बग्दाद । आइतबार इराकको राजधानी बग्दादमा अवस्थित अमेरिकी दूतावासमा तीन रकेट प्रहार गरिएको छ । हजारौं प्रदर्शनकारीले देशभर सरकारविरोधी प्रदर्शन गरिरहेको अवस्थामा सो आक्रमण भएको थियो ।
हालैका दिनहरुमा अमेरिकी सेना खटाइएको स्थान, दूतावास र इराकी सैन्य शिविरमा आक्रमणका घटनाहरु बढेको छ । यस आक्रमणको कुनैपनि समूहले हालसम्म जिम्मेवारी लिएको छैन । तर, वासिङ्टनले इराकमा इरान समर्थित सैन्य गुटले यस्ता आक्रमणहरु गरेको दाबी गरेको छ ।
आइतबार दूतावासको खाना पकाउने ठाउँ र अन्य दुईओटा स्थानमा रकेट प्रहार भएको सुरक्षा स्रोतले ए,एफ,पी समाचार समितिलाई जनाएको छ । एक वरिष्ठ इराकी अधिकारीले कम्तीमा एक व्यक्ति घाइते भएको ए,एफ,पीलाई बताएका छन् ।
तर, घाइतेको अवस्था कति गम्भीर हो र उक्त व्यक्ति अमेरिकी नागरिक वा ‘मिसन’मा कार्यरत् इराकी स्टाफ सदस्य हुन् या होइनन् भन्नेबारेमा पनि तत्काल पुष्टि भएको छैन । अमेरिकी विदेश मन्त्रालयले आइतबार इराक सरकारलाई ‘हाम्रो कूटनीतिक सुविधाहरुको रक्षा गर्न आफ्नो दायित्व पूरा गर्न’ आह्वान गरेको छ ।
इराकी प्रधानमन्त्री अदेल अब्देल महदी र सभामुख मोहम्मद हलबुसीले यस घटनाको भर्त्सना गर्दै ‘यस्तो अवस्था रह्यो भने मातृभूमिलाई युद्धमा तान्ने जोखिम’ रहेको बताएका छन् । अमेरिका र इरानमा गत महिनाबाट सुरु भएको तनावको कारण बीचमा इराक पनि तानिएको छ ।