विपुल सुवेदी
सुन्दरहरैंचा । सुन्दरहरैँचामा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ स्थित बलियामा संचालित श्रेष्ठ होटल एण्ड फेमली लजमा ३० वर्षीया महिला माथि सामुहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डि.एस. पि मन्जिल मुकारुङले दिएको जानकारी अनुसार घटनामा संलग्न होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् ।
उनी अहिले प्रहरीको नियन्त्रणमा छन् । त्यस्तै अर्का वर्ष २५ का सुरज श्रेष्ठ पक्राउ परेका छन्र उनी अहिले इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । अर्का झापा घर बताउने गाडी चालक रामबहादुर नेपाली फरार छन्। उनको खोजी जारी रहेको प्रहरीले बताएको छ । अर्जुन सुन्दरहरैंचा–४ बलिया स्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक हुन् ।
उनी पीडितलाई लिएर उपचार गर्न शनिबार विराटनगर आएका थिए । त्यही बेला उनीहरूलाई नियन्त्रणमा लिइएको डीएसपी मुकारुङले जानकारी दिनुभयो । यस्तो छ घटनाको विवरण । प्रहरीका अनुसार बेलबारी –४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछिया स्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछिया सम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो भुलिन् ।
बाटो सोध्दा प्रदेश २–०१–००१ च २२७ नम्बरका गाडी चालक रामबहादुर नेपालीले बहिनीको घरसम्म पु¥याइदिने भन्दै गाडीमा चढाए । तर उनले गाडी घुमाउँदै श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे । सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ ।
उनलाई कोशी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार भइरहेको छ । शनिबार बिहान महिलाले बहिनीलाई खबर गरेकी थिइन् । बहिनी होटलमा पुगेर अस्पताल लगेकी थिइन् । होटल सञ्चालक श्रेष्ठमाथि पीडित महिलाकी बहिनीलाई पनि दुर्व्यवहार गरेको आरोप छ । दुई छोरीलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा महिलालाई बेहोस बनाएर करणी गरेको देखिएको प्रहरीले बताएको छ ।
शुक्रबार रातभर सम्पर्क विहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटना बारेमा जानकारी गराएकी थिइन् । पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए ।