वर्गीय समाजको उत्पतिदेखि नै एकथरी मान्छेले श्रम गर्ने र अर्कोथरी मान्छेले बसीखाने प्रणाली शुरु गर्यो । त्यहीबेलादेखि नै वर्गीय समाजको उत्पति भयो । दलित प्रथा देखा पर्नु यो पनि श्रमिक वर्गको नयाँ परिभाषाको रुपमा दलितहरु दक्षिण एशियामा स्थापित भएका हुन् । दलितहरु भनेका वास्तवमा ईतिहासको पहिलो सर्वहारा वर्ग भन्दा अत्युक्त नहोला । मनुवादी वर्णाश्रम व्यवस्थाले प्रत्येक चार वर्णमा मानव जातिलाई जुन ढंगले विभाजित गर्यो ती मध्ये दलितहरु शारिरिक श्रम गर्ने समूह भएको हुनाले सबभन्दा तल्लो स्थानमा राखियो । त्यतिबेलादेखि नै दलितहरुलाई आफ्नो श्रमबाट उत्पादित वस्तुबाट बञ्चित गर्ने, उत्पादनका साधनबाट बञ्चित गर्ने र समाजमा सबभन्दा हेपिएको, दविएको अवस्थामा राख्ने काम गरियो । त्यसो भएको हुनाले दलितहरुको मुक्ति र आर्थिक साँस्कृतिक रुपान्तरणको निम्ति सबभन्दा महत्वपूर्ण कुरा भनेको फेरी पनि उत्पादनका साधनहरुमाथि स्वामित्व कायम गर्ने, आफुले उत्पादन प्रतिफलको मालिक आफैं बन्ने, त्यस्तो व्यवस्था स्थापना नभएसम्म दलितहरुको पूर्ण मुक्ति हुनै सक्दैन । त्यस अधिकार प्राप्तीको लागि आजको जनताको संघीय लोकतान्त्रिक व्यवस्थामा जमिन, पूँजी प्रविधि लगायत उत्पादनका साधनहरु माथि दलित लगायतका सबै श्रमजीवि वर्गको स्वामित्व कायम गरिनु पर्दछ ।
नेपालको सन्दर्भमा हेर्ने हो भनें दलितहरु ऐतिहासिक रुपमै उत्पादनको साधनबाट बञ्चित बनाइएका थिए । त्यसो भएको हुनाले उनीहरु प्रायः सबै सर्वहारा वर्ग सुकुम्बासीको रुपमा नेपालमा रहेका छन् । उनीहरु श्रोत र औजारहरु प्रयोग गरेर वस्तु उत्पादन गर्थे । ती औजारहरुको मालिक पनि आफैं बन्न पाएनन् । दलितहरुले उत्पादन गरेका जुन वस्तुहरुको तुलनामा प्रतिष्पर्धा गर्न नसकेर धारासायि अवस्थामा छन् ।
यसरी दलित श्रमजीवि वर्गले स्वदेशमै उत्पादन गरेका वस्तुहरुको संरक्षणको लागि सोही प्रकृतिका विदेशबाट आयातित वस्तुहरु प्रतिबन्ध गरी नेपालको वस्तुहरुलाई प्राथमिकता दिने नेपालको संघीय लोकतान्त्रिक राज्य सरकारको नीति तथा कानून निर्माणका लागि दलित तथा सर्वहारा मजदुरहरुको क्रान्तिकारी दवावको खाँचो छ, जुन औधोगिक सीप हो त्यो अधिकतम सदुपयोग गरी राज्यले उत्पादनका औजारहरुका साथसाथै प्रविधिको पनि व्यवस्था गरिनु पर्दछ । उनीहरुलाई विशेष व्यवस्था गरी रोजगारीको सृजना गरिनु पर्दछ ।
यसरी आर्थिक रुपान्तरणको पाटोलाई हेरी रहँदा नेपालका दलितहरुको अर्को सबभन्दा उल्लेख्य पाटो भनेको उनीहरुमाथि शासन हो, उत्पीडन हो । राजनीतिक रुपमा राज्यसत्ताबाट बञ्चित रहनु, आर्थिक रुपमा उत्पादनका साधनबाट बञ्चित रहनुका साथै श्रम संवेदनशील पाटो भनेको गम्भीर ढंगले साँस्कृतिक ढंगले छुवाछुतजन्य व्यवहार गर्ने गरिन्छ । त्यो चाही मानव ईतिहासकै सबभन्दा कलङ्कित स्वरुप हो । मान्छेले मान्छेसँगै छुवाछुत गर्ने व्यवहार अब विश्वका सबै भागबाट अन्त्य भैसक्यो । तर दक्षिण एशिया र विशेषगरी नेपालमा दलित माथिको यो उत्पीडन अहिले पनि एउटा सामाजिक कलङ्कको रुपमा कायमै छ । त्यसैले राजनैतिक र आर्थिक उत्पिडनको साथसाथै साँस्कृतिक उत्पिडनको रुपमा रहेको जुन यो छुवाछुत प्रथा छ, विभेद गर्ने प्रथा छ, यसको अन्त्यको निमित्त विशिष्ट अभियान सञ्चालन नगरी हुँदैन ।
