अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात विद्रोही समुह इस्लामिक स्टेट (आईएस) का मुख्य नेता अबु बकर अल–बग्दादी मारिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सिरियामा अमेरिकी सेनाले गरेको कारवाहीको क्रममा बग्दादी आफैंले आत्माघाती विष्फोट गराएर आफ्नै ज्यान लिएको दाबी गरे ।
अमेरिकी सैनिकका तालिमप्राप्त कुकुरहरुले लखेटिरहेको बेला सुरुङभित्र लुकेका बग्दादीले त्यही आत्माघाति विष्फोट गराएको ट्रम्पको जिकिर छ । इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल–बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए । बग्दादीकै नेतृत्वमा इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि क्रुर शाशन लादेको थियो ।
इराक र सिरियाका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय थिए । आईएसका नेता अल–बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे । सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतंककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो ।
बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रुर विद्रोही योद्धाका रूपमा कुख्यात थिए । सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो । विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए । कतिपयका अनुसार सद्दाम हुसैनको शासन ताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए ।