पशुपति सामुदायिक वनमा बहुउद्देश्यीय पोखरी निर्माण - Pahilo Online

पशुपति सामुदायिक वनमा बहुउद्देश्यीय पोखरी निर्माण

writer

मोहन भट्टराई

पथरी । मोरङको पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वनमा बहुउद्देश्यीय पोखरी निर्माण कार्य थालनी भएको छ ।
डिभिजन वन कार्यालय मोरङ र पशुपति सामुदायिक वन उपभोक्ता समूहको लगानीमा निर्माण हुने उक्त पोखरीका लागि कुल २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसअनुसार डिभिजन वन कार्यालय मोरङले २ लाख रुपैयाँ सहयोग गरेको छ भने पशुपति सामुदायिक वन उपभोक्ता समूहले ५० हजार रुपैयाँ लगानी गरेको छ ।

पशुपति सामुदायिक वनले संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धनका विभिन्न योजनाहरू अघि सारेको छ । वन उपभोक्ता समूहका अध्यक्ष पुष्कर शाहीका अनुसार, सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको प्रचुर संभावना रहेको छ । यस क्षेत्रमा खानेपानी मुहानहरूको संरक्षण गर्दै वरपरको सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना बनाइएको छ । विशेष गरी बागे सिमसारलाई आन्तरिक पर्यटकहरूको आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिएको छ ।

पशुपति सामुदायिक वनले पर्यापर्यटनको क्षेत्रका थुप्रै काम गर्दै आएको छ । वन समूहका अध्यक्ष शाहीका अनुसार उक्त क्षेत्रभित्र पर्यापर्यटनको अपार सम्भावना रहेको छ । उनले भने, ‘वनको संरक्षणसंगै यसको दिगो उपयोग गर्दै आर्थिक सम्भावनाहरू खोजिरहेका छौं । पोखरी निर्माण पनि यही योजनाको एउटा महत्वपूर्ण भाग हो ।’

पर्यटकीय गतिविधि प्रवद्र्धन गर्न पोखरीमा डुंगा सञ्चालन, किनारामा विभिन्न जातका फूलका बिरुवा रोपण, आगन्तुकहरूका लागि फलैंचा निर्माण, र वनभोज स्थलको विकास गर्ने योजना रहेको वन समूहका उपाध्यक्ष एवं पोखरी निर्माण समितिका संयोजक बालकुमार मगर विकास बताउँछन् । मगरले भने, ‘हामीले पदयात्रा मार्ग निर्माण, वनभोज स्थलको विकास, स्थानीय कला तथा संस्कृतिको प्रदर्शन तथा संरक्षण गर्ने योजना बनाएका छौं ।’

पर्यटकीय पूर्वाधार निर्माण भइसकेपछि स्थानीय समुदायले प्रत्यक्ष रूपमा फाइदा लिन सक्ने अवस्था आउने विश्वास गरिएको छ ।
पर्यावरणीय सन्तुलन कायम राख्दै दिगो पर्यटन प्रवद्र्धन गर्न पशुपति सामुदायिक वनले विभिन्न योजनाहरू अघि बढाइरहेको छ । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित स्थानीय तथा सरकारी निकायहरूको सहकार्य जारी रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes