सामुदायिक वनको संरक्षणका लागि के–कस्ता कदम चाल्नु भएको छ ?
सामुदायिक सहभागिता बढाउन वन सरसफाइ अभियान, वृक्षारोपण कार्यक्रम र वन गस्तीको व्यवस्था गरिएको छ । वन अतिक्रमण रोक्न र चोरी शिकारी नियन्त्रण गर्न वन हेरालुको व्यवस्था गरिएको छ ।
वन संरक्षणका चुनौतीहरू के–के छन् र तिनीहरूको समाधान कसरी गर्दै हुनुहुन्छ ?
चुनौतीहरूमा वन अतिक्रमण, चोरी शिकारी र वन्य जन्तुहरूको अवैध शिकार छन् । समाधानका लागि जनचेतना कार्यक्रम, शरणार्थी र स्थानीय समुदायबीच सहकार्य भइरहेको छ ।
पर्यटकहरूको आकर्षणका लागि नयाँ योजनाहरू के छन् ?
हाम्रो पशुपति सामुदायिक वन क्षेत्रभित्र पर्यापर्यटनको प्रचुर संभावना रहेको छ । यस क्षेत्रमा पर्ने खानेपानी मुहानको संरक्षण गर्दै वरपरको सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका छौं । वन क्षेत्रमा रहेको बागे सिमसारलाई आन्तरिक पर्यटक आकर्षण गर्नका लागि रमणीय स्थलको रुपमा विकास गर्ने लक्ष राखिएको छ । पोखरी भित्र डुंगा सञ्चालनका साथै डिलमा विभिन्न जातका फुलका विरुवा रोप्ने, आगन्तुकलाई बस्ने फलैंचा निर्माण गरी वनभोज स्थलको रुपमा विकास गर्ने योजना रहेको छ । काठ दाउराबाट आएको आम्दानीबाट मात्रै होइन, दिगो आम्दानीको श्रोतको रुपमा वन क्षेत्रमा रहेको उक्त सिमसारलाई पूर्वकै नमूना बनाउने योजना रहेको छ ।
पर्यापर्यटनले वन क्षेत्रमा पार्ने सकारात्मक र नकारात्मक प्रभावहरू के हुन् ?
सकारात्मक प्रभावहरूमा आर्थिक अवसर सिर्जना हुनुका साथै रोजगारी समेत सिर्जना हुनेछ । नागरिकमा जैविक विविधता संरक्षणको महत्वप्रति चासो र जागरुकता बढ्ने छ । नकारात्मक प्रभावहरूमा भविष्यमा पर्यटकहरूद्वारा हुने फोहोरको व्यवस्थापन चुनौती पनि हुन सक्छ । त्यस्तै, निर्मित भौतिक संरचनाले जैविक विविधतामा असर पर्न सक्छ भनें वन क्षेत्रमा अधिक मानवीय चाप बढ्नाले वन्य जन्तु लोप भएर जाने खतरा हुन्छ ।
वन क्षेत्रको जैविक विविधता संरक्षणका लागि समूहले के–कस्ता काम गरिरहेको छ ?
प्रजाति संरक्षणका लागि विशेष क्षेत्रहरू घोषणा गर्ने योजना रहेको छ । स्थानीय र दुर्लभ प्रजातिका वन्यजन्तु र वनस्पतीहरूको पुनःस्थापना एवं संरक्षण कार्य भइरहेको छ । जैविक विविधता सम्बन्धी अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिइएको छ ।
पर्यापर्यटनलाई प्रोत्साहन गर्न के–के पहल गरिएको छ ?
यसका लागि हामीले पदयात्रा मार्ग निर्माण र वनभोज स्थलको विकास गरिरहेका छौं । स्थानी कला, संस्कृति र कला प्रदर्शन एवं संरक्षण गर्ने योजना रहेको छ भनें भविष्यमा पर्यटकीय गाइड तालिम पनि सञ्चालन गर्ने छौं ।
स्थानीय समुदायको वन संरक्षण र पर्यापर्यटनमा भूमिका कस्तो छ ?
वनको विकास, संरक्षण र निगरानीमा सहयोग भइरहेको छ । अहिले हामीले पर्यटकीय स्थल निर्माण गर्ने क्रममा भएकोले स्थानीय समुदायले त्यसबाट लाभ लिने अवस्था भएको छैन ।