संघिय लोकतान्त्रिक गणतन्त्रमा आधारभुत जनताको सामाजिक जीवन यात्राका सडकहरूमा कटु अव्यवस्थाको सत्यहरु खुल्ला सडकमा पेट्रोल खन्याएर जल्ने प्रेम आचार्यले छ्याप–छ्याप्ती प्रदर्शित गरिरहेका छन् । जहाँ जनता सडकको छेउमै सबै देख्न र सहन विवश छन् ।
ध्यान नदिएको हो कि या यी सत्यहरुलाई आफ्नो चेतन मस्तिष्कको वस्तुको रूपमा स्विकार्दैनन्, लाचार भने अवश्य छन् । नेता नेतृत्वको नग्नताको नाच हेर्न आदत परिरहेका जनताले भेउ पाएनन् या अझै बुझेका छैनन् कि ३० बर्ष अघि सत्तामा जो थिए आज पनि तिनै छन् । हिजो तिनले लुकेर गर्ने काम आज हाकाहाकी गर्छन् । हिजो कानुनको छिद्र खोजेर भ्रष्टाचार गर्नेहरू आज कानुननै बदलेर गर्छन् ।
आम सचेत भएको ढोंग गर्ने पार्टीका कार्यकर्ता कुन भन्दा कुन व्यवस्था ठिक भन्ने बहसमैं आपसमा लडेर तिनैलाई ताली र गाली ठोक्ने राजनीति गर्छौं । व्यवस्था र अव्यवस्थाको बचाउ जनताको कोणबाट भन्दा नेताकै भाषणमा केन्द्रित छ । किनभने राजनीतिक नेतृत्वको अकर्मण्यता र सत्तालिप्सा राजनीतिले जनजनको असन्तुष्टि, असहमति, विरोध र प्रतिरोधको चेतनालाई कोपिलामैं निमोठी दिने उद्योग गणतन्त्रात्मक व्यवस्थामा फैलाएको छ ।
‘अब किताबको बाहिरी आवरण मात्र भारतमा छाप्ने हो, भित्री पृष्ठहरु हाम्रै दार्जीलिङमा छाप्नुपर्छ’ ८० को दशकपछि भारतको एउटा गणराज्य दार्जीलिङले गोर्खाल्याण्डको माग गर्दै आन्दोलन छेडिरहेको नेतृत्वको एक नेताले बैठकमा भने । शाब्दिक गहनता र भावार्थ त्यहाँ लुकेको छ, जहाँ गोर्खाल्यान्ड आन्दोलनको अन्तरवस्तु र गोपनियता केन्द्रिय भारतसम्म नपुगोस भन्ने आन्दोलनको रणनैतिक योजना मात्र हैन बरु प्रत्यक्ष प्रभाव र अधिनस्थले दार्जीलिङको पहिचान, स्वाधीनता र सभ्यतालाई कुल्चिरहेको प्रति विद्रोह जागेको स्पष्ट छ ।
विशाल भारत देशको केन्द्रिय नेतृत्वले नेपाली भाषी सुन्दर दार्जीलिङको सभ्यतालाई भारत बनाउन खोज्दैछ तर दार्जीलिङबासी भारतीय जनता भारत भित्रको दार्जीलिङको पहिचानको मुद्दा उठाईरहेका छन् । नेपालमा पहिचानको सन्दर्भ न्युनतम साझा सहमति र सर्वस्विकार्य बनाउँदै प्रदेश नामाकरणको प्रसंग सरलीकृत बन्न सक्ने राजनीतिक अवस्था हुँदाहुँदै आदिवासी जनजाती र सिमान्तकृत समुदायमा खेलिने ‘तथाकथित जातिय समानता र मुक्ति’ को मुद्दा सकिने डरको राजनीतिक अभिष्टहरुको अध्याय सुरु गरिदैछ ।
गोर्खाल्यान्डको माग गर्ने दार्जीलिङबासी जनता जस्तै नेपाल देश भित्रनै डराउनुपर्ने आदिवासी जनजाति र सिमान्तकृत जनताको मनस्थिति उत्पन्न गराएर राजनीतिक दलका नेताहरू देशको राष्ट्रियता बलियो बनाउने भन्दा जातिवाद बिखण्डनवाद र दीर्घकालीन युद्धको माहोल बनाउन खोज्दैछ । वार्ता र सम्बोधन भन्दा सत्ता अरु तानाशाही र बलपूर्वक संविधानसभाले निर्दिष्ट गरेको पहिचान, ईतिहास र सभ्यताको ग्यारेन्टीलाई मनोपरी ढंगबाट सतही परिभाषित गर्न उद्यत देखिदैछ । पहिचानको मुद्दालाई कलंकित बनाउदै संविधानसभाको स्पिरिटलाई ध्वस्त गर्ने प्रपञ्च गरिदैछ ।
