इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६–२ गोल अन्तरले पराजित भएको हो । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे । नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे । खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए ।
तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आत्मघाती गोल गरे । १३ औं मिनेटमा अन्जनले गोलको मौका गुमाए । इराकी डिफेन्डरको गल्तिको फाईदा उठाउदै अन्जनले प्रहार गरेको बल गोलकिपर फाहद तालिमले उत्कृष्ट बचाऊ गरे । खेलको २९ औं मिनेटमा मनिषको गोलबाट नेपालले २–१ को अग्रता बनायो । सन्तोष तामाङको पासलाई सदुपयोग गर्दै इराकी गोलकिपर अघि बढेको अवस्थामा मनिषले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । उनको यो डेब्यु खेलमा डेब्यु गोल हो ।
३९ औं मिनेटमा मोहमद अब्दुल्जाराले हेडरमार्फत गोल गर्दै इराकलाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि इराकले नेपालविरुद्ध लगातार गोल गर्यो । ४० औं मिनेटमा अयमन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । रोहित चन्दको ब्याक पास नियन्त्रणमा लिदै उनले गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा मोहनद अलिले गोल गरेपछि इराक ५–२ ले अघि रह्यो । सुमन अर्यालको ब्याक पास नियन्त्रणमा लिदै उनले गोल गरे । त्यसपछि खेलको ७५ औं मिनेटमा सजाद जासिमले गोल गर्दै इराकलाई ६–२ को फराकिलो जित दिलाए ।
यस हारसँगै नेपाल इराकसँग चौंथो भेटमा समेत पराजित भएको छ । यस अघिको तीन भेटमा समेत नेपाल पराजित भएको थियो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।