पथरीशनिश्चरे / बाटोको किनारमा जथाभावी बग्रेल्ती फालिएका बोतलहरू! त्यही फोहोरको डङ्गुरभित्र मोहोर देख्छन् पथरी शनिश्चरे -०७ का एक युवा दावा शेर्पा ! सागरमा मोति टिपे झैं फोहोरमा मोहोर अर्थात् ‘राम्रो आम्दानीको स्रोत’ भेट्छन् उनी फोहोर फालेको खोला खोल्सी ,नदीनाला र सडकको किनारमा। जब उनी फोहोरको नजिक आउँछन्; गाउँघरका मान्छेहरु खुसी हुन्छन् ।
दिनैपिच्छे विभिन्न गाउँघरका सडक -बाटो किनाराका जथाभावी फालिएका बोतलहरू संकलन गरेर वातावरणलाई सुन्दर -सफा बनाउनु उनको हालको दैनिकी हो। आजभोलि त उनका वृद्ध बुबाले पनि अवार्ड सामग्रीहरु संकलनमा साथ दिएका छन् ! आफ्नो घर आँगन अगाडि फालिएका फोहोरहरू उठाइदिने उनी आउँदा गाउँघरमै रमाइलो छाउँछ।
अनि उनलाई प्रशंसा र तारिफ गरिदैं भनिन्छ – ” दावा भाइ यहाँ पनि बोतलहरु छन् । सबै टिपेर लाँदा हुन्छ है।” फोहोरमा मोहोर भेट्ने निवासी युवा दावा यसै पेसा अपनाउँदै भविष्य खोजी रहेका छन् ! अरुले प्रयोग गरेर जथाभावी फालेका काम नलाग्ने प्लास्टिकका बोतलहरु संकलन गरी कवाड फ्याक्ट्रीमा बिक्री गर्छन् उनी ।
उनी यो कामलाई राम्रै आम्दानीको स्रोत बनाएकोमा आफुलाई गर्व लागेको बताउछन्। “जनसंपर्क पनि पढाएको छ, चिनजान थपिएको छ ; ११ जनाको ठुलो परिवारमा खुशी छाएको छ, आवश्यकताहरू पूर्ति भएका छन्” भन्दै उनी खुशी प्रकट गर्छन्। पोहोर सालदेखि फोहोरमा मोहोर खोज्दै दिनरात खटेका उनी यसै पेशाप्रति गर्व महसुस गर्दछन् । जमेरै लागेका उनलाई यो पेशा औंधि नै फापेको सुनाउँछन् ।