस्पतालमा उपचार गराइएको छ ।
विराटनगरमा पछिल्लो पटक भएका अपराधिक घटना बढिरहेको यो तथ्यांकले पनि देखाउँछ । यसकारण प्रदेशको अस्थायी राजधानी बनिरहेको विराटनगरमा अपराध र हत्या हिंसाको पनि राजधानी नबनोस् भन्ने सर्वसाधरणको चाहना छ ।
मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले सामाजिक अपराध र भैपरी आउने अपराध चुनौति बनिरहेको बताउनुभएको छ । प्रत्येक घटनाको छानविन भइरहेको र छिट्टै निष्कर्षमा पुगिने उहाँको भनाइ छ ।