सात हिउँद, सात शरद
सातै वसन्त र सातै वर्षा
खाइसक्न लागेका मेरा बा
हेर्दै मोबाइलका स्क्रिनमा
भन्नुहुन्छ- कली लागेछ कली ।
बा
कलीका कथा भन्दै
कलीको वितण्डा बताउँदै
चलाइरहनुहुन्छ पुरानो मोबाइलको स्क्रिन
– तल-माथि ।
छेउमै बसेकी मेरी आमा
हेर्दै शनिको कथा टीभीमा
भन्नुहुन्छ- राहु लागेछ पिर्थिवीमा ।
दश वर्षे मेरो छोरो
कार्टुन हेर्न नपाएकामा
आन्दोलित छ- हजुरबा/हजुरआमाबाट ।
संसार अलग छ चार वर्षे छोरीको
कहिले मामुको मोबाइल खोस्न पुग्छे
कहिले बाबाको
उसलाई हेर्नु छ- कलर गेम
– युट्युबमा ।
उता,
त्रासमा छ विश्व- कोरोनाको
लकडाउनमा बन्दी छ मान्छे
निकै ठूला/सम्पन्न/बहादुरहरूसमेत
छन् त्राहीमाम- एउटा तुच्छ बिषाणुबाट ।
हिरोसिमा सिध्याउने/नागासाकी ध्वस्त पार्ने
चराचर जगत थर्काउन सक्ने
विराट रूपको भ्रम फैलाउन सक्ने
एटम बमको साँचो बोकेर
अर्बौं मान्छेका विवेकमाथि
शासन जमाउन सक्ने
कोही सुरक्षित रहेनन्
कोही निर्भय भएनन्
– जाबो एउटा तुच्छ बिषाणुबाट ।
मिडियामा आँखा डुलाइसक्नु छैन
कोरोना कहर छ जताततै
सँगै छन्- विपन्न, गरिब र असहायका पीडा
खान, लगाउन र टाउको लुकाउन
नपाएर छटपटाएका निरीह अनुहारहरू ।
उस्तै छ सडक
लस्कर छन् शहर छाड्नेका
भन्दै छन्- ‘बरु गाउँमै मरिन्छ
घरका सबैसँगै मरिन्छ
सरकार ! देऊ जान घरसम्म ।’
मुलुकमा सरकार छ
शासक छन्
राजनीतिक दल र तिनका नेता छन्
सामाजिक नामका, स्वयंसेवी भनिएका
संघसंस्था पनि छन् अनेकौँ
तर, छैन भर/छैन विश्वास/छैन आड ।
मेरा बा
फेरि गडेर मोबाइलकै स्क्रिनमा
भन्नुहुन्छ- ‘यही त हो प्रलय भनेको’
‘प्रलय, हो यस्तै हुन्छ’- आमा सही थाप्नुहुन्छ
‘जब लय बिग्रन्छ, तब हुन्छ प्रलय’
कखरा मात्र चिनेकी मेरी आमा
सुन्दर दर्शन बोल्नुहुन्छ
हो त अहिले लय बिग्रेको छ- धर्तीको
लय बिग्रेको छ- प्रकृतिको
लय बिग्रेको छ- मान्छेको
सबैभन्दा बढी लय बिग्रेको छ
– मानवीयताको/संस्कारको/सद्भावको/सम्मानको ।
ठीक भन्नुभयो आमाले ।
सानो छोरो सोध्दै छ
– बाबा ! कहाँ छ कोरोना ?
– हाम्रोमा आउँछ कि आउँदैन ?
– त्यसलाई घरबाहिरैबाट लखेट्न सकिन्नँ ?
भर्खर ‘दर लाग्छ’ भन्न थालेकी छोरी
बुझ्दिनँ उसको दाजुको जसरी
उसलाई चाहिएको छ- बाबा वा मामुको मोवाइल
जहाँ ऊ मस्तले हेर्न सक्छे- कलर गेमहरू !