मलाई कसैले पागल भनिदिएँ
अनि मैले पागल हुने निर्णय गरेँ ।
अचेल म आफैसँग दुःखी छु
आफैभित्र दुःखी छु
सपनाहरू अब सपनानै रहनेछन्
स्मृतिहरु मसँगै बिलाउँनेछन्
यहाँ यथार्थ सबैलाई तितो लाग्छ भने
म मिठासको भ्रममा कदापि बाँच्न सक्दिनँ
बरु म तिम्रो स्वादमा तितो भएर बाँच्नेछु
अनि मैले तितो हुने निर्णय गरेँ ।
अचेल म सासविना बाँच्दैछु
लास जस्तो आशविना बाँच्दैछु
जाउँ तिमी खुशी खोज्न
पर सुदूरपूर्वको सहरमा
मर्नदेऊ मर्नेहरु यादहरुका रहरमा
यहाँ मृत्यु पनि जिन्दगी जस्तो लाग्छ भने
म जिउँनुको भ्रममा कदापि बाँच्न सक्दिनँ
हो बरु म तिम्रो सहरमा अदृश्य भएर नै बाँच्नेछु
अनि मैले गुमनाम हुने निर्णय गरेँ ।
अचेल नयनहरु नयन सँगै थकित छन्
क्षितिज पारीका सहरतिर भौतारिदै
तिम्रा पदचापहरू पछ्याउँदा पछ्याउँदै
टुङ्गिन सक्छन् मृत्युका पाइलाहरू
यहाँ फूलहरूले पनि घोच्न थाल्छन् भने
म चोटहरूको भ्रममा कदापि बाँच्न सक्दिनँ
हो बरु म तिम्रो वसन्तमा उजाड भएर बाँच्नेछु
अनि मैले गृष्म हुने निर्णय गरेँ ।
मलाई कसैले पागल भनिदियो
अनि मैले पागल हुने निर्णय गरेँ ।