मोरङ । मदिरा सेवन गरेर प्रहरीमाथि दुरव्यवहार र आक्रमण गर्ने ६ जना युवालाई पक्राउ गरिएको छ । गस्तीमा रहेका प्रहरीमाथि मोरङको रतुवामाई नगरपालिका–८ दाम्रभिट्टामा आक्रमण भएपछि बुधबार राति पक्राउ गरिएका युवा विरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । प्रहरीले धनकुटाको महालक्ष्मी नगरपालिका–३ का १९ वर्षीय सुमन कार्की, दिप्सन थापा, २० वर्षीय डुवेन्द्र थापा, शासन कार्की, रतुवामाई–८ का २० वर्षीय रवि पराजुली र रतुवामाई–७ का २० वर्षीय सुजन बस्नेतलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये रवि पराजुलीको जन्मोत्सव थियो । डीएसपी श्रेष्ठकाअनुसार साथीको जन्मोत्सव मनाउन जम्मा भएका युवाहरु मदिरा सेवन गरेर बजारमा होहल्ला गर्दै राति ११ बजे हिँडिरहेको पाइएपछि प्रहरीले सम्झाई बुझाई गरेर पठाएको थियो । त्यसपछि गस्ती गर्दै वडा कार्यालय छेउ पुगेको प्रहरी टोलीले त्यहाँको चउरमा मदिरा सेवन गरेर होहल्ला गरिरहेको अवस्थामा उनीहरुलाई भेट्यो ।
त्यहाँ पनि सम्झाई बुझाई गर्दा युवाहरुले सुरुमा प्रहरी चौकी दाम्रभिट्टाका सहायक निरीक्षक (असइ) सुरेन्द्रकुमार मण्डलमाथि दुरव्यवहार गरेको डीएसपी श्रेष्ठले बताए । ‘त्यस क्रममा त्यहाँ रहेका मध्ये समुनले प्रहरी जवान राजु श्रेष्ठमाथि मदिराको बोतल प्रहार गरे,’ उनले भने, ‘लट्ठीले छेक्न सकेका कारण बोतलले भने लागेन ।’ त्यसपछि सबै युवालाई पक्राउ गरेर कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका मध्ये धनकुटा घर भएका सुमन, डुवेन्द्र र शासन कोरियन भाषा पढेर इटहरीमा बस्दै आएको खुलेको छ । दिप्सन फार्मेसीका विद्यार्थी हुन् । रविका साथीहरु रहेका सबै जना उनको जन्मोत्सव मनाउन दाम्रभिट्टा आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।