काठमाण्डौ । कारोनाले अर्थतन्त्रमा ठूलो घाटा व्यहोरीरहेको यो आर्थिक वर्ष कृषिमा झण्डै दुई लाख रोजगारी सृजना गरिने भएको छ । अब बाँझो जमिनलाई प्रयोगमा ल्याएर थप डेढदेखि दुई लाखसम्म रोजगारी सृजना गर्न सकिने अनुमान रहेको कृषि मन्त्री घनश्याम भुषालले बताए ।
मंगलबार श्रम रोजगार पत्रकार समूहसँगको छलफलमा मन्त्री भुषालले अहिले सरकारको नीति तथा कार्यक्रमले रोजगारी सृजनामा कृषिलाई जोड दिइएको र अब बाँझो जमिनलाई नै प्रयोगमा ल्याउनेगरी बजेटमार्फत व्यवस्थापन गर्ने बताए ।
‘कृषिमा रोजगारी सृजना गर्ने भनिएको छ तर कसरी कति भन्ने बारेमा छलफल त भएको छैन, तर अब सकेसम्म बाँझो जमिनलाई प्रयोगमा ल्याउने हो भने थप नयाँ रोजगारी सृजना गर्न सकिने अवस्था छ र बजेटमार्फत त्यही अनुसारको व्यवस्था पनि हुँदैछ ।’ मन्त्री भुषालले कृषिमा थप रोजगारी सृजनाका लागि प्रोजेक्ट बाँडेरभन्दा पनि कृषकलाई कृषि गर्न सजिलो बनाउनेतर्फ अहिलेको योजना रहेको पनि बताए ।
कृषक जसले थोरै मात्रमा कृषि गर्छन र जो पहिलेदेखि नै कृषि गर्दै आएका छन् उनीहरुलाई सजिलो बनाइदिने योजना सरकारको छ । त्यसैगरी अहिले पालिकास्तरमा कृषि प्राविधिकको कोटा खाली रहेकाले त्यसतर्फ पनि मन्त्रालयले प्राविधिकको सहज व्यवस्थापन गर्ने मन्त्रालयको योजना छ । अहिले झण्डै ६ हजार कृषि प्राविधिकको पद खाली रहेकाले अब यो पदपूर्ति गर्ने र प्राविधिकको सहज उपलब्ध गराउने भुषालले बताएका छन् ।