मोरङ । सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने बिषयमा जथाभावि लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे—१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहाइ भएका छन् ।
काफ्लेले पटक पटक अप्रमाणि बिषयमा चरित्र हत्या हुनेगरी सामाजिक सञ्चालमा तस्वीरसहित लेखेपछि विद्युतीय कारोवार ऐन (साइबर) अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो । गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य बिभाग प्रमुख मुरारी आचार्य, नगर पूर्ब प्रमुख दिलिपकुमार राई (किशोर)को फोटो तानेर गम्भीर अपराधि झै आँखामा पट्टी लगाएको फोटोसहित पोष्ट गरेका थिए । संविधान सभा सदस्य चण्डीप्रसाद राई, पूर्ब प्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्वीर पनि यसैगरी पोष्ट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गशेण प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए । साइबर अपराध गरेको दाबीसहितको मुद्धामा पक्राउ परेका काफ्ले एक रात जिल्ला प्रहरीको नियान्त्रणपछि खोजेको बेला उपस्थिति गराउनेगरी जिम्मा जवानीमा छाडिएको थियो । पक्राउ परेको सात दिनपछि जिल्ला अदालत मोरङले सोमबार (असार १०) २० हजार धरौटीमा रिहाइ गरेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख नवराज कार्कीले बताए ।
प्रहरीको नियन्त्रणमा परेपनि आफू पक्राउ नपरेको भन्दै गोपाल काफ्लेले समाजमा भ्रम सिर्जना गर्न खोजेका थिए । नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले जिल्ला अदालत मोरङमा मानहानि सम्बन्धी उजुरी दिएपछि मुद्धा चलिरहेको छ । गोपाल काफ्लेसँगै पत्रकार नरेन्द्र बस्नेतलाई पनि सो मुद्धा परेको छ । काफ्लेलाई साइबर अपराध र मानहानी सम्बन्धी दुई वटा मुद्धा अदालतमा चलिरहेको छ । केही महिना अघि यसैगरी पथरीशनिश्चरे—१ नंं. वडा वडा अध्यक्षको बन्दाम हुने बिषय उठाएपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो । सो बिषय प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि छाडिएको थियो ।
केही बर्ष अघि यसैगरी अप्रमाणि बिषय लेखेपछि डेरामै गएर एक समूहले गोपाल काफ्लेलाई कुटपिट गरेका थिए । त्यो मुद्धामा नेपाल पत्रकार महासंघ, कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा सम्बद्ध पत्रकारहरु बसेर छलफल गर्दा झुटा प्रमाणि भएको र आगामी दिनमा प्रमाण बिना भ्रामक नलेख्न निर्देशन दिएको थियो । सो बेला फिटाइबाट घाइते काफ्लेको उपचार खर्च नेपाल पत्रकार महासंघले बेहोर्ने लखित सहमती गराएका थिए ।
गोपाल काफ्लेले समाजिक सञ्जाल मार्फत पूर्व तथा वर्तमान जनप्रतिनिधिहरु बिभिन्न ठेक्दार, व्यवसाहीहरु, सामाजिक÷राजनीतिक व्यक्तिहरुलाई पुष्टि नहुने बिषयमा निरन्तर हिलो छ्यापिरहने गरेको स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले बताए । पेशागत आचारसंहिता विपरित ब्लाकमेलिङको प्रयास गर्ने जस्ता घट्नाहरु दोहोरिरहेपछि स्थानीय सञ्चारकर्मीहरुबाट काफ्ले लामो समयदेखि एक्लिएका छन् । सम्झाउदा पनि नमालेपछि गोपाल काफ्ले पक्राउ पर्दा, पिटाइ खाँदा पनि प्रेस युनियन र नेपाल पत्रकार महासंघ लगायतका संगठनले प्रेस विज्ञप्ति निकाल्न उचित ठान्न छाडेको एक प्रेस युनियनका सदस्यले बताए ।