पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेका चार सामुदायिक वनले डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामुलक र्याली सम्पन्न गरेका छन्। बिहीबार कानेपोखर सव डिभिजन वन कार्यालय अन्तर्गतका डाँस मोरङी सामुदायिक वन, भुल्के पशुपति सामुदायिक वन, सिताछधारे सामुदायिक वन र महिला जागृति सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ताका साथै वन अभियन्ताहरूको उपस्थिति रहेको थियो।
सिता छधारे सामुदायिक वनको कार्यालय परिसरबाट सुरु भएको र्याली वडा नं। ९ को मगरटोल, महिला जागृति सामुदायिक वनको कार्यालय परिसर, शनिश्चरे बजार, काङ्सोरे चोक, वडा नं। ८ को नयाँ मंगलबारे बजारहुँदै बुद्ध मावि, सखुवारा बजारबाट उत्तर लागेको थियो। र्याली गुराँस चोकबाट शनिश्चरे चोक हुँदै सगरमाथा चोक, महेन्द्र चोक हुँदै धिमाल टोलबाट ऐयाबारी हुँदै भुल्के पशुपति सामुदायिक वनको आसपासबाट डाँस मोरङ्गी सामुदायिक वनको कार्यालय परिसरमा पुगेर समापन भएको थियो।
र्यालीसँगै विभिन्न चोकहरूमा कोणसभा पनि गरिएको थियो। नयाँ मंगलबारे बजार, सखुवारा बजार र शनिश्चरे बजारमा आयोजित कोणसभामा समुदायलाई डढेलो नियन्त्रणका उपायहरूबारे जानकारी दिइएको थियो। कोणसभामा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर महासंघकी अध्यक्ष मैनादेवी फुयल आचार्यले सामुदायिक वनको संरक्षण र डढेलो नियन्त्रणका लागि सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्।
र्यालीमा सहभागीहरूले डढेलो नियन्त्रण सम्बन्धी प्लेकार्ड बोकेका थिए भने वनलाई डढेलोबाट बचाउन जनचेतनामूलक विभिन्न नाराहरू लगाएका थिए। साथै, डढेलो लगाउनेको पहिचान गरी कारवाहीका लागि नजिकैको प्रहरी, वन समूह वा वन कार्यालयलाई खबर गर्न अनुरोध गरिएको थियो। वन्यजन्तु चोरी तस्करी नगर्नसमेत सबैलाई आग्रह गरिएको थियो।
विभिन्न क्षेत्रहरूमा सचेतना पोस्टर टाँस्ने, सचेतना कार्यक्रम गर्ने तथा डढेलो रोकथामका उपायहरूबारे जानकारी गराउने अभियान चलाइएको छ।
वन क्षेत्रमा सुक्खा मौसममा आगलागीको जोखिम उच्च हुने भएकाले आगो नबाल्ने, बालबालिकालाई सचेत गराउने, पेट्रोल, डिजेल, मट्टितेलजस्ता पदार्थहरू सुरक्षित रूपमा राख्ने जस्ता उपायहरू अपनाउन आग्रह गरिएको छ। साथै, आगलागी भएमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई खबर गरी सहकार्य गर्न अनुरोध गरिएको छ।
डिभिजन वन कार्यालय, मोरङका अनुसार वनमा आगो लगाउनु कानुनी अपराध हो र दोषीलाई कानुनी कारबाही गरिनेछ। स्थानीय समुदायलाई वन संरक्षणमा सहभागी गराउँदै डढेलो नियन्त्रणका लागि विशेष योजना लागू गरिने बताइएको छ।
कार्यक्रमको अन्त्यमा डाँस मोरङगी सामुदायिक वनको कार्यालय परिसरमा सबै सहभागीहरूको लागि खानाको व्यवस्था गरिएको थियो।