काठमाडौँ । नेपाल सरकारले ६ महिनादेखि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति नगर्दा करिब साढे १४ हजार स्थायी शिक्षकको पदपूर्ति र बढुवा प्रक्रिया अनिश्चित बनेको छ । सिफारिस समितिले अध्यक्षसहित दुई सदस्यको नाम सिफारिस गरिसक्दा पनि सरकारले नियुक्ति गर्न सकेको छैन । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ महिनाअघि पदाधिकारी सिफारिस गरेको थियो ।
आयोग ६ महिनादेखि पदाधिकारीविहीन हुँदा प्रमुख काम नै प्रभावित बनेको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले जनाए । ‘आयोगको सम्पूर्ण काम पदाधिकारीले गर्ने हो, हामी त कार्यान्वयन मात्र गर्ने हो, ‘उनले भने, ‘शिक्षकको पदपूर्ति र नियमित बढुवाको काम अवरुद्ध छ ।’ शिक्षा तथा मानव स्रोत केन्द्रले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि १२ हजार शिक्षक पदपूर्ति गर्न माग गरेको छ । यी ३ वटै तहमा २ हजार ७ सय शिक्षक बढुवा हुने प्रक्रियामा छन् । ‘आयोगका पदाधिकारी नहुँदा विज्ञापन आह्वान, परीक्षा सञ्चालनलगायत पदपूर्तिको काम रोकियो, ‘उनले भने, ‘शिक्षकहरूको बढुवा पनि अनिश्चित बनेको छ ।’
सामुदायिक विद्यालयमा विषय शिक्षकको चरम अभाव छ । स्वतः अवकाश भएपछि रिक्त रहेका पद पूर्ति नहुँदा विद्यालयले करारमा शिक्षक नियुक्ति गरेर पठनपाठन गराइराखेका छन् । सामुदायिक विद्यालयमा करिब ५८ हजार शिक्षक अपुग रहेको अनुमान छ । अभाव टार्न स्वयंसेवक शिक्षक खटाउने नीति पनि सरकारले लिएको छ । लोक सेवाका पूर्वप्रमुख उमेशप्रसाद मैनालीले आयोगले गरेको निर्णय सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनी अध्यक्ष रहेको सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । (कान्तिपुर)