साँस्कृतिक क्रान्ति राजनीतिक र आर्थिक क्रान्तिभन्दा पनि गम्भीर प्रकृया हो । मानिसको चेतनामा सदियौं वर्षदेखि टाँसिएर बसेको परम्परागत गलत र पासविक मान्यताहरु जुन छ, त्यसलाई हटाउनका निम्ति एउटा लामो क्रान्तिकारी संघर्ष एवं आन्दोलन चलाइएन भनें छुवाछुत लगायतका दलितहरु माथि भएका अमानवीय व्यवहारहरुको अन्त्य हुनै सक्दैन ।
महान् जनयुद्धको समयमा विशेषगरी दलित र गैरदलितबीचको विवाह, उनीहरुको सामुहिक भावना आदिमा विकास हुँदा केही हदसम्म छुवाछुतको अन्त्य गर्ने भूमिका निर्वाह भयो । तर अहिले शान्तिपूर्ण कालमा फेरी मानिसहरु छुवाछुत प्रथातिर फर्कने, कम्युनिष्टहरुको बीचबीचमा पनि कमरेडहरुमा एक खालको असमानताको व्यवहार प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले आइरहेको कुरा हामी पाइरहेका छौं । त्यसप्रति हामी सबै गम्भीर बन्नै पर्छ । विशेषगरी राजनैतिक दल अझ भन्नुपर्दा कम्युनिष्ट पार्टी जो मजदुर सर्वहारा वर्ग र दलित मुक्तिको नारा दिएर अगाडि बढेका छन्, तिनीहरुले केवल नारा मात्र हैन एउटा शान्तिपूर्ण अभियानकै रुपमा गाउँगाउँमा त्यस्ता अभियान चलाएर छुवाछुत प्रथाको अन्त्य गर्ने, सहभोज लगायतका कार्यक्रमको आयोजना गर्ने, दलितसंगको विवाहलाई प्रोत्साहन दिने र साँस्कृतिक रुपमा भेदभाव गर्नेहरुमाथि कडा मानवअधिकार विरुद्धको अपराधको रुपमा कारवाही चलाउने, त्यस्ता गतिविधिहरु खासगरी तराई मधेसका ठाउँहरुमा अहिले पनि दलितहरुलाई इनारबाट पानी झिक्न बन्देज गर्ने, बोक्सी, डायनी आदिको नाउँमा दलित विधवा महिलाहरुलाई दिसा खुवाउने कुटपिट गर्ने, गाउँबाट लखेट्ने जस्ता अमानवीय क्रियाकलाप भएको प्रत्यक्ष घटना भइरहेका छन् । त्यसको अन्त्य गर्नका निम्ति सशक्त अभियान अझ भन्नुपर्दा दलितहरुको संगठनद्वारा घनिभुत रुपमा संघर्षका कार्यक्रम चलाउनै पर्छ ।
यसरी नेपाली समाजमा दलितहरुमाथि देखिएका जघन्य अपराधिक घटनाको विरोधमा दलित समुदायबाट विभिन्न ढंगले आन्दोलन गरिएता पनि ती आन्दोलनले सशक्त रुप लिन कहिल्यै सकेन बरु तिनै सामन्ती सँगको साँठगाँठ र चाकरी गरेर आफु कसरी मञ्चमा देखा पर्ने र खादा ओढेर आफु फुल्ने अनी दलित भित्र भएको विभेदलाई वास्ता नगर्ने जस्ता हामी भित्रै भएको कु–संस्कार एवं स्वार्थी प्रवृत्तिले यस्ता विभेद र कु–संस्कार मौलाउने मौका हामीले दिइरहेका छौं ।
