विपुल सुवेदी
सङ्खुवासभा । नेपालमा शहरीकरण भएर विकासले गति लिएको धेरै समय भएकै छैन । केही दशक अघिसम्म प्रायः जुन गाउँ जाँदा पनि जाँतोमा मकै पिस्दै गरेको वा ढिकीमा धान कुट्दै गरेको भेटिन्थ्यो । तर प्रविधि यति छिटो अगाडि बढिदियो कि अब तिनै ढिकी र जाँतो देख्न मुस्किल हुन थाल्यो ।
अहिलेका अधिकांश युवा वर्गलाई त ‘ढिकीजाँतो भनेको के हो ?’ भन्ने अवस्था आइसक्यो । यसका बारेमा कसैलाई बताउनुपर्यो भने पनि हत्तपत्त भेटिने गरी छैनन्, गाउँगाउँमा पनि ढिकी जाँतो । आजकल शहर बजार मात्रै होइन दूरदराजका गाउँघरमा समेत मौलिक मिलको रूपमा रहेका ढिकी जाँतो देख्न पाइँदैन । पहाडी जिल्ला संखुवासभाको कुरा हो यो । अहिले गाउँगाउँमा विद्युत् सुविधा पुगेको र गाउँमा नै कुटानी पिसानी मिलको पनि संख्या बढेकाले पुर्खौंदेखि चल्दै आएका ढिकीजाँतो लोप हुँदै गएका हुन् । गाउँघरमा भित्रिएका टुकटुके मिल निर्माण भएपछि ग्रामीण भेगबाट कुटानी पिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् ।
थोरै अन्न पिस्न घण्टौँ लगाएर ढिकीजाँतो चलाउनुभन्दा सस्तो दरमै मिलमा लगेर सजिलै पिस्न सकिने भएकाले गाउँघरबाट समेत परम्परागत अवस्थाका सामग्रीहरू हराउँदै जान थालेको हो । पहिले धान, गहुँ, कोदो र पिठोका लागि ढिकीजाँतो प्रयोग हुने गर्थे । तर अत्याधुनिक प्रविधिले परम्परागत ढिकीजाँतोलाई विस्थापित गर्दै विद्युतीय मिलको प्रयोग हुन थालेपछि यी ‘मौलिक मिल’ खोज्दा पनि पाउन मुस्किल हुने अवस्थामा पुगेका छन् । जाँतोबाट कुटेका चामल र पिठो स्वास्थ्यका लागि फाइदाजनक, पोषिलो हुने गरेको बुढापाका बताउँछन् । गाउँघरका केही घरमा ढिकी देखिए पनि ती प्रयोगमा छैनन् ।
‘केही घरमा पुराना ढिकी त देखिन्छन्, तर प्रयोगमा भने छैनन्’, धर्मदेवी नगरपालिकाका–५ की पद्मा पौडेल भन्छिन्, ‘११/१२ वर्ष अघि सम्म घरघरमा ढिकी जाँतो देखिन्थ्यो, रातिदेखि ती चलेको आवाज सुनिन्थ्यो । तर अहिले ती सबै लोप भैसके ।’ त्यो अहिले किंवदन्ती जस्तै बन्दै गएको छ । आधुनिक कुटानी पिसानी मिलले समय र श्रमको बचत हुने भएपछि पुरानो ढिकी जाँतो पनि हराउँदै गयो । ‘मिल आएपछि समय र श्रम दुवैको बचत भएको छ’, धर्मदेवी नगरपालिका ५ माम्लिङ्का पर्शुृराम सुवेदी बताउनुहुन्छ । बढ्दो आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा गाउँघरका परम्परागत ढिकीजाँतो लोप हुने क्रममा रहेको घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाका प्रमुख प्रेमचन्द्र राइले बताउनुभयो ।
उहाँका अनुसार ‘अत्याधुनिक प्रविधिका मिलहरू गाउँगाउँमा खोलिनु र अहिले गाउँघरमा ढिकीजाँतो गर्ने मनिस पनि नहुने भएकाले ढिकी जाँतो जस्ता परम्परागत शैली र पहिचानका सामग्रीहरू लोप हुँदै जान थालेको हो ।’ घरेलु तथा साना उद्योग विकास समिति कार्यालयको तथ्याङ्क अनुसार हाल जिल्लामा साना तथा ठूला गरि ४३ वटा कुटानी पिसानीका मिलहरु सञ्चालित छन् । अन्नबाली ढिकी, जाँतोमा पिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिकयुक्त हुने भएकाले पनि यी परम्परागत प्रविधिको संरक्षण गर्न आवश्यक देखिन्छ ।