लेटाङ्ग । मोरङ्गको लेटाङ्ग चार स्थित श्री शान्ति भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद ” मुख्य नाराका साथ राष्ट्रपति रनिङशिल्ड नगर स्तरीय खेलकुद प्रतियोगिता २०७९ को आज एक भव्य समारोहबीच उद्घाटन भएको छ ।
माघ २७ देखि शुरु भई तिन दिन सम्म सन्चालन हुने उक्त प्रतियोगिताको नगर प्रमुख भुपेन्द्र लावती र जिल्ला खेलकुद समिति सदस्य कुन्ती गुरुङ्गले सम्बन्धित खेल संयोजकलाई खेल सामाग्री हस्तान्तरण गरी संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको यही माघ २९ गते आइतबार समापन हुने शान्ति भगवती मा.वि.का प्र.अ. श्रीप्रसाद ढकालले जनाउनु भएको छ ।
लेटाङ्ग नगरपालिकाको आयोजना र शान्ति भगवती मा.वि.को व्यावस्थापनमा संचाललित उक्त प्रतियोगितामा १० वटा ईभेन्टका खेल संचालन हुने जनाईएको छ । प्रतियोगितामा छात्र-छात्रा दुवैले भाग लिन पाउने गरी ज्याव्लिङ्ग थ्रो , सट्पुट , भलिबल साथै १५ सय मिटर र तिन हजार मिटर सम्मको दौड खेल संचालन हुनेछ । उक्त रनिङ्गशिल्ड प्रतियोगितामा नगर भित्रका ११ सामुदायिक तथा नौ संथागत गरी जम्मा २० वटा विद्यालयले भागलिएका छन् ।
प्रतियोगितामा विजयीहुने खेलाडीहरुले कप,ट्रफी , प्रमाण-पत्र साथै मेडल प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा संचालित ईभेन्ट मध्ये उत्कृष्टता हासिल गर्ने विद्यालयले भने रनिङ्ग शिल्ड प्राप्त गर्नेछ । उक्त शिल्ड आफ्नो बनाउन विद्यालयले लगातार तिन वर्ष उत्कृष्टता हासिल गर्नु पर्ने हुन्छ । तर विद्यालयको आफ्नो नबने सम्म भने शिल्ड हरेक वर्ष आयोजना हुने प्रतियोगिता उद्घाटन समारोहको अवसरमा आयोजकलाई हस्तान्तरण गर्नु पर्ने हुन्छ । यसैक्रममा गत वर्ष लक्ष्मि मा.वि. लेटाङ्ग दुई ले उत्कृष्टता हासिल गरी आफुले प्राप्त गरेको शिल्ड आजै शानदार प्रस्तुतिका साथ आयोजकलाई हस्तान्तरण गरेको छ ।
उद्घाटन समारोहमा शान्ति भगवती मा.वि.का विद्यार्थीहरुले आकर्षक मार्च पास गर्नुका साथै विभिन्न मनोरम दृष्यका साथ ड्रिल समेत प्रस्तुत गरेका थिए । साथै समारोहमा संस्थागत विद्यालयका तर्फबाट मिनरुवा अंगेजी स्कुलले समेत निकै रोमान्चक ड्रिल प्रदर्शन गरेको थियो ।
समारोहमा निकै आकर्षण दिन शान्ति भगवती मा.वि.का कक्षा ११ / १२ मा विज्ञान संकायमा अध्यायनरत छात्र-छात्रा द्वारा निर्मित सामाग्री राखिएको मिनि प्रदर्शनी स्टलहरु सफल भएको थियो ।
उक्त स्टलहरु प्रतियोगितामा भागलिन आउने सम्पुर्ण विद्यालय एवं विद्यार्थीहरुको आकर्षणको केन्द्रनै बनेको सहभागी मध्येका एक शिक्षक राज बहादुर लिम्बूले वताए । उद्घाटन समारोहमा स्थानिय वडाध्यक्ष रामकुमार श्रेष्ठ , जिल्ला खेलकुद समिति सदस्य कुन्ति गरुङ्ग र नगरप्रमुख भुपेन्द्र लावतीले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।