प्रतिक्षा रेफ्रिजेनेरेशनमा के कस्ता कामहरु गर्नुहुन्छ ?
प्रतिक्षा रेफ्रिजेनेरेशनमा विषेश गरेर फ्रिज, एसी, वासिङ मेसिन, इलेक्ट्रोनिक सम्बन्धी, मोटर, पंखा, विशेष गरी मैले फोकश गरेको काम भनेको फ्रिज र एसी नै हो । फ्रिज र एसीहरु अहिले जनसमुदायमा धेरै माग भएको हुनाले गाउँ–गाउँमा, चोक–चोकमा फ्रिजहरु पुगेका छन् । र ती वस्तुहरुलाई मर्मत गर्ने प्राविधिकहरुको पनि अभाव पनि छ । त्यो अभावलाई मैले आफैं गाउँ–गाउँमा गएर मर्मत गरिदिने पनि गरेको छु । त्यही उद्देश्य लिएर मैले रेफ्रिजेनेरेशन सुरुवात गरेको हो ।
तपाई यस पेशामा कति सालदेखि आबद्ध हुनुभयो ?
मैले अध्ययन धरान इन्जिनियरिङ क्याम्पसबाट ट्रेड लेवलको तीन वर्षे अध्ययन मेकानिकल विषयमा गरें । त्यो अध्ययन सक्ने वित्तिकै खनारमा सिरोमेक्स फ्याक्ट्री जापानिज प्रविधिबाट स्थापना भएको थियो । त्यहाँ कार्यरत हुने मौका पाएँ । त्यहाँ चारवर्ष काम गरेपछि राम्रो किसिमको प्राविधिक अनुमान गरें । र एउटा अध्ययन क्षेत्रमा पनि तीन वर्ष गरेर त्यहाँ पनि काम अनुभव पाएपछि अलिकति मलाई काम गर्ने क्षेत्रमा दक्षता हासिल गरें कि जस्तो लाग्यो । अनि तत्कालै गोरखकाली पावर फैक्ट्रीमा ठूलो प्राविधिकहरुको माग आयो । माग भएपछि मैले पनि त्यहाँ एप्लाई गरें । तीन सय जना प्राविधिकहरुमध्येबाट हामीलाई छनौट गरियो । गोरखकाली रबर उद्योगमा धेरै किसिमको टेक्नोलोजी रेफ्रिजेनेरेशन सम्बन्धी र प्रोडक्सन सम्बन्धी मेसिनहरु २÷३ वर्षजति जडान गरिसकेपछि हामीले एउटा प्राविधिक क्षेत्रमा दक्ष अनुभव गरियो । त्यसपछि यस क्षेत्रमा काम गर्न थालेको हो ।
इन्जिनियर पेशा अलि जोखिमपूर्ण हुँदैन ?
जोखिम त इन्जिनियररिङ क्षेत्रमा धेरै हुन्छ । तर त्यो जोखिमलाई कसरी मेन्टेन गर्ने र त्यसबाट बचेर काम गर्ने भन्ने सुरक्षाका उपायहरु सुरुवातबाट नै जानेको हुन्छ । हामीलाई पढाउने सरहरुले चाहीं सुरुमा सुरक्षाका उपायहरु बताउनु भएको हुन्छ । मेसिन चलाउँदा कस्तो लुगा लगाउने, कस्ता प्रोटेक्सनहरु युज गर्ने, सुरक्षाको कस्तो उपायहरु गर्ने पढ्नुभन्दा पहिले नै उहाँहरुले हामीलाई सिकाउनु हुन्छ ।
तपाई राजनीतिक क्षेत्रमा छिर्नु भयो ?
क्याम्पस पढ्नु भन्दा पहिले एसएलसी दिएर अलिकति खाली समय थियो । त्यो समयमा निक्कै राजनीतिक हलचलहरु पनि आए । विद्यार्थी क्षेत्रमा एउटा राजनीतिक परिवर्तन आयो । देशमा केही परिवर्तन हुनुपर्छ, यो देश एउटा तानासाही राजसत्ताले थिचोमिचो गरिरहेको छ, जनताप्रति शोषण गरिरहेको छ भन्ने खालको जागरण आयो । त्यस लहरले मलाई पनि छोयो । त्यो विद्यार्थी क्षेत्रदेखि नै मैले राजनीतिमा चासो लिएँ । विषेश गरी वामपन्थी क्षेत्रमा अध्ययन गरियो । विद्यार्थी संगठनमा बसेर काम गरियो । त्यसमा काम गरिसकेपछि राजनीतिमा जागरुकता आयो ।
तपाई माओवादी केन्द्रको वडा सचिव भएर काम गर्दा र अहिलेको राजनीतिमा केही फरक पाउनु भएको छ ?
त्यतिखेर भनेको हार्डलाईन थियो । जनतासंग प्रस्तुत हुने कुराहरुमा त्यो हार्डलाइन हुँदाखेरी हामी धेरै अनुसाशनमा रहनु पर्दथ्यो । अहिले खुलेआम परिस्थिति छ । त्यतिखेर धेरै बलिदानी भयो, धेरै कठिन परिश्रम गरेर जनताको सामु ल्याएको एउटा अधिकार स्थापना भइसकेपछि त्यतिखेरको परिश्रमले गर्दा यो उपलब्धी भएको छ । जुन जोड्दाखेरी धेरै आनन्द आउँछ । यो उपलब्धी पाएको देख्दाखेरी अब आउने दिनहरुमा पनि उपलब्धीहरुलाई जनताको माझ पु¥याउन सकियो भनें धेरै ठूलो आनन्द आउँछ । गरिव दुःखीहरुले मुक्तिको अनुभव पाउँछ भन्ने मलाई लागि रहेको छ ।
भविष्यमा राजनीति गरेर विताउने सोंच बनाउनु भएको छ ?
मेरो जीवनको अन्त्यसम्म नै राजनीति गर्छु भन्ने मलाई लागेको छ । किनभनें राजनीति भनेको समाजको चेतना उघार्ने एउटा माध्यम हो । मान्छेले राजनीतिलाई गलत ढंगले पनि हेर्छन् । र सबै क्षेत्रमा यसलाई गलत ढंगले हेर्न पनि मिल्दैन । समाजको परिवर्तनको बाहक भनेको नै राजनीति हो । समाजमा अहिले शान्ति र सम्मृद्धिको कुरा आइरहेको छ । यो शान्ति र सम्मृद्धिको गहना चुम्ने खुड्कीलो भनेकै राजनीति हो । राजनीति बेगर समाज परिवर्तन हुँदैन । त्यसैले मैले जीवनको अन्तिम समयसम्म राजनीति गर्ने जमर्को लिएको छु ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
मैले यो समाजलाई के सन्देश दिन्छु भनें एउटा राजनीतिक क्षेत्रमा कतिपय कुराहरु नकारात्मक र सकारात्मक हुन्छ । राजनीतिक क्षेत्रमा भन्नुपर्दा यो देशको मुहार फेर्ने चाहीं राजनीतिक माध्यम हो । यो देशमा ठूला–ठूला आन्दोलनहरु भए । त्यो राजनीतिक कै कारणले हो । यसलाई गलत ढंगले नबुझिदिनु होला ।