व्यावसायिक रुपमा खेती गर्न सके लाहाबाट राम्रो आम्दानी लिन सकिने - Pahilo Online

व्यावसायिक रुपमा खेती गर्न सके लाहाबाट राम्रो आम्दानी लिन सकिने

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले लाहा खेती सम्बन्धी एक दिवसीय अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । आज विहीबार समूहको सभाहलमा गोष्ठी सम्पन्न भएको हो ।

वन समूह र उपभोक्ताको आयस्तर सुधार गर्ने उद्देश्यले लाहा खेती सम्बन्धी जानकारी मुलक गोष्ठी आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा समूहका सदस्य र कृषकलाई लाहा खेती प्रविधिको विषयमा झापाबाट लाहाको खेती गरिरहेका अगुवा कृषक तथा विज्ञ डम्बर विश्वकर्माले जानकारी दिएका थिए । विश्वकर्माले यसको बजार तथा खेती गर्ने तरिकाबारे अभिमुखिकरण गराएका थिए । जसमा उपभोक्ताहरु उत्साहित भएर सहभागिता जनाएका थिए ।


कार्यक्रमका विशिष्ट अतिथि पथरीशनिश्चरे वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर राईले व्यावसायिक रुपमा खेती गर्न सके लाहाबाट राम्रो आम्दानी लिन सकिने बताए । वडाध्यक्ष राईले अफ्नो नगरपालिकामा पहिलोपटक खेती थाल्न लागेकाले लाहा खेती विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

लाहालाई खयर, बयर, मौवा प्रजातिका रुख विरुवासँगै सामिया लता जातको विरुवालाई विस्तार गरेर व्यवसायिक रुपमा खेती गर्न सकिने कार्यक्रमका सहजकर्ता डम्बर विश्वकर्माले बताए । भारतको पश्चिम बङ्गालको उद्योगमा काम गर्दा नेपालमा चप्रा बिक्री हुन थालेको देखेपछि स्वदेशमै उद्योगको सम्भावना देखेर आफूले उद्योग खोलेको उद्योगी विकले बताए ।


महिला जागृति वन समूहका अध्यक्ष तुलसा याक्खाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तुलसीराम श्रेष्ठले सञ्चालन गरेका थिए । कोषाध्यक्ष चन्द्रकला न्यौपानेले स्वागत गरेको कार्यक्रमको उद्घाटन विशिष्ठ अतिथि वडाध्यक्ष वीरबहादुर राईले ब्यानर पढेर गरेका थिए ।
डिभिजन वन कार्यालय मोरङले जिल्लामा पहिलोपटक लाहा खेतीको सुरुवात गरेपछि किसान र वन समूहहरु उत्साहित भएका छन् ।

विशेष गरेर बढी तापक्रम तथा सुख्खा क्षेत्रमा पाइने खयर, बयरलगायत रुखको संरक्षण तथा उपभोक्ताको आयस्तर सुधार गर्न यस्तो अभियानको थालनी गरिएको डिभिजन वन कार्यालय मोरङले जनाएको छ । कार्यालयले लेटाङ नगरपालिकामा रहेको लालहिरा सामुदायिक वनमा परीक्षणका रूपमा लाहाको खेती थालनी गरेको हो ।

लाहा प्राकृतिक रुपमा रुखमा भेटिने एक प्रकारको किरा हो । यसबाट ‘चप्रा’ लगायतका विभिन्न बस्तुहरु उत्पादन गर्न सकिन्छ । चप्रा फर्निचर उद्योग र सुन पसलमा प्रयोग गरिन्छ ।

यसको खेतीमा खास धेरै मेहनत गर्नुपर्दैन । एकपटक लगाएपछि वर्षमा दुईपटक संकलन गर्न सकिन्छ ।
लाहाको खेती १५ देखि ३५ डिग्रिसम्मको तापक्रममा हुन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes