उर्लाबारी । पथरीबाट प्रकाशन हुने जमर्को साप्ताहिक पत्रिकाले आइतबार १२ औँ वार्षिकोत्सव मनाएको छ ।
आईतबार बिहान उर्लाबारी वडा नम्बर ७ स्थित नमुना बालगृहका ६८ जना बालबालिकाहरूलाई बिहानको खाना खुवाएर वार्षिकोत्सव मनाएको हो । जमर्कोले खाना खर्चको रुपमा नगद १५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
पत्रिकाका अध्यक्ष तथा प्रकाशक मोहन भट्टराईले संस्थाकी संरक्षक मिना बराललाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । पत्रिकाबाट भएको आम्दानीबाट सामाजिक दायित्वको रुपमा सहयोग गरिएको प्रकाशक भट्टराईले बताए ।
बालगृहका संरक्षक मिना बरालले मानव जीवनमा सबैभन्दा पहिला खाना, नाना र छाना चाहिने भएकोले सहयोगी पत्रिकालाई धन्यबाद दिइन् ।
प्रमुख अतिथि समेत रहेकी मिना बरालले सबैको सहयोगले अहिले १ सय ४० जना बालबालिकाहरूलाई आफूले हुर्काई, बढाई गर्न सफल भएको र आगामी दिनमा पनि सहयोगी महानुभावहरुलाई हरेक कार्यक्रमहरू यही आएर मनाउन आग्रह गरिन् ।
कार्यक्रममा पत्रकार जगन्नाथ भटराईले निरन्तर रुपमा प्रकाशित भईरहेको जमर्को पत्रिकाले यो कार्यक्रम गरेर प्रेरणा दिने काम गरेकोमा धन्यवाद दिएका छन् । यस्तै उनले जमर्कोले गरेको यस्तो उदाहरणीय कार्यक्रम अरुले पनि अनुकरण गर्नुपर्ने बताए ।