काठमाडौं । विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली भुटान प्रस्थान गरेको छ । शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय टोलीलाई बिदाइ गरेको हो ।
सन् २०२२ मा कतारमा हुने विश्वकपको एसियाली छनोटका लागि नेपाली टोलीले कुवेतसँग खेल्दैछ । ‘होम म्याच’ अन्तर्गत उक्त खेल मंसिर ३ गते भुटानको चाङलिमिथाङ रंगशालामा हुनेछ । दशरथ रंगशाला तयार नहुने भएका कारण भुटानमा गर्न लागिएको हो ।
कुवेतविरुद्धको खेलका लागि गोलरक्षक तथा कप्तान किरण चेमजोङले पनि स्थान बनाएका छन् । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको उक्त टोलीमा गोलरक्षक किरणसँगै रोहित चन्दले पनि स्थान बनाएका छन् । किरण म्यानमारविरुद्ध खेल्ने टोलीमा थिएनन् । किरण भारतीय आइलिगको तयारीमा रहेका कारण टोलीमा थिएनन् ।
यस्तै भुटान जाने टोलीमा चार खेलाडी हुनेछैनन् । एन्फाले अनुशासनहीन काम गरेको भन्दै चार खेलाडीलाई बर्खास्त गरेको छ । शुक्रबार अर्थात् अघिल्लो राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएपछि एन्फाले विमल र अञ्जन विष्टका साथै मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कारबाही गरेको हो । बन्द प्रशिक्षणमा रहेका खेलाडी राति ठमेलस्थित लञ्च बारमा गएको भेटिएपछि खेलाडीलाई कारबाही गरिएको एन्फाले जनाएको छ ।
विश्वकप छनोटको अवे खेलमा नेपालले कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको थियो कुवेत, जोर्डन र अष्ट्रेलियासँग पराजित भएको थियो । अब यस खेलमा नेपाललाई कुवेतविरुद्ध बदला लिने अवसर छ ।
यस्तो छ नेपाली टोलीः
गोलकिपर–किरणकुमार चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर– रोज दाहाल, अजित भण्डारी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर–रोहित चन्द, सुनिल बल, रवी पासवान, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, मिक्छेन तामाङ
फरवार्ड– भरत खवास, अविशेक रिजाल, नवयुग श्रेष्ठ
कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम भुटान प्रस्थान गरेका छन् ।