शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. १० अवस्थित हिरक आधारभूत विद्यालयको ३६ औं वार्षिकोत्सव तथा स्मृति अक्षय कोष पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
मंगलबार कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोले आफ्नो सम्बोधनमा शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यालयलाई सक्ने थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अक्षय कोष दाता गंगाबहादुर लिम्बु, लोकबहादुर श्रेष्ठ, प्रेम ढकाल, विमला कुरुङवाङ, लोकबहादुर चौहान, र भिम दुर्गा देवी अक्षय कोषलाई सम्मान गरिएको थियो ।
नगरपालिकाको शिक्षा तथा युवा खेलकुद विकास शाखा प्रमुख नविन खुलाल, वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, वडा सदस्य तथा कार्यपालिका सदस्य मिना योञ्जन, सुनाखरी माविका विव्यस अध्यक्ष प्रदिपकुमार राई, इन्ट्रा फाउण्डेसन नेपालका संयोजक राम बानिया लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा विविध साँस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो ।