विराटनगर । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धिका लागि ‘टकिङ टिचर’ नामक उपकरण भित्र्याउने तयारी गरेको छ ।
अंग्रेजी माध्यमबाट सुन्न र हेर्न सकिने गरी उक्त उपकरणमा सेभ भएका किताबाट विद्यार्थीलाई पठन–पाठन गराइन्छ । भारतीय कम्पनी पर्पल टर्टलले उत्पादन गरेको उक्त उपकरणको मूल्य भने १२ हजार रहेको छ भने १७ वटा विभिन्न विषयका पुस्तक सेभ हुने क्रिएटिभ एडुटेनमेन्ट वर्डका डाइरेक्टर सर्वकल्याण कँडेल बताउनुहुन्छ ।
सामाजिक विकास मन्त्रालयले शुक्रबार विराटनगरमा प्रदेशका राष्ट्रिय परीक्षा बोर्डका प्रमुख, जिल्ला शिक्षा अधिकारी, शैक्षिक तालिम केन्द्रका प्रशिक्षकसँग उक्त उपकरण तथा समसामयिक शैक्षिक विषयमा छलफल गरेको छ । उपकरण पूर्व प्राथमिक कक्षादेखि ५ कक्षासम्मका बालबालिकाहरुलाई उपयोगी हुने क्रिएटिभ एडुटेनमेन्ट वर्डका डाइरेक्टर कँडेलले बताउनुभयो ।
‘यो उपकरणले नेपाली र अंग्रेजी दुवै भाषामा श्रब्य र दृश्य दुवै माध्यमबाट पठनपाठन गराउन सक्छ,’ कँडेलले भन्नुभयो, ‘शब्द र उक्त शब्दको अर्थको विषयमा पनि श्रव्य–दृश्य दुवै माध्यमबाट सिकाउने हुँदा बालबालिकाका लागि अझै उपयोगि देखिएको छ ।’ उपकरणले जनावरको नाम, उसको आवाज र उसका विशेषता, फलफूलको नाम त्यसको उपयोगिता र फाइदाका विषयमा विस्तृत र रोचक रुपमा बताउने उहाँको दाबी छ ।
प्रदेश सरकारले विद्यालयहरूमा यो उपकरणको प्रयोग गरे आफूहरुले निःशुल्क तालिम दिने कँडेलले बताउनुभयो । उपकरणको प्रयोगबाट बालबालिकाहरुको शैक्षिक प्रगतिका विषयमा प्रत्येक महिना परीक्षा लिने र विद्यालय तथा स्थानीय सरकारलाई नतिजा पनि बुझाउने कँडेलको भनाइ छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले शैक्षिक गुणस्तर वृद्धिका लागि यसखाले उपकरणको प्रयोग गर्ने विषयमा आन्तरिक गृहकार्य सुरु गरेको बताउनुभयो । ‘अंग्रेजी भाषा विश्वव्यापी भइरहँदा यहाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिकाको भने अंग्रेजी भाषा कमजोर भएको छ,’ घिमिरेले भन्नुभयो, ‘शिक्षकलाई समेत अंग्रेजी भाषामा पठनपाठन गराउन यो उपकरण लाभदायक देखिएको छ ।’
छलफलमा सहभागी खोटाङका जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले सामुदायिक विद्यालयलाई अहिलेसम्म कुनै प्राविधिक सहयोग नहुँदा गुणस्तर हासिल गर्न नसकिएको बताउनुभयो । उहाँले यसखालको सहयोग भए परिणाम ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी रामबहादुर थापाले अंग्रेजी सुन्ने वित्तिकै भाग्ने शिक्षकका लागि पनि यो प्रविधि उपयोगी हुने बताउनुभयो । ‘अंग्रेजी सुन्ने वित्तिकै १२ हात पर भान्ने शिक्षका लागि पनि यो उपयोगी देखिन्छ,’ थापाले भन्नुभयो, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउन सके गुणस्तर वृद्धि पनि गर्न सकिन्छ ।’