धरान, ९ फागुन । सुनसरीको धरान बजारको मुख्य चोकमा सुरक्षा निगरानी गर्नका लागि जडान गरिएको सिसि क्यामेराहरु बाँदरले विगारेको एक वर्ष भएपनि मर्मत भएको छैन ।
आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न र सहज सुरक्षा व्यवस्थापनका लागि धरानको भानुचौंक क्षेत्रमा लगाईएका अधिकांश सिसि क्यामेराहरु बिग्रिसकेका छन् ।
धरानका मुख्य चोकमा राखिएका १६ वटा सिसि क्यामेरामध्ये १५ वटा बिग्रिएका छन् । अहिले एउटाले मात्र काम गरिरहेको छ । २०७० सालमा सुनसरी उद्योग बाणिज्य संघ धरानको पहलमा बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको थियो ।
वडा प्रहरी कार्यालय धरान भानुचोकबाट निगरानी गर्नेगरी राखिएको सिसि क्यामेरा मर्मत गर्न नसक्दा सुरक्षामै चुनौती थपिएको प्रहरीको भनाइ छ । पुरानो मोडलका क्यामेरा भएकाले अहिले काम गर्न छाडेको वडा प्रहरी कार्यालय धरानका ईन्चार्ज जसबहादुर लिम्बूले बताउनुभयो ।
अधिकांश क्यामरा बाँदरले तार चुडाएपछि सम्हाल्न नसक्दा बिग्रिएको प्रहरीले जनाएको छ । नगर क्षेत्रका पोल तथा तारहरुमा अत्याधिक बाँदर दौडने गरेकोले सिसि क्यामेराका तारहरु चुडिएका हुन् ।
करिब १० लाखको बजेटमा संघ र भिगोरस नेपाल नामक संस्थाले सिसि क्यामेरा जडान गर्न सहयोग गरेका थिए । सिसि क्यामेराको संरक्षण तथा यसको निगरानी वडा प्रहरी कार्यालय धरानले गर्ने भएपनि यसको मर्मत सुनसरी उद्योग बाणिज्य संघ धरानले गर्ने सहमति भएको थियो । तर, संघले मर्मतमा चासो दिएको छैन ।
स्थानीय सरकार आइसकेको अवस्थामा धरान उपमहानगरपालिकाले व्यवस्थापनमा चासो देखाउनुपर्ने संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभयो ।