
तिमी मट्याङ्ग्रा हौ
गुलेलीको ताँदोमा सवार
प्यादाको मतियार
घुएत्रो हान्निएपछी
तिमी बज्रनुपर्छ
प्यादाको शिकार मार्नुपर्छ
पलभरमा तिमी हुत्तिन्छौ
फाकिन्छौ फुट्छौ टुट्छौ
गुलेलीको ताँदोमा सवार तिमी
आकाश बिचरणको भ्रममा
गुलेलीलाई आफ्नो ठान्ने
प्यादाको भर पर्ने
तिमी एक टुक्रा माटो
पराधिन एक चिम्टी माटो
प्यादा शिकार चाहन्छ
तिमीलाई हैन !
प्यादाले निशाना लगाउँदै गर्दा
सोच्छौ होला तिमीलाई हेरेको
सोच्छौ होला तिमीलाई बुझेको
अहँ हैन, तिमी बत्तासिएर जतासुकै पुग
प्यादा तिमीलाई हैन
शिकार चाहन्छ !
तिम्रो आफ्नो दिशा छैन, गति छैन
प्यादाले ताकेको निशाना
तिमीले साँध्नु पर्छ
तिम्रो स्वयंममा अस्तित्व छैन
तिमी केवल निर्जीव मट्याङ्ग्रा !
के लाग्छ ? प्यादाले हातले मुसार्दै
गोल गोल घुमाई
चिल्लो र खिरिलो अनि बाटुलो
तिम्रो करुणा र सद्भावमा हैन
तिम्रो मूल्य र महत्वले हैन
तिमी हानिनु छ, मार्नु छ
तिमी केवल कमेरो माटो
तिमी केवल कच्चा माटो
तिमी साधन हौ
तिमीले काम बोक्नु छ !
चखेवा जोडी, माधुर्य मैना
बट्टाई र कोकोले
तिमी केहि नचिन्ने, नजान्ने
केवल निर्जीव मट्याङ्ग्रो
तिमी पाल्तु हौ
तिमीलाई खान र लाउन बाहेक
भट्टी र बसन्तीको मादकता भए,
रंगिन उन्मुक्तता भए,
तिम्रो मालिकको जुठोपुरो भए,
तिमी घनघोर जिन्दावाद घन्काउने
नकचरो कारिन्दा हौं
तिमीले खाईदिएका छौं
तिमीले पक्कै लिएको छौं
तिमी पल्केको छौं
त्यसैले तिमी ज्यु–हजुरी गर्दै
तलवा चाटने भएको छौ
प्रश्न–प्रतिप्रश्न, सत्य–असत्य
नीति–सिद्धान्त, कर्मधर्म तिमी जान्दैनौ
मालिक रिसानिको डरले सोध्दैनौ
त्यसैले तिमी हो मा हो
अँ मा अँ मिलाउँछौ ।
श्रम गर्न डराउने तिमी
घरबार कसरी चलाउछौ ?
छोराछोरी कसरी पढाउँछौ ?
चोक चियापसल र गल्लीहरुमा
बडेमानको ध्वाँस पिट्दै
सबैभन्दा उपद्रो कुरा गर्दै
फेद न टुप्पोको दर्शन छाँट्दै
तिमी भिकमा जिन्दगी चलाउने
अयोग्य लालची र कामचोर हौ
तिमी समाज बुझ्दैनौ
तिमी मालिक बुझ्छौ
व्यवस्था पद्धति र प्रणाली के बुझ्छौ ?
फगत तिमी मालिक बुझ्छौ
तिमी राजनीति बुझ्दैनौ
केवल स्वाङ पार्छौ
तिमी कारिन्दा हुनु कार्यकर्ता ठान्छौ
तिमी गुट चलाउनु संगठक मान्छौ
पार्टी मात्र हैन, देश बिगार्छौ
न तिमी विकास बुझ्छौ
न तिमी विज्ञान बुझ्छौ
तिमी पार्टी र जनता बुझ्दैनौ
तिम्रो मालिकको ईच्छा बुझ्छौ
तिम्रो मालिकको कृपा बुझ्छौ
तिमी भाडाको टट्टु हौ
तिमी कलङ्क हौ
समाजको शक्त विषादि हौ
तिम्रो मालिक धनाढ्य छ
तिमी गरिब निर्धो
तिम्रो मालिक गुलाम चाहन्छ
तिमी लालची नोट !
तिमी निर्जीव सुकेको माटो
तिमी मट्याङग्रो !
कानेपोखरी, मोरङ