शनिश्चरे । मोरङको पथरीशनिश्चरे—१० स्थित पशुपति सामदायिक वन उपभोक्ता समूहको शुक्रबार १४ औं वार्षिक साधारणसभा समापन भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद गीता तिम्सिनाले वन क्षेत्रमा भएको कानूनी अड्चन संशोधन, कानुन निर्माण तथा यस क्षेत्रको विकासमा लागि पर्ने बताइन् । प्रमुख अतिथि तिम्सिनाले समुदायले वन, जंगल, पर्यावरणीय संरक्षण गर्दै पर्यटकीय प्रवद्र्धनका लागि अघि बढ्नुपर्ने औंल्याइन् । तिम्सिनाले सरकारको एकल प्रयासले मात्रै वन– जंगल तथा पर्यावरण संरक्षण हुन नसक्ने भएकाले स्थानीय समुदायको पनि यसमा उत्तिकै दायित्व रहने कुरा स्मरण गराइन् ।
सोही अवसरमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सचिव सिता चौहानले सामुदायिक वनहरु वनको संरक्षण संगै सामाजिक विकासमा समेत लाग्नु पर्नेमा जोड दिइन् । उनले महिला शसक्तिकरणका लागि उद्यम विकासमा समूहले जोड दिनुपर्ने सुझाव दिइन् । चौहानले सामुदायिक वनले दिएका अनुदान र तालिमलाई के कस्ता उपलब्धी हासिल गरे अनुगमन गर्न समेत सुझाइन् ।
सो अवसरमा फेकोफन प्रदेश सदस्य अग्नी पौडेलले सामुदायिक वनको अवधारणाले मुलुकमा वन क्षेत्रको संरक्षणमा योगदान पुग्नुका साथै वनको हैसियत र जैविक विविधतामा सुधार आएको उल्लेख गरे । पौडेलले आगामी दिनमा यसको प्रयोग जनताका आवश्यकता र आर्थिक समृद्धि गर्नुपर्नेमा जोड दिए । उनले वन उद्यम सञ्चालन गरी काठको प्रतिस्थापन मात्रै होइन, अर्थतन्त्रमा टेवा पु¥याउने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । पौडेलले अब सामुदायिक वनले एउटा योजनाले धेरै क्षेत्रलाई समेट्ने गरी काम गर्नु पर्ने बताए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर महासंघ अध्यक्ष मैना फुयलले वन समूहले वनभित्र रहेका खान योग्य वस्तुहरुको संरक्षण गर्दै त्यसको बिक्रीबाट विपन्नको आयआर्जनमा वृद्धि हुने बताइन् ।
सो अवसरमा उपभोक्ताका २५ जना जेहेन्दार छोराछोरीलाई शैक्षिक सामग्री स्वरुप स्कुल व्याग, विद्यालय पोशाक र प्रोत्साहन स्वरुप जनही १५ सय रुपैयाँ प्रदान गरिएको थियो ।
साधारणसभाको उद्घाटन सत्रमा संस्थाका पूर्व अध्यक्ष चन्द्रबहादुर कार्की, उपाध्यक्ष गोपाल फूयल र कोषाध्यक्ष सकुन्तला राईलाई सम्मान पत्र र करुवाले सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तिहरुलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद गीता तिम्सिना, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश महासचिव रेणुका दाहाल, सदस्य अग्नि पौडेल, १० नं. वडा अध्यक्ष जीवन खतिवडा, महासंघ नगर अध्यक्ष मैना फुयल आचार्य लगायतबाट सम्मान र शैक्षिक सामग्री वितरण गरको थिए ।
साथै समूहले विपन्न मुखी कार्यक्रम अन्तरगत सीपमुलक सिलाइ कटाइ तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान र गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई साइकल प्रदान गरिएको थियो ।
कार्यक्रमका अवसरमा समूहकी सचिव आरती राईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वि.सं. २०५८ सालमा स्थापना भई २०७१ पुस ९ गते तत्कालिन जिल्ला वन कार्यालयबाट समूहलाई हस्तान्तरण भई सञ्चालनमा रहेको पशुपति सामुदायिक वनले १ हजार ६६ घरपरिवारलाई काठ दाउरा तथा वन पैदावर उपलब्ध गराउँदै आएको जानकारी दिइन् । सचिव राईका अनुसार पशुपति सामुदायिक वन उपभोक्ता समूहले २ सय ६६ दशमलब ३४ हेक्टर वन संरक्षण र सम्बद्र्धन गर्दै आएको छ ।
समूहले २ जना वन हेरालु नियुक्ति गरेर नियमित रुपमा वन संरक्षण र चोरी तस्करी नियन्त्रण गरिरहेको छ । वन संरक्षण सम्बद्र्धनका लागि समूहले समयअनुसार अग्नी नियन्त्रण रेखा निर्माण, तार घेराबारा, डढेलो नियन्त्रण सचेतना गोष्ठी एवं वन पथ निर्माण, झाडी सफाई, विरुवा रोपण गर्ने गरेको सचिव राईले जानकारी दिइन् ।
यस्तै, विवाह, ब्रतबन्ध तथा पूजा जस्ता सामाजिक कार्यका लागि समूहले सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । उपभोक्ताको मृत्यु भएमा, अशक्त विरामी, सुत्केरी तथा काजकिरिया गर्नका लागि निःशुल्क दाउरा उपलब्ध गराएको सचिव राईको भनाई छ ।
कार्यक्रममा समूहको भावी कार्यक्रमका बारेमा जानकारी दिंदै अध्यक्ष पुष्पराज शाहीले विभिन्न संघ संस्थाहरुसंग सुमधुर सम्बन्ध राख्दै अन्य समूहले गरेका राम्रा कामको अनुकरण गर्न अन्तरसमूह अवलोकन भ्रमण गरिने बताए । यस्तै समूहले सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्ने योजना रहेको अध्यक्ष शाहीले सुनाए । उनका अनुसार सिमसार क्षेत्रमा माछा पोखरी, पानीको रिचार्ज सेन्टर निर्माण गरी किसानलाई सिंचाईमा उपयोग गर्ने वातावरण सिर्जना गर्ने लक्ष रहेको छ ।
समूहका उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउन महिला तथा युवा वर्गलाई सिपमुलक तालिमको आयोजना गरिने अध्यक्ष शाहीको भनाई छ ।
कार्यक्रममा कोषाध्यक्ष उमा लामाले आर्थिक प्रतिवेदन पढेर सुनाएकी थिइन् ।
सञ्चारकर्मी विवेक न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा पथरीशनिश्चरे वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, सव–डिभिजन वन कार्यालय पथरीका प्रमुख कृष्ण चोङवाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा समूहका सल्लाहकार संयोजक ईश्वर चौहान, शसस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका प्रतिनिधि, भुल्के पशुपति सामुदायिक वन, शान्ति सामुदायिक वन, सिता छधारे सामुदायिक वन, चौतारी सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।