विगतका दिनमा हामी वरीपरि भएका घटनाहरु जस्तैः पथरीशनिश्चरेमा दिमुण्डे नाम गरेका दलित व्यक्तिलाई छुवाछुत विभेद गरियो । एउटा चिया पसलमा डेक्चीमा राखिएको पानी खाँदा गाली गलौज गरी घोक्र्याई बाहिर निकालिएको र न्याय माग्न दलित समुदाय समक्ष कुरा राख्दा त्यस घटनाको विरुद्ध संघर्ष गर्न दलित अगुवाहरुको एउटा संघर्ष समिति बन्यो र सम्बन्धीत निकायमा उजुर आपत्ति गरियो तर स्थानीय सरकार तथा जिल्ला प्रशासनले त्यसलाई कुनै चासो दिएन । न त दलित संगठन तथा मानव अधिकारवादी संगठनले एउटा शसक्त दवावमुलक आन्दोलन छेड्न सक्यो । दलित अगुवा भनौदाहरुले केवल सिडिओको अगाडि बसेर फोटो खिचाउने, भलाकुसारी गर्ने र आफ्नो नाम कमाउने र त्यसमा कुनै दवाव मुलक कार्य नगर्ने समस्या परेको बेला आफु पन्छिनेभन्दा शिवाय अरु कुनै हुन सकेन । बरु उल्टै तिनै छुवाछुत विभेद गर्ने व्यक्तिहरुसंग साँठगाँठ गरी केही दलित अगुवाहरुले आफु साखुल्ले बन्न दलितहरुले उठाएको कुराको विरुद्ध सुराकी गर्ने जस्ता अपराधिक गतिविधिमा संलग्न भएको पाइयो ।
मानवअधिकारवादी तथा पत्रपत्रिकाहरुले पनि खुलेर पिडित को पक्षमा लेखेको पाइएन । उल्टै घटनालाई ओझेलमा पार्ने काम भयो । यसरी आजको हाम्रो दलित समाजमा पनि आन्तरिक स्वार्थ र कलहमा डुबेको कारण हामी आफैं एकताबद्ध ढंगले हाम्रो आन्दोलन अगाडि बढ्न सकिरहेको छैन । दलित–दलित भित्र भएको विभेद र एकले अर्काको खुट्टा तान्ने जुन जटिल समस्या छ त्यो समस्याले हामीभित्र एउटा क्यान्सर रोगको रुप लिइरहेको छ । त्यसको मुल जड भनेको हामीभित्र भएको चेतनाको कमी हो र अर्को बुझ पचाएर निहित स्वार्थको लागि पक्ष पोषणको रुप हो । यदि हामी दलितहरु एक ठाउँमा रहेर निस्वार्थ रुपमा दलित मुक्तिको लागि सशक्त रुपमा सामाजिक जागरण र सडक आन्दोलन जस्ता दवाव मुलक कार्यक्रमहरु अगाडि नबढाएसम्म दलित माथि भएको विभेद छुवाछुत अन्त्य हुन कठिन छ ।
विगत ईतिहासमा दश वर्षे जनयुद्धको उपलब्धीद्वारा दलितहरुको मुक्तिको लागि केही उल्लेख्य कामहरु भए, देशमा धेरै दलित व्यक्तित्वहरुले आफ्नो ज्यान गुमाए । अझ भन्नुपर्दा दिलबहादुर रम्तेल जस्ता होनहार दलितले सशस्त्र जनयुद्धको पहिलो सहिद भए । यसरी नेपाली धर्तीमा सयौं दलितहरुले मुक्ति आन्दोलनमा सहादत प्राप्त गरेको ईतिहास साक्षी छ । ता पनि दलितहरुमाथि हुने जघन्य घटनाहरु अझ एकमाथि अर्को गरी अपराधिक गतिविधिहरु भइ रहेका छन् । तर राज्य यस विषयमा मौन छ । संविधानमा लेखिएका कुराहरु व्यवहारमा लागु गर्न राज्यले कुनै पहल गरेको पाइदैन । त्यस विषयमा राज्य उदाशिन छ । न त दलित समुदायबाट एउटा दवाव मुलक कार्यक्रम छेड्न सकेकै छ । यी सबै कुराहरुलाई केलाएर हेर्दा अब हामी दलितहरु माथि भएको विभेद तथा छुवाछुत जस्ता जघन्य अपराध जन्य गतिविधि अन्त्य गर्नका निमित्त चेतना मुलक तथा क्रान्तिकारी अभियान सशक्त ढंगले पूर्व मेचीदेखि महाकालीसम्म एक भएर अगाडि बढ्नुको विकल्प छैन ।
पथरीशनिश्चरे–४ मोरङ (सम्पर्कः९८१४३०४११४)