‘आत्मसन्तुष्टिको लागि सामुदायिक वनमा लागिरहेकी छु’ तुलसा याक्खा - Pahilo Online

‘आत्मसन्तुष्टिको लागि सामुदायिक वनमा लागिरहेकी छु’ तुलसा याक्खा

writer

तुलसा याक्खा अध्यक्ष, महिला जागृति सामुदायिक वन उपभोक्ता समूह

शनिश्चरे । ‘सामुदायिक वनले मेरो आत्मविश्वास बढाएको छ’, मोरङ पथरीशनिश्चरे नगरपालिका–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष तुलसा याक्खाको भनाई हो यो ।

उमेरले पैंतालिस पुगेकी याक्खामा हिजोआज केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ । वन समूहको अध्यक्ष हुनुभन्दा पहिला र अहिले आफूमा धेरै परिवर्तन आएको उनले बताइन् । ‘पहिला बोल्नै आउँदैनथ्यो । अहिले नबोली हुँदैन । बोलीको विकास भएको छ’, अध्यक्ष याक्खाले भनिन् । अवसरले महिलालाई अनुभवी मात्र नभई आर्थिकरुपमा पनि बलियो बनाउने उनको बुझाइ छ ।

वि.सं. २०३६ वैशाख १७ गते पाँचथरस्थित हालको कुम्मायाक गाउँपालिकामा बुबा दलमान र आमा दलमाया लावतीको कोखबाट जन्मिएकी तुलसाले मोरङ पथरीशनिश्चरे–८ का राजेन्द्र याक्खासँग विवाह गरेकी हुन् ।

महिलाहरू घरभित्रको चुलाचौकामा मात्र सीमित हुनुहुँदैन, बाहिर निस्केर सामाजिक काम गर्नुपर्छ भन्दै सशक्तिकरणमा लागि परेकी तुलसा लैङ्गिक समानताका लागि काम गर्न सक्ने स्थानमा महिला नेतृत्वको आवश्यकता रहेको बताउँछिन् ।

आर्थिक अवसर र बाध्यता, खुला परिवेश, अनि ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनाले महिलाहरु परम्परागत चुलो चौकोबाट बाहिर निस्किएर सामाजिक र राजनीतिमा लागेका छन् । त्यसको ज्वलन्त उदाहरण हो तुलसा याक्खा । उनको राजनीतिक र सामाजिक काम प्रतिको लगाभ एवं क्रियाशिलता सबैको लागि डाह लाग्दो छ । आफूले पाएको जिम्मेवारी कूशलतापूर्वक निभाउन सक्ने खुवी उनमा छ । तर, यहाँसम्म उनी सजिलै आईपुगेकी भने होइनन् ।

सुरुका केही वर्ष स्थानीय परिवर्तनशील महिला बचत तथा ऋण सहकारी संस्थाको २ कार्यकाल अध्यक्ष भएकी तुलसा हाल मंगलबारे आमा समूहको अध्यक्ष र संयुक्त वडास्तरीय महिला सञ्जालको सदस्यको जिम्मेवारी सम्हालिरहेकी छिन् । उनी नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन् ।

वि.सं. २०६० मा स्थापना भएको महिला जागृति सामुदायिक वन उपभोक्ता समूहलाई महिलाले नेतृत्व गर्दै आइरहेका छन् ।
वन व्यवस्थापनमा महिलाले सार्थक योगदान दिए पनि अवसर र सशक्तीकरणको अभाव रहेको उनको बुझाई छ । ‘सुरुमा संघसंस्थामा काम गर्दा धेरै अप्ठेरो भयो । समाजमा महिलाले केही गर्न खोज्दा पोथी बास्यो भनेर गिज्याउँथे’ उनले भनिन् । तर, आफुहरुले यस्ता कूराको वास्ता नगरेको र जस्तोसुकै समस्या आएपनि सामना गर्दै अगाडि बढेको उनले बताईन् ।

बाहिर गएर काम गर्न उनको परिवारको तर्फबाट कुनै रोकतोक थिएन । उनको काम देखेर परिवार पनि खुसी थिए । त्यही भएर पनि आफ्नो काममा निरन्तर लागिरहन उनलाई प्रेरणा मिल्यो । समाजमा महिला हिंसाजस्ता घट्ना भयो भने उनलाई नै सम्झन्छन् धेरैले । त्यसैले पनि परिवारमा समाजको हितको लागि काम गरिरहेकी छिन् भन्ने थियो । ‘जाति भाषा, र्धम, राजनीतिक, सामाजिक भेदभाव हुँदैन आफ्नो पहिचाहन हुन्छ भनेर आत्मसन्तुष्टिको लागि सामुदायिक वनमा लागिरहेको छु’, उनले भनिन् ‘वनसम्बन्धी केही पनि जानकारी थिएन । क्युफिट र इन्चको हिसाब कसरी गर्ने हो भन्ने चिन्ता हुन्थ्यो तर काम गर्दै जाँदा अहिले सबै कुरामा जानकार भएकी छु ।’ अध्यक्ष याक्खाका अनुसार महिलाले चलाएका सामुदायिक वन पुरुषको तुलनामा आर्थिक पाटोमा निक्कै विश्वासिलो छन् ।

कुनै पनि संस्था खराब नभई संस्थाका व्यक्ति खराब हुने उनको बुझाई छ । केही खराब व्यक्तिका कारण सामुदायिक वनप्रति नकारात्मक धारणा बनेको उनको भनाई छ । तुलसाले सदस्य, सल्लाहकार हुँदै हाल अध्यक्ष भएर वन समूहलाई अगाडि बढाईरहेकी छिन् ।

अध्यक्ष याक्खाका अनुसार उक्त वन समूहमा १५ जनाको कार्य समिति, ४ जनाको सल्लाहकार समिति, ३ जनाको लेखा समिति, ४ जनाको न्यायिक तथा अनुगमन समिति र ४९ जना टोला प्रमुखहरु रहेका छन् । समूहले पथरीशनिश्चरे नगरपालिका वडा नं. ४, ८ र ९ का ५ सय २५ घरधुुरी उपभोक्तालाई वन पैदावार आपूर्ति गर्दै आएको छ ।

वन समूहले आम्दानीको २५ प्रतिशत वन विकासमा खर्च गर्दै आएको छ भने बाँकी रहेको ७५ प्रतिशतलाई १०० प्रतिशत मानि ५० प्रतिशत विकास निर्माण सहितको सामाजिक काममा र ५० प्रतिशत महिला शशक्तिकरण र गरिवी निवारणमा खर्च गर्नुपर्ने प्रावधानलाई अंगिकार गर्दै स्थानीयको दुःखसुखको सहयात्री बनेको छ ।

उक्त सामुदायिक वनबाट बाटो, पुलपुलेसा, पैनी, आर्थिक अवस्था कमजोर भएका वर्गलाई उपचार सहयोग, छात्रवृत्ति वितरणजस्ता थुप्रै सामाजिक कामका लागि सहयोग गर्दै आएको अध्यक्ष याक्खाले जानकारी दिइन् । पहिलाको तुलनामा अहिले वन उपभोक्ता समूहले आर्थिकरुपमा पनि प्रगति गरेको उनको भनाइ थियो ।

१ सय ७५ दशमलब ५१ हेक्टर क्षेत्रफलमा रहेको उक्त महिला जागृति सामुदायिक वनमा तीन जना वन हेरालु र एक जना कार्यालय सहयोगीको रुपमा रोजगारीसमेत पाइरहेका छन् ।

उपभोक्ता समूहको उद्देश्य स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes