क्याम्पसको हालको शैक्षिक, आर्थिक र भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
यस पथरी बहुमुखी क्याम्पसको अध्यक्ष भएको झण्डै ३ वर्ष वित्न लागेको छ । हाम्रो कार्यकालको करिव अन्तिम–अन्तिमतिर छौं । नेपालको सन्दर्भमा सामुदायिक क्याम्पसहरुको भौतिक, शैक्षिक, आर्थिक स्थितिलाई हेर्दाखेरी हामीले शैक्षिक प्रशासनमा राम्रै सुधार गरेका छौं । भौतिक पूर्वाधार पनि युजीसीको सहयोगमा एउटा भवन निर्माण सम्पन्न भएको छ भनें एउटा बन्दै छ । आर्थिक स्थिति चाहीं अलि सोचेजस्तो भएको छैन । तर त्यसका कतिपय आन्तरिक कुराहरु, दुरुपयोगका कुराहरु, फजुल खर्चका कुराहरु, सामुदायिक क्याम्पसलाई एउटा माध्यम बनाएर, त्योसँग जोडिएर कतिपय रकम हिनामिना हुने, तलमाथि हुने कुरा चाहीं सबै रोकिएको छ ।
यस काम्पसलाई वर्षैपिच्छे सरकारी अनुदान पनि आएको देखिन्छ फेरी पनि ऋणमा छ भनिन्छ, यो कसरी हुन गयो ?
सामुदायिक क्याम्पस चाहीं विसुद्ध समुदायमा आधारित भएर सञ्चालन हुने रहेछ । विद्यार्थीहरुबाट उठाइने शुल्क नै संस्थाको मुख्य आम्दानीको श्रोतको रुपमा रहने परिस्थिति हुँदो रहेछ । सरकारले दिने सहयोगहरु शसर्त रुपमा आउने रहेछ, जस्तो झण्डै २ करोडको बजेटमा बनिरहेको भवन छ, त्यो बजेट चाहीं त्यही शीर्षकमा आउने संघ, प्रदेश र स्थानीय सरकारले दिने बजेट भनेको चाहीं आन्तरिक प्रशासनीक खर्चमा कुनै बजेट हुँदैन । त्यसकारणले गर्दा देशभरिका सामुदायिक क्याम्पसहरु समस्यामा छन् ।
दैनिक रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा विदेशिने विद्यार्थीको संख्या हामीले हेर्यौं भनें कहाली लाग्दो छ । यो यहाँको सामुदायिक क्याम्पसको मात्र समस्या होइन, यो राष्ट्रिय हो, एक हिसाबले अन्तराष्ट्रिय समस्या हो । अहिले देशभरीका सामुदायिक क्याम्पसहरुमा पनि विद्यार्थीको संख्या घट्दो क्रममा छ । त्यसका बाबजुध पनि पथरी बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या उल्लेखनीय नै छ । अलि–अलि ड्रपआउटको समस्या अहिले पनि छ । तर अन्य हिसाबले आत्तिइहाल्नु पर्ने स्थिति छैन ।
हामी निर्वाचित भएर आइसकेपछि सर्वपक्षीय खासगरी स्वतन्त्र विद्यार्थी युनियनसँग बसेर फि हामीले व्यवस्थापन गर्यौं, समायोजन गर्यौं । त्यसो गर्दाखेरी झण्डै–झण्डै क्याम्पसको प्रशासनीक खर्च धानीरहेको छ । क्याम्पस अहिलेपनि ऋणमा छ । स्थापना कालदेखि हालसम्मको जोडिदै–जोडिदै गरेर अहिलेसम्ममा करिव ७० लाख जति ऋण हाम्रो कार्यकालमा पनि हामीलाई पुरानो समितिले जिम्मा लगाको स्थिति छ । त्यो ऋणमध्येको करिव ७० प्रतिशत चाहीं यहाँका शिक्षक कर्मचारीको तलबका रुपमा बाँकी रहेको स्थिति छ । त्यसलाई हामीले सम्बोधन गर्ने प्रयास पनि गरेका छौं ।
हामी निर्वाचित भएर आउँदा अक्षय कोष घटेर झण्डै १० लाखभन्दा मुनी आएको थियो । अहिले हामीले त्यो अक्षयकोषलाई बढाएर ३० लाखको हाराहारीमा पुर्याएका छौं । केही ऋणहरु हामीले तिरेका पनि छौं ।
क्याम्पसको आगामी नयाँ शैक्षिक कार्यक्रमहरु के के छन् ?
