पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा ‘स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार’ भन्ने मूल नाराका मकैको खोस्टाबाट हस्तकलाका विभिन्न सामग्री (टोपी र झोला) उत्पादन सम्वन्धी ३० दिने सिपमुलक तालिम सुरु भएको छ ।
नगरको आयोजनामा हुने सो तालिमको आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले वडा नं. ३ को सभाहलमा उद्घाटन गर्नुभएको हो । सो तालिममा नगरका २२ जना महिलाहरुको सहभागिता रहेको उद्यम विकास सहजकर्ता भगवती कटुवालले जानकारी दिनुभयो । ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन हुने सो तालिम २०८२ वैशाख १० गतेसम्म हुनेछ । यस तालिमको प्रशिक्षक सिता परियार र सविता वलीले गर्नुहुने भएको छ । स्थानीय स्तरमा पाइने खेर गइरहेका कच्चा पदार्थहरुको सदुपयोग गर्ने उद्देश्य सहित यो तालिमको आयोजना गरिएको नगर प्रमुख तुम्वापोले जानकारी दिनुभयो ।
यसैगरी वडा नं. ३ कै सभाहलमा लघु उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम व्यवसायिक कपाल काट्ने सिप विकास तालिमको पनि सँगै उद्घाटन गरिएको छ । सो तालिमको प्राविधिक सहयोग भने निल डेविट शैलुनले लिएको छ भने प्रशिक्षक सुदिप रसाइली रहनुभएको छ ।
उद्घाटन कार्यक्रमको अध्यक्षता वडाध्यक्ष बिजय लिम्बुको रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य अञ्जना दर्जी, ओम राजश्री मल्टी एग्रो प्रा.लि. का कार्यक्रम संयोजक युवराज गैरे, निल डेभिड सैलुन पथरीका प्रो. मिना बस्नेत, पूर्व वडाध्यक्ष डम्बर चेम्जोङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैगरी कार्यक्रममा वडा सदस्यहरु चन्द्र प्रकाश चेम्जोङ, सम्झना नेपाली, झन्केश्वरी अधिकारी, टंकप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।