पथरीशनिश्चरे । मोरङ जिल्लाको पथरीशनिश्चरे–४ स्थित जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ।
विद्यालयका पूर्व विद्यार्थी राजकुमार विश्वकर्मा, पथरीशनिश्चरे–४ भानुटोली निवासी दुर्गा अधिकारी न्यौपाने, प्रेम आचार्य तथा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी र अन्य सहयोगदाताहरुबाट आवश्यक रकम संकलन गरी विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको हो।
विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध गराइएको छ। सहयोगदाताहरूको उल्लेखनीय योगदान यस सामाजिक कार्यमा प्रेम आचार्य (हाल अमेरिका), दुर्गादेवी अधिकारी न्यौपाने (पथरीशनिश्चरे–४), विशाल ढकाल र सरिता बस्नेत (नवलपुर पूर्व देवचुली–१ केउरेनी, हाल क्यानडा) लगायतका व्यक्तिहरूको विशेष योगदान रहेको थियो ।
कार्यक्रमको भव्य आयोजना
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा शिक्षक अभिभावक संघका संयोजक केदार श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रममा पथरीशनिश्चरे–४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडासदस्य कल्पना श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं. ४ का अध्यक्ष हिकमतबहादुर श्रेष्ठलगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक आनन्दप्रसाद घिमिरेद्वारा सञ्चालित कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए । साथै, अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयका विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले गरिएको यो महान कार्यले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई थप हौसला मिल्ने विश्वास लिइएको छ । सहभागी तथा सहयोगदाताहरूप्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ।