मोरङ/ मोरङको कटहरी गाउँपालिका–१ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवनबाट गाउँपालिकाको वडा नं १ वडा कार्यलयले आईतबार बाट सेवा प्रवाह सुरू गरेको हो ।
नवनिर्मित भवनको उद्घाटन कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गर्नुभएको थियो । २०७९ मंसिर १५ गते सम्झौता भएर विराटनगर ८ मा रहेको टोनिका कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएर काम सुरु गरेको थियो । नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले कटहरी गाउँपालिका भित्र ६ नम्बर वडा बाहेक सबै नयाँ वडा कार्यालयबाट सेवा प्रराम्भ भएको बताउनुभयो । यसअघि पाँच वटा वडा कार्यालयको नयाँ प्रशासनिक भवन निमार्ण भएर सेवा प्रवाह भइरहेको छ ।
वडाभित्र सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष चौधरीले बताए । स्थानीय तहलाई २२ वटा अधिकार दिएको जानकारी गराउँदै अध्यक्ष चौधरीले सेवाग्राहीलाई छिटो र क्षरितो तरिकाले सेवा दिएर सबैको मन जित्नुपर्नेमा जोड दिएका थिए । उनले कटहरी गाउँपालिकाभित्र सार्वजानिक जग्गा हडप्ने काम भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साह, कटहरी १ का वडाअध्यक्ष हरी नारयण राजवंशीलगायतको उपस्थिति रहेको थियो ।