मोरङ, पथरीशनिश्चरे । नेवार समुदायले शनिवार पथरीशनिश्चरे–१० स्थित भिमसेन थान मन्दिरमा वैदिक विधिअनुसार भव्यताका साथ भिमसेन पूजा सम्पन्न गरेका छन् । विशेष रूपमा व्यापार, समृद्धि, र पारिवारिक सुखशान्तिका लागि गरिने यस पूजामा स्थानीय नेवार समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पुजारी सन्तोष श्रेष्ठका अनुसार नेवार समुदायले रामनवमीको अवसरमा भिमसेनलाई बली चढाएर पूजाआजा गर्ने परम्परा लामो समयदेखि रहिआएको छ । उनका अनुसार, यसरी गरिने भिमसेन पूजाले व्यवसायमा वृद्धि र घरमा शुभत्व ल्याउने जनविश्वास रहिआएको छ ।
नेवा खल पुच नेवार समूहका सचिव तुलसीराम श्रेष्ठले बताएअनुसार, पौराणिक मान्यताअनुसार नेवार समुदायले विशेष दिनमा भिमसेन पूजाआजा गर्दै आएको छ । यस वर्ष पनि परम्परागत रूपमा भिमसेन पूजा गरी भिं द्वादशी अर्थात् माघ शुक्ल द्वादशी धुमधामका साथ मनाइएको हो ।
भिं द्वादशी, जसलाई भीमा द्वादशी पनि भनिन्छ, यस दिन नेवार समुदायले घर, मन्दिर तथा पसल सफा गरी “समयबजी” खाने चलन रहेको छ ।