आगामी शैक्षिक कार्यक्रमका सन्दर्भमा भन्दाखेरी हामी निर्वाचित भएर आउने वित्तिकै त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोगको एउटा क्युएए भन्ने कार्यक्रम छ । यो एउटा अन्तराष्ट्रिय ब्राण्ड हो । नेपालका धेरै त्रिभुवन विश्वविद्यालयका आंगीक क्याम्पसहरुले यो क्युएए कार्यक्रम ल्याएका छन् । त्यो क्युएए कार्यक्रमको ब्राण्ड ल्याउनका लागि सुरुदेखि हामी लाग्यौं । हामीले प्रि भिजिट गराइसकेका छौं ।
अब तुरुन्तै निकट भविष्यमा फष्ट भिजिट आउने वातावरण निर्माण गरेका छौं । सम्भवतः यो एक वर्षमा हामी त्यो क्युएए कार्यक्रम लागु गर्दै छौं । त्यो चाहीं यो भेगकै संस्थाको लागि एउटा महत्वपूर्ण उपलब्धीको रुपमा रहने छ ।
क्याम्पस सञ्चालनका चुनौतिहरु के के छन् ?
सामुदायिक क्याम्पस सञ्चालनका लागि पर्याप्त स्रोत र साधनको अभाव छ । त्यसैगरी, योग्य प्राध्यापक र कर्मचारीको अभाव रहेको छ ।
क्याम्पस सञ्चालनमा आन्तरिक शैक्षिक, प्रसाशनलाई चुस्त बनाउने, धेरैभन्दा धेरै पूर्ण कालिन शिक्षकहरुको व्यवस्था गर्ने ठूलो चुनौति सामुदायिक क्याम्पसहरुको रहेछ । अधिकांश शिक्षकहरु विभिन्न सरकारी स्कुल, निजी स्कुलहरुमा, अन्य कलेजहरुमा विभिन्न हिसाबले काम गर्ने साथीहरुको संख्या छ । उहाँहरुले यो संस्थालाई यहाँसम्म ल्याइपुर्याउनका लागि महत्वपूर्ण योगदान गर्नुभएकै छ । त्यसका बाबजुध पनि परिवर्तित सन्दर्भमा जुन ढंकको मेन पावर हामीलाई यहीं विहानदेखि बेलुकासम्म समय दिने खालको शैक्षिक जनशक्ति हामीलाई जुन चाहीने थियो, त्यो पर्याप्त मात्रामा पुग्ने स्थिति छैन । हामीले विज्ञापन गर्यौं, विज्ञापन गर्दा पनि हामीले खोजेजस्तो जनशक्ति पाउने स्थिति अहिलेपनि रहेनछ ।
मुख्य कुरा के हो भनें शैक्षिक गुणस्तर दिने खालको जनशक्ति हाम्रो जस्तो लोकालिटीमा पथरीशनिश्चरे नगरपालिकाभित्र पाउन गाह्रो छ । दोस्रो समस्या यसैपनि धेरै विद्यार्थीहरु विदेश पढ्न जाने कारणले एकातिर विद्यार्थीको संख्या घट्दो क्रममा छ । अर्को थरी जनसमुदाय चाहीं मुलुकका अन्य सहरतिर आफ्ना छोराछोरी पढ्न पढाउने गरेकोले यहाँ चाहीं आर्थिक अवस्था अलि कमजोर परिवारको विद्यार्थी मात्र अध्ययन गरेका कारण समयमा फि तिर्न नसक्ने, धेरै फि चाही हामीले निःशुल्क गर्नु पर्ने कारणले हामीले शिक्षक कर्मचारीहरुलाई राम्रो र समयमा तलब दिन नसक्नु पनि सामुदायिक क्याम्पसको जटिल समस्या रहेछ, त्यो कुरा मैले आफ्नो कार्यकालमा अनुभुति गरेको छु ।
चुनौति समाधानका लागि योजना के छन् ?
आइसीटिको प्रयोग बढाउँदै शिक्षालाई आधुनिक बनाउने प्रयास भइरहेको छ । शिक्षक कर्मचारीका असन्तुष्टिलाई सम्बोधन गर्न नियमित अन्तरक्रिया कार्यक्रम गर्ने, विद्यार्थीका गुनासो सम्बोधन गर्न हेल्प डेस्क स्थापना गर्ने छौं । यस्तै, शिक्षकहरूका पेशागत विकास कार्यक्रम सञ्चालन गर्ने योजना छ । क्याम्पसको आर्थिक स्थिति चुनौतीपूर्ण भए पनि विद्यार्थी शुल्क, दातृ निकायको सहयोग र सरकारी अनुदानमार्फत व्यवस्थापन हुँदै आएको छ ।