देशको व्यवस्थामा अनेकौंखाले परिवर्तन आयो र भोग्दैछौ । सामन्ती निरंकुश व्यवस्थाको प्रतीक शाह वंशिय राजतन्त्रको अन्त्यसँगै गणतन्त्रमा जनताको अपेक्षा सर्वाधिक हुनु स्वाभाविक छ । कोलम्बसको अण्डा (त्जभ ऋयगिmदगक भनन) जस्ता प्रवृत्तिका हजारौं बेथितिका उदाहरणहरु आज पनि संघीय गणतन्त्रात्मक मुलुकमा टुलुटुलु हेरिरहनुपर्ने नेपाली जनताको विवशता छ । तत्कालीन कोलम्बसका जनताको विद्रोही राजनीतिक चेतना जस्तै नेपाली जनताको चेत घुर्यो । अढाईसय बर्षे राजतन्त्रको अन्त्य हुनसक्छ र ? अकल्पनीय थियोे । नेपालका राजालाई धार्मिकरूपमा भगवान विष्णुको अवतारको रूपमा लिईन्थ्यो । शासकले प्रजालाई शासित गर्ने बलियो चाँबीको रूपमा राजा भगवान विष्णुको अवतारको अफवाह स्थापित गरेको हुनुपर्छ, या त शासक विरुद्ध प्रजाले कदापि नसोचुन्, पाप लाग्छ भन्ने अभिप्राय हुनसक्छ । राजा विरेन्द्र शाह सहितको हत्या भएपछि नयाँ राजा ज्ञानेन्द्र शाह आए । नयाँ राजा ज्ञानेन्द्र गद्दीमा आएबाट राजा विष्णु भगवानको अवतार भन्ने विश्वास जनताबाट हराउँदै गयो । विश्वास घट्यो । नेपाल कोलम्बस हुने तरखर सुरु भयो । नेपाली जनताले भगवान विरुद्ध विद्रोह बोले ।
ग्यालिलियोले पृथ्वीलाई सूर्यले हैन, सूर्यलाई पृथ्वीले परिक्रमा गर्छ भन्ने तर्क राख्दा कठ्ठर धर्मगुरु भन्दा आम प्रजाले पागल भनेका थिए । अधर्मी र पापी भनेका थिए । ईशालाई क्रुसमा टाँगेर मृत्युदण्ड दिदाँ उनलाई टाँगिएको डाँडामा मृत्युदण्ड दिने राजाका सिपाही अन्तिमसम्म बसेनन्, बरु त्यहाँ तमाम जनता ईशाको टाँगिएको मरिसकेको शरिरमा अबेरसम्म ढुङ्गा प्रहार गर्दै थिए । उनको मृत कानहरुमा गालीको बर्षा गर्दै थिए ।
के नेपालमा पनि अढाईसय बर्षदेखि विद्यमान भगवान विष्णुको अवतार मानिएको राजसंस्था अन्त्यको कुरा नेपाली जनताले स्वाभाविक स्विकारेका हुन् ? अस्वाभाविक विभेद, असमानता, अन्याय, अत्याचार र कष्टपूर्ण पिछडिएको जीवन पद्धतिले राजतन्त्र खराब भएको निचोड निकाले । माओवादीबाट संचालित जनयुद्ध देशको अधिकांश भु–भागहरुमा राजतन्त्र सामन्तवादको प्रतिक भएको राजनीतिक चेतना लिएर फैलिनुको मुख्य कारण थियो । एकात्मक हिन्दुराज्य व्यवस्थाले शताब्दीऔंदेखि जरो गाडेको जनताको चेतनामा भगवानबाट राक्षसको स्वरुपमा राजालाई चित्रित गराउने काम ०६२÷०६३ सालमा संचालित केही दिनको जन–आन्दोलनले मात्र प्रशिक्षित गर्न असम्भव थियो । केही पार्टी र ती पार्टीका नेता–नेतृत्व स्वयम् राजतन्त्रको अन्त्य असम्भव भन्दै थिए भने पुजेको भगवानको अन्त्य आम जनताले स्विकार्नु सहज थिएन ।
राजालाई भगवानकै अवतार मान्ने दलहरू थिए, उति बेलासम्म । युद्धरत माओवादी बाहेक दलहरुले राजनीतिक मुद्दाहरू धार्मिक पक्षलाई आधार मानेर अंगिकार गरेका थिए । राजालाई विष्णु भगवानको अवतार मान्ने धार्मिक आधारशिलाबाट राजनीति संचालित थियो । दलहरू भित्र राजसंस्था मिल्काउनुपर्छ भन्ने कल्पना थिएन ।
राजाको ‘कु’ पछि मात्र माओवादीले उठाएका मुद्दाहरु बलियो हुनेभयो, किनकी दलहरू राजाबाट बहिर्गमित भए । सत्ताबाट बिमुख हुनुको पिडाले प्रजातन्त्रको हरण भएको निक्र्योल निकाल्न पुगे ।
मुख्य दल नेपाली काङ्ग्रेस भित्र गणतन्त्रको बहस घनिभुत हुन सुरु भयो । अपेक्षा राजासँगको टुटेको र माओवादीसँग जुटेको हुनुपर्छ । नेपाली काङ्ग्रेस पार्टीले नेपाली राजनीतिक ईतिहासमा हरेक परिवर्तन, अग्रगमन र जनताको अधिकारप्राप्तिको आन्दोलन र लडाइँहरुको नेतृत्व गरेको ऐतिहासिकतालाई बहन गर्ने ऐतिहासिक निर्णय गर्यो । काङ्ग्रेसले गणतन्त्रको बाटोलाई औपचारिक स्विकार्यो । काङ्ग्रेसले गणतन्त्रको कार्यदिशा तय गरिसकेको अवस्थामा एमालेले अझै औपचारिकरूपमा गणतन्त्रको कार्यदिशा तय गरेको थिएन । एमाले नेताहरू राजालाई भेटि चढाउन अझै दरबारको चक्कर लगाईरहेका थिए । राजाको सामुन्ने योग्य ठहर हुन सन्तुलित व्यबहार देखाउथे, न राजतन्त्र न गणतन्त्र ! ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्छु भन्नुजस्तै हो’ भन्ने अभिव्यक्ति आएकै थियो ।
ईतिहास गवाह छ, व्यवस्था बदल्ने क्रममा केही राजनीतिक दलहरूले खेलेका र नखेलेका, चाहेका र नचाहेर पनि स्थापित भएको गणतन्त्र माथीको अपनत्व र स्विकारोक्तिको जवाफदेहिता र ईमान्दारिताको अभावकै कारण गणतन्त्र सफेद हुन सकिरहेको छैन । अचाक्ली र उदेकलाग्दो परिस्थिति सिर्जित भईरहेको छ । भर्खरै गणतान्त्रिक नेपाल सरकारको स्वामित्वको नेपाल टेलिकमले देशबासीलाई फोनमा ‘घुस’को ब्याख्याले भरिएको कलरट्युन बजाएर गाईजात्रा गर्यो । भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको तन्त्र भनिएर रटाननै लगाएको गणतन्त्रमा जनतालाई ‘घुस’को ब्याख्या सुन्न सरकार बाध्य पार्छ भने आम नेपाली जनताको जीवनले राज्य, व्यवस्था र व्यवस्थाका ठेकेदारहरुबाट के नै अपेक्षा गर्न सक्लान र ?
बारम्बार हाम्रो वर्तमान बेचेर भविष्य किनिदिने ध्वाँस र ढ्वाङ्ग लडाउने अगस्ती नेताहरूले नेतृत्व गरेको राजनीतिक यथार्थमा साहुकरहरुले भरिएको छ । प्रशासन, अर्थ, न्यायालय, संचार र राष्ट्रिय सुरक्षा नै फोहोरी र अस्थिर राजनीतिले पिल्सिएको छ । डङडङ्ती गन्हाई रहेको छ आजको नेपाल !