झापा । झापामा एक व्यक्ति एक सिलिण्डर अभियानले अक्सिजन अभावकै कारण कोरोना संक्रमितले ज्यान गुमाउन नपरोस भनेर १२० सिलिण्डर अक्सिजन ल्याएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमणको महामारीपछि देश अस्पतालहरूमा अक्सिजनको अभाव छ। नागरिक स्तरबाट गठित अभियानले चीनबाट मगाएको ५०० थान सिलिण्डरमध्ये पहिलो चरणमा १२० थान आइपुगेको हो। ४८ लिटर क्षमताको सिलिण्डर बिहीबार दिउँसो काठमाडौंबाट झापा ल्याइएको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए।
अभियानले जिल्लामा अक्सिजन सिलिण्डर बैंक स्थापना गर्न ‘एक व्यक्ति एक सिलिण्डर’ अभियान सुरु गरेको छ। त्यसका लागि एक व्यक्तिले एउटा सिलिण्डरबापत १५ हजार रुपैयाँ अभियानलाई सहयोग गर्दै आइरहेका छन्। हालसम्म अभियानमा ५० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको जनाइएको छ। व्यक्तिगत र संस्थागत गरी देश तथा विदेशबाट हालसम्म ३५० वटाभन्दा बढी सिलिण्डरका लागि अभियानको खातामा रकम संकलन भइसकेको छ।
झापा ल्याइएको १२० थान सिलिण्डरमध्ये २० थान सिलिण्डर सहयोगी हात झापामार्फत अभियानलाई बुझाइएको अभियानकर्ता नवीन गट्टानीले बताए। उनले भने, ‘अब थप ४०० थान सिलिण्डर चीनबाट झापा आउँछ।’ पहिलो चरणमा आएको अक्सिजन सिलिण्डर जिल्ला प्रशासन कार्यालय झापासँग सहकार्य गरी आवश्यकताअनुसार जिल्लाका अस्पतालहरूलाई हस्तान्तरण गरिने अभियानका संयोजक गिरीले बताए। ‘अस्पतालपछि होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था हेरेर पनि अक्सिजन सिलिण्डर उपलब्ध गराइने